05/06/2026
"मेहनत गरे के हुँदैन" भन्ने उदाहरण बने कैलालीका युवा कृषि उद्यमी अनिल जंग कुँवर
कैलालीको जोशीपुर नगरपालिका–४ झबही र ५ बनकट्टामा ६४५ रोपनी जग्गामा व्यावसायिक केरा खेती गर्दै आएका युवा उद्यमी अनिल जंग कुँवर अहिले धेरै युवाका लागि प्रेरणाका स्रोत बनेका छन्।
प्रविधिमैत्री केरा खेती
'कैलाली एग्रो एण्ड इन्डष्ट्रिज प्रा.लि.' दर्ता गरेर पछिल्लो ५ वर्षदेखि उहाँ केरा खेतीमा सक्रिय हुनुहुन्छ। उच्च प्रविधिको प्रयोग उहाँको विशेषता हो। मल्चिङ, थोपा सिँचाइ जस्ता प्रविधि अपनाएर खेती गर्दा उत्पादन र व्यवस्थापन दुवै सजिलो हुने कुँवर बताउनुहुन्छ।
अहिले उहाँले टिस्यु कल्चर प्रविधिबाट उत्पादित G-9 जातको केराको नर्सरी स्थापना गरेर व्यावसायिक उत्पादन गरिरहनुभएको छ। थप १२ हेक्टर जमिनमा G-9 केरा विस्तार गर्ने तयारीमा उहाँ हुनुहुन्छ।
किन केरा खेती?
"कैलालीको हावापानी केरा उत्पादनका लागि उपयुक्त छ। प्राविधिक पक्ष राम्रोसँग बुझेर काम गर्ने हो भने केरा खेती अरूभन्दा सजिलो व्यवसाय हो," कुँवर भन्नुहुन्छ। अहिले उहाँले केरा खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै आउनुभएको छ र आफू स्वरोजगार हुनुका साथै थप युवालाई पनि रोजगारी दिनुभएको छ।
युवालाई आह्वान
नेपालमा माग अनुसार केरा उत्पादन नहुँदा अझै भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। "राज्यले रोजगार देला भनेर बस्नुभन्दा आफैं उद्यम गर्नुपर्छ। कृषि क्षेत्रमा सम्भावना धेरै छ," उहाँ युवालाई सुझाव दिनुहुन्छ।
"मेहनत र इमानदारी भए कृषि क्षेत्रमा सफलता पक्का छ। अबको कृषि हिलो-मैलो होइन, प्रविधिसँग जोडिएको स्मार्ट व्यवसाय हो," कुँवरको भनाइ छ। उहाँ राज्यको सहयोगसहित इच्छाशक्ति भए नेपालमा कृषि उद्यमशीलता ठूलो सम्भावनाको क्षेत्र भएको बताउनुहुन्छ।
कैलाली: केराको हब बन्दै
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कैलालीमा करिब १ हजार हेक्टरमा केरा खेती भइरहेको छ। टीकापुर केराको पकेट क्षेत्र बन्दैछ। केरा व्यवसायी सङ्घका अनुसार जिल्लामा मात्रै वर्षमा १५ करोडभन्दा बढीको केराको कारोबार हुन्छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाई प्रमुख भरत कँडेलका अनुसार केराको राष्ट्रिय औसत उत्पादकत्व १५ मे.टन/हेक्टर छ भने आयोजना क्षेत्रमा ३५ मे.टन/हेक्टर पुगेको छ। "यो यहाँका किसान र उद्यमीका लागि ठूलो खुसीको विषय हो," उहाँले भन्नुभयो।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा कैलालीमा नमुना केरा गाउँ र अनुदानका लागि डेढ करोडका योजना ल्याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्ट बताउनुहुन्छ।
चुनौती र सम्भावना
रोग, हावाहुरी, बाढी जस्ता जोखिम कृषि क्षेत्रमा भए पनि बिमा कार्यक्रमले जोखिम न्यूनीकरण गरेको कुँवरको अनुभव छ।
"कृषि क्षेत्रमा पनि राजनीतिक पहुँचका आधारमा सेवा-सुविधा लिने प्रवृत्ति छ। राज्यले युवालाई कृषि पेसामा जोड्न ढिला गर्नु हुँदैन। कृषिबाटै देशको आर्थिक विकास र समृद्धि सम्भव छ," कुँवर भन्नुहुन्छ।
नेपालमा खपत हुने केरामध्ये चितवनपछि कैलाली दोस्रो उत्पादन हुने जिल्ला हो। अझै पनि नेपालमा ५०% र कैलालीमा ५% केरा भारतबाट आउने गरेको छ। "केराको हब बनिरहेको कैलालीलाई पछ्याउन सके केराबाटै समृद्धिको एउटा इँटा थप्न सकिन्छ," कुँवर विश्वास व्यक्त गर्नुहुन्छ।
वैदेशिक रोजगारीको लहड चलिरहेको बेला स्वदेशमै बसेर कृषि कर्मबाट सफलता हासिल गरेका अनिल जंग कुँवर अहिले युवाका लागि साँच्चिकै प्रेरणाका स्रोत बन्नुभएको छ।
तस्बिर तथा जानकारी: केशव जंग कुँवर, कैलाली