04/11/2025
आज हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक संयोजक कमरेड प्रचण्डको अध्यक्षतामा बस्यो ।बैठकले हाम्रो पार्टी र नेकपा (एकीकृत समाजवादी ) सहित ९ पार्टीहरूको पार्टी एकीकरण गर्ने निर्णय र प्रस्तावित एकीकृत पार्टीको साझा घोषणापत्र लाई अनुमोदन गर्यो । यसरी आजको बैठक नेकपा (माओवादी केन्द्र ) को अन्तिम बैठकको रुपमा पार्टी एकीकरण गर्ने निर्णय गर्दै सफलता पूर्वक सम्पन्न भयो ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (Communist Party of Nepal ) र चुनाव चिन्ह पाँच कुने तारा रहने भएको छ ।
पार्टी एकता गरी एकीकृत पार्टी निर्माण गर्दा एकतामा सामेल सबै क्रान्तिकारीहरूले प्रारम्भ देखि नै निम्न पक्षहरूमा गम्भीर ध्यान दिनु जरुरी छ ;
एक, यो एकता नेपालका सबै कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूको एकीकरण र पुनर्गठनको प्रस्थान विन्दु बन्नु पर्दछ ।त्यसो भएमात्र यो देश ,जनता र कम्युनिष्ट आन्दोलनको माग अनुरुपको कोषे ढुंगा बन्न सक्नेछ ।
दुई ,नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनको आजको मुख्य समस्या विचारधारात्मक सांस्कृतिक (ideo-cultural ) समस्या हो । त्यसैले समग्र कम्युनिष्ट आन्दोलनको वैचारिक सांस्कृतिक संकट लाई समाधान गर्न व्यापक वैचारिक सांकृतिक रुपान्तरणको अभियान लाई एकीकृत पार्टीले शुरुदेखि नै आफ्नो अभिन्न काम बनाएर जानुपर्छ ।क्रान्तिकारी उद्देश्य ,आदर्श ,विचार ,सिद्धान्त ,विधि पद्धति ,स्वच्छता , प्रदतिशिल संकृति , श्रमजीवी एवं उत्पीडित वर्ग एवं जनमुखी चरित्र लाई एकीकृत पार्टीको चारित्रिक विशेषता बनाउनु पर्दछ । अन्यथा पार्टी एकता जोडघटाउ को थुप्रो मात्र बन्ने र परिणाममुखी एवं सार्थक नबन्ने खतरा उत्पन्न हुनेछ ।किमार्थ त्यसो हुन दिनु हुँदैन ।
र ,तीन, जेन जी (Gen Z ) बिद्रोहात्मक आन्दोलनको चेतना , मुद्दा र संगठन एवं अन्य जिम्मेवारीहरूमा जेन जी सहितका युवाहरुको उल्लेखनीय सहभागिता तथा प्रतिनिधित्व लाई एकीकृत पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्दै तदनुरूप अघि बढ्न प्रतिबद्ध हुनु पर्दछ ।
by नारायण काजी श्रेष्ठ