Marxism study groups

電話する

Marxism study groups Anyone who knows anything of history knows that great social changes are impossible without feminine upheaval.

2026/10/18
2026/10/09

भौतिकवादी द्वन्द्ववादका प्रमुख अवधारणाहरू

आ-आफ्ना अध्ययन क्षेत्रको विषयवस्तु र प्रक्रियागत स्पष्टता र सहज ज्ञानका लागि दार्शनिक तथा वैज्ञानिकहरूले आ-आफ्नो क्षेत्रमा केही स्वयमसिद्ध मूल अवधारणाहरू प्रतिपादित र स्वीकृत गरेका छन्। दर्शन र विज्ञानको क्षेत्रमा प्रयोग गरिने यस्ता आधारभूत स्वयमसिद्ध अवधारणाहरू ऐतिहासिक विकासको क्रममा मानिसले प्राप्त गरेको ज्ञान र प्रयोगात्मक क्रियाकलापहरूबाट प्राप्त अनुभवहरूको संश्लेषणबाट स्थापित र स्वीकृत मान्यताहरू हुन। यस्ता मान्यताहरू मध्ये केही स्वयमसिद्ध सार्वभौम सत्य बोध गराउने अवधारणाको रूपमा स्थापित छन् भने केही मानवद्वारा प्राप्त गरिने नयाँ-नयाँ ज्ञान, तथा नयाँ अनुसन्धानहरूको लागि आवश्यक विधि विज्ञानका लागि आवश्यकताको आधारमा स्थापित र स्वीकार गरिएका अवधारणाहरूको रूपमा पनि छन्।

त्यस्तै द्वन्दवादका केही अवधारणाहरू, जस्तैः तत्व/पदार्थ, गति, व्योम/आकाश, काल/दिक्, मात्रा, गुण, आम विशिष्ट, सीमित-असीमित, आदि अवधारणाहरू अपरिमेय, निरपेक्ष स्वयमसिद्धलाई सम्बोधन गरिने भावसंज्ञक अवधारणा हुन भने द्वन्द्वात्मक परिवर्तनका अमूर्त सार्वभौम नियमहरू बधक या सर्वत्र कसरी लागु हुन्छन् भन्ने बोधगम्य प्रमाणिकताका लागि विभिन्न प्रक्रियापरक र विधिपरक अवधारणा प्रतिपादित गरिएका छन्। जसले ती क्षेत्रमा भौतिक गतिका सार्वभौम नियमहरूले काम गर्ने प्रक्रिया, तिनका गतिको चारित्रिक विशेषता र कारणको बोध गराउँछन्। यीनै अवधारणाहरूको माध्यमबाट मात्र मूल नियमहरू बुझ्न र परिभाषित गर्न सकिन्छ। अन्यथा ती बोधगम्य छैनन्। बोधगम्यताका लागि विभिन्न क्षेत्रमा व्यवहारिक प्रयोजनका लागि मान्य गरिएका केही साझा अवधारण छन् भने केही कुनै खास वा विशिष्ट क्षेत्रको अध्ययन अनुसन्धान विवेचनका लागि मात्र प्रयुक्त हुने अवधारणा छन्। जस्तै समाज विज्ञानको विशिष्ट क्षेत्रमा चेतना, वर्ग, वर्गसंघर्ष, पूँजी, श्रम, ज्याला आदि मानव समाजको अध्ययन, अनुसन्धान तथा व्यवहारिक विवेचनका लागि मात्र प्रयुक्त हुन्छन् भने विज्ञानको क्षेत्रमा पदार्थ, गति, आयतन, घनत्व, मात्रा, सीमितता, असीमितता, अणु, परमाणु, न्युक्लियस, कोशिका आदि अवधारणा।

माथि नै भनी सकियो भौतिक जगतको द्वन्द्वात्मक परिवर्तन र विकासका उपरोक्त नैसर्गिक र सार्वभौम आम नियमहरू अमूर्त प्रकृतिका अवधारणा हुन। यी आफै विशुद्ध रूपमा अभिव्यक्त हुँदैनन् बल्की तिनलाई द्वन्द्वात्मक गतिका प्रक्रियागत र चरित्रगत अवधारणाहरूको माध्यमबाट मात्र बुझ्न सकिन्छ। र मार्क्सवादले ती सार्वभौम नियमहरूको वस्तुगतताको पुष्ट्याइ यस्ता प्रक्रियागत अवधारणहरू, जस्तै वस्तु तथा परिघटनाहरूको अन्तरस्थ सार र उपरि रूप, समभाब्यता र वास्तविकता, सार्वभौम, खास र विशिष्ट, सार र रूप, नियमितता र आकस्मिकता आदि अवधारणहरूबाट गरेका छन्। जस्तै पदार्थ तथा परिघटनाहरूमा हुने परिवर्तनका सहसम्बन्ध तथा द्वन्द्व, पक्ष र प्रतिपक्ष, एकत्व र विरोधाभासको माध्यमबाट पदार्थमा अन्तरस्थ ‘परस्पर विरोधी अवयवहरूका एकत्व र संघर्षको नियम जीवन व्यवहारमा बोधगम्य हुन्छ भने कुनै बस्तु, परिघटना र प्रक्रियाहरूको ‘गुण’, ‘मात्र’, ‘मापन’, ‘क्रमभंगता वा फड्को’ आदि जस्ता अवधारणाहरूबाट ‘मात्रात्मक परिवर्तनबाट गुणात्मक रुपान्तरणको नियम बोधगम्य हुन्छ।

१. तत्व/पदार्थ : दर्शनशास्त्रमा प्रयुक्त ‘आदितत्व’, ब्रह्म, शिव, महत्तत्त्व, प्रकृति, द्रव्य जस्ता दार्शनिक अवधारणा निरपेक्ष ब्रह्माण्डीय सृष्टि संरचनाको ‘कार्य-कारण’ संज्ञक अमूर्त, अव्यय, निरपेक्षलाई सम्बोधन गर्न प्रयोग गरिएका आदितत्व संज्ञक शब्द हुन्। यी भाषित छन् तर भाष्यको परिधि र सामर्थ्य भन्दा बाहिर छन्। यी आफैमा अगम्य, अगोचर ‘अस्ति’ बोधक सम्बोधन हुन्। अमूर्त आदितत्व आफ्नो ‘विशुद्ध’ निरपेक्ष रूपमा कतै अभिव्यक्त छैन तर सृष्टिरचनाको मूल आधरको रूपमा सर्वत्र व्याप्त छ। अर्थात् ‘निरपेक्ष’को ‘निरपेक्ष’रूपमा अभिव्यक्ति छैन र हुन सक्दैन त्यो सापेक्ष विशिष्ट रूपमा मात्र अभिव्यक्त हुन्छ। प्रकृति ‘समष्टि’ आफैमा गम्य, स्पश्र्य, भोग्य, परिमेय रूपभन्दा पर अज्ञेय रूपमा अस्तित्ववान् छ। यो ‘निरपेक्ष समष्टि’ केवल आफ्ना ‘सापेक्ष विशिष्ट’ प्रकृतिका विविध रूपबाट अभिव्यक्त छ, जुन भोग्य छ, दृश्य छ, स्पश्र्य छ, गम्य र परिमेय छ। प्रकृतिका यी यावत विशिष्ट अंगहरूको आफ्नै गुण धर्म छन्, आफ्नै सापेक्षिक विशिष्टता छन् र आ-आफ्नो स्वत्तसहित स्वतन्त्र रूपले अस्तित्वमा छन् र तिनको आ-आफ्नै गुण धर्म र विशिष्टता सहित पहिचान छ। त्यसै अनुरूप मानव र मानव समाज पनि ‘समष्टि प्रकृतिको’ एउटा विशिष्ट अभिव्यक्त रूप हो।

२. व्योम (आकाश) र काल (दिक्) : आकाश र काल गतिमान तत्वका विशिष्ट, वस्तुगत, सत्य र शाश्वत रूप र अवस्थितका माध्यम हुन। यसभन्दा बाहिर कुनै पनि पदार्थ तथा परिघटनाहरूको अस्तित्व सम्भव छैन। पदार्थका विविध अभिव्यक्त रूपको ज्ञान र मापन यीनकै माध्यमबाट हुन्छ। जस्तै प्राचीन भारतीय दर्शनमा आकाश परिमेय र अपरिमेय दुइटै रूप मानिएको छ। कुनै पनि वस्तुवेष्ठित आकाश, जसको मापन गर्न सकिन्छ र आकार-प्रकार बुझ्न सकिन्छ, त्यसलाई अव्यक्त ‘समष्टि’आकाशको व्यक्त ‘व्यष्टि’ रूप ‘घटाकाश’ भनिएको छ भने त्यसको समष्टि, अव्यक्त र अपरिमेय अवधारणालाई ‘समष्टि’ आकाश, भनिएको छ।

आकाशले हामीलाई कुनै पनि वस्तुको उपस्थिति, आकार, प्रकार, दुरत्व, निकटस्थ, तल-माथि, लामो-होचो, वस्तुको आयतन आदिको बोध तथा ठाउँ परिवर्तन, आकार र आयतनमा परिवर्तन आदिको बोध गराउँछ। यो यस कुराको प्रमाण हो कि विभिन्न वस्तुहरूको रूपमा अभिव्यक्त पदार्थ आकाशको परिधिभित्र र आकाश परिवेष्टित छ र यो गतिमान पदार्थको अस्तित्वबोधका लागि पहिलो आधारभूत सर्तको रूपमा छ।

काल (समय) पनि गतिमान पदार्थको अस्तित्व बोध गराउने वस्तुगत सत्य र यथार्थ रूप हो। जसले मानवलाई विगत-वर्तमान-भविष्य, उत्पत्ति- विकास- विनाशको बोध र कुनै वस्तु, परिघटना आदिको अवधि, प्रकृति र परिघटनाहरूको कालगणना आदिको बोध गराउँछ। जसको आधारमा हामी कुनै पनि ‘अस्ति’को कालगणना, कार्यसम्पादनको अवधि आदिको गणना गर्छौ। व्यौम र काल अपरिमेय ‘अस्ति’को अस्तित्वका सार्वभौम यथार्थ रूप हुन्। यी आफ्नो विशुद्ध स्थूल रूपमा, अर्थात् स्पर्श गर्न सकिने, हेर्न बोक्न सकिन आदि रूपमा अभिव्यक्त छैनन्। तर निरन्तर गतिमान छन्। यी समष्टि प्रकृतिका विशिष्ट रूपहरूको माध्यमबाट अनुभूत गर्न सकिने र त्यसैको माध्यमबाट मापन गर्न सकिने गतिका रूप हुन। हिन्दु दर्शनमा समय (काललाई) सम्पूर्ण उत्पत्ति र विनाशको कारक मानिएको छ र सबको स्थिति आकाशमा मानिएको छ-

“अनन्ता शक्तिऽयोव्यक्ते मायाद्धाः संस्थिता ध्रुवाः ।
तस्मिन दिवि स्थितं नित्यमव्यक्तं भाषित केवलम्”।
अर्थात् सम्पूर्ण कुरा ध्रुव सत्य तन्मात्रारूप आकाशमा स्थित छन् र प्रकाशमान छन् ।
कालः सृजति भूतानि कालः संहरति प्रजाः ।
कालस्य वशगा सर्वे न कालः कस्यचिद् वशे ।
अर्थात्, काल नै सम्पूर्णको सृष्टिकर्ता हो र काल नै उसको संहार गर्छ। सम्पूर्ण कुरा कालको वशमा छ, काल कसैको वशमा छैन। (कुर्म पुराण)

३. गति : द्वन्द्वात्मक भौतिकवादको सार पदार्थ र उसका विभिन्न व्यक्त रूपको अस्तित्व नैसर्गिक द्वन्द्वात्मक गतिमा छ। गति पदार्थका अस्तित्वको माध्यम हो। गति बिना सृष्टिको अस्तित्व अकल्पनीय कुरा हो। अठारौं शताब्दीका फ्रान्सेली भौतिकवादी दार्शनिकहरूले पदार्थ र गतिलाई एक अर्काबाट अलग्याउन सकिन्न भिन्ने अवधारणाको बीजारोपण गरे र मार्क्सले यसलाई भौतिक जगतका अस्तित्वको माध्यमको रूपमा प्रस्तुत गरे। सामान्यतया हामी गति भन्नाले कुनै बस्तुको स्थान परिवर्तनको रूपमा लिन्छौ। जस्तै हवाको वेग, पानीको बहाव, यन्त्रहरूको घुमाई वा गुडाई आदि। तर यी गतिका स्थूल रूप हुन्, गतिका रूपहरूको ‘समष्टि’ होइनन्। दार्शनिक अर्थमा गतिको अर्थ कुनै पदार्थ, परिघटा आदिमा हुने परिवर्तन, तिनका आन्तरिक सहसम्बन्धमा हुने परिवर्तन तथा बाह्य प्रभावबाट रूप र सारमा हुने परिवर्तनको कारणबाट प्राप्त हुने नयाँ अवस्था हो। पदार्थ र परिघटनाहरूमा हुने प्रत्येक परिवर्तन गति हो र गति पदार्थको नैसर्गिक स्वत्व र अन्तरस्थ गुणधर्मिता हो। ऐंगेल्सले आफ्नो प्रसिद्ध ग्रन्थ ‘डायलेक्टिक्स औफ नेचर’मा गतिलाई चार समूहमा बाडेका छन्- ‘फीजीकल मोशन’, ‘क्यामिकल मोशन’, ‘बायोलौजीकल मोशन’ र ‘सोसिल मोशन’।

भौतिक- यो गतिको सबभन्दा सरल रूप हो। विषयवस्तुको रेखात्मक स्थानान्तरण, वृत्तिय गति, खगोल पिण्डीय गति, भौगर्भिक गति, इलेक्ट्रो म्यागनीटिक गति, अटोमिक मोशन आदि जस्ता यसका विभिन्न रूप छन्, जसलाई हामी सोझै दृष्टिगत गर्न सक्छौ, मापन गर्न सक्छौ, परस्पर तुलना गर्न सक्दछौ, आदि।

रासायनिक गति- यो भौतिक गति भन्दा जटिल गति हो। यसमा भौतिक गतिका साथै आफ्नै विशिष्ट गति पनि निहित छ। पदार्थको अणु, परमाणु आदिको संगठन र संरचाको परिवर्तनबाट पदार्थ एक रूपबाट अर्को रूपमा परिवर्तन हुनु, परमाणुहरूको सम्मिलनबाट मोलीकूल, कृष्टल आदि बडी जटिल संरचनाको निर्माण र उष्माको कारण हुने परिवर्तन आदि रासायनिक गतिका रूप हुन्। यस प्रक्रियामा एकतर्फ भौतिक गति क्रियाशील रहन्छ भने अर्कोतर्फ यसको आफ्नै विशिष्ट गति पनि छ।

जैविक गति- यो माथि भनिएका दुइटै गतिभन्दा बढी जटिल र बहुआयामिक गति हो। यसमा एकतर्फ भौतिक र रासायनिक गति सहित आफ्ना विशिष्ट गति र रूपान्तरणका जटिल प्रक्रिया समाहित छन् भने अर्कोतर्फ रूपान्तरण सहित पुनरुत्पादन, क्षयीकरण र पुनर्निर्माण, पारस्परिक इन्टरचेन्जेविलीटीका सम्भावना आदि जस्ता गतिका जटिलतम अति विशिष्ट रूपहरू पनि अन्तर निहित छन्। मानव जातिले अहिले सम्म यस गतिका सम्पूर्ण रूपहरूको ज्ञान प्राप्त गर्न सकेको छैन। यसको थाहा पाउने प्रक्रियामा मानवद्वारा अन्य सजीव तत्वका साथै आफैले आफै माथि गर्ने अनुसन्धानको प्रक्रिया पूर्ण ज्ञान प्राप्ति तर्फको यात्रा हो। यो गति प्रकृतिका यावत जीवित प्राणीहरू, ‘सुपर और्गानिक सिष्टम’-जस्तै जीवजन्तुका विविध परिवार, और्गानिज्मका आ-आफ्ना समूहहरू, विभिन्न ‘स्पेसीज’हरू, ‘वायोजियोसेनोसिस’ लगायत सम्पूर्ण ‘बायोस्फेयर’आदिमा सामान्य आम चरित्र सहित आ-आफ्नै विशिष्टता सहित विद्यमान छ। प्राणीहरूमा हुने विशिष्ट स्वचालित प्रक्रिया ‘मेटावोलिज्म’- अर्थात् जीवनजगतद्वारा आत्मरक्षण र अंगहरूको पुनरुत्पादनको परिपूर्तिका लागि और्गानिज्महरूलाई आवश्यक तत्वहरूको आदान प्रदान प्रक्रिया यस गतिको मूल सार हो।

सामाजिक गति- गतिका उपरोक्त तीन रूप विश्व ब्रह्माण्डको भौतिक संरचनाका विविध क्षेत्रहरूमा क्रियाशील गतिको सार बुझाउने आधारभूत पक्ष हुन भने राजनैतिक कार्यकर्ता, समाज शास्त्री, अर्थशास्त्री, सामाजिक दर्शनका विद्यार्थी आदिका लागि सामाजिक गति बुझ्नु त्यतिकै आवश्यक र महत्वपूर्ण विषय हो। यहाँ ध्यान दिनुपर्ने खास कुरा के हो भने एकतर्फ सामाजिक गतिले सामाजिक जीवनमा निरन्तर भइरहने सामाजिक परिवर्तन, विविध गतिविधि, सामाजिक सम्बन्ध, उत्पादन प्रक्रिया र उत्पादन सम्बन्ध, व्यक्ति देखी राज्यसत्ता, संस्कार, संस्कृति आस्था, विश्वास आदिका सम्बन्धका साथै विभिन्न सामाजिक संरचनाबीचका अन्तरसम्बन्ध, प्रकृति र मानवबीचका सम्बन्ध, ज्ञान, चेतना, अनुभव, संवेदना, मानव मस्तिष्क आदिको समष्टिगत गति, जसबाट समाज परिवर्तनको प्रक्रिया चलिरहेको हुन्छ, त्यस समष्टिगत गतिलाई एकमुष्ट रूपमा व्यक्त गर्छ भने अर्कोतर्फ यसले सामाजिक जीवनका विविध विभागमा रहने परिवर्तनको आ-आफ्नै गतिलाई पनि समेटेको छ। तेस्रो तर्फ ‘व्यक्ति’को स्वत्व आफै जीवित और्गनहरूका एकत्व र अन्तरसम्बन्धको संगठित अभिव्यक्ति भएकोले यो बायोलौजिकल गतिको मातहत छ। त्यसकारण समष्टिगत रूपमा सामाजिक गति यी सम्पूर्ण गतिको समन्वीकृत, जटिल तथा विकसित रूप भएको हुँदा यो प्रकृतिको सर्वोच्च र जटिलतम रूप हो। पदार्थका गतिका रूपहरूको क्रमिकता हेर्ने हो भने यो सरलबाट जटिलता र निम्नबाट उच्च र बढी विकसित र जटिल अवस्थामा संक्रमित हुँदै गएको छ र परिवर्तनबाट प्राप्त हुने नयाँ जटिल तथा उच्च अवस्तबाट पुनः पहिलेको सरल तथा निम्न अवस्थामा यसको संक्रमण सम्भव छैन। त्यस्तै सामाजिक गतिको दिशा सधैँ निम्नबाट उच्च र सरलबाट जटिलता तिरको उध्र्व रेखामा छ।

४. नियमितता र आकस्मिकता : माथि नै भनियो प्रकृतिको प्रत्येक वस्तु पारस्परिक सम्बन्धहरूमा आबद्ध छ र गति यसको नैसर्गिक चरित्र हो। नियमितता यी स्थायी तथा आधारभूत सम्बन्धहरूको गतिले नयाँ परिघटना घटित हुनका लागि संयोजन गर्ने बस्तुगत अवस्थाको अपरिहार्य तार्किक परिणाम हो र त्यो पूर्वसंयोजित वस्तुगत अवस्था अनुसार त्यहीरूपमा अवश्यम्भावी हुन्छ नै। तर यसको द्वन्द्वात्मक चरित्र न बुझी यान्त्रिक अर्थमा बुझ्यो भने मानव चिन्तनलाई भाग्यवादमा पुर्‍याउन खतरा सधैं रहन्छ। एउटा कुरा स्पष्टतासाथ के बुझ्नु पर्दछ भने सामान्यतया ‘नियमितता’ सधैं र सर्वत्र पूर्वसंयोजित अवस्थाले नियमित गरे अनुसार परिघटिन हुन्छ। तर, सधैं त्यहीरूपमा घटित हुन्छ नै भन्न सकिन्न, किनकि कुनै पनि आकस्मिकताको कारणले अपेक्षा गरेको अवस्थाभन्दा भित्र परिणाम अगाडि आउन सक्छ। आकस्मिकता यस्तो परिघटना हो जसको हामी न पूर्वानुमान गर्न सक्छौ नत त्यसलाई घटित हुनबाट रोक्न सक्छौ। आकस्मिकता घटित हुन पनि सक्छ न हुन पनि सक्छ। तर यसका सम्भावना सधैं रहन्छन्।

परिवर्तन र विकासलाई ‘मेटाफीजिकल’ (अधिभौतिकवादी) रूपमा सामान्य घटी-बढी भइरहने परिवर्तनको रूपमा होइन यसका द्वन्द्वात्मक चरित्रसहितका अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको सापेक्ष बुझ्नु पर्छ र यस प्रक्रियामा अगाडि आउने बहुआयामिक परिवर्तनको नियमितताका विविध पक्षका साथै आकस्मिकताको प्रभाव आदि सापेक्ष हेर्नु पर्दछ। सामान्यरूपमा परिवर्तनको प्रक्रियाको मूल चरित्र उध्र्वगामी भए पनि यो सधैं उध्र्वगामी सरल रेखामा मात्र जाँदैन। विशेष गरेर सामाजिक परिघटनाहरूमा आकस्मिकताको प्रभावले यसको दिशा परिवर्तन पनि गर्ने गर्छ र अवस्था विशेषमा यसमा अनेकौं घुम्ती तथा उतार चढाव र प्रतिगमनको अवस्था पनि आउने गर्छन्। यस्तो अवस्था विशेष गरेर सामाजिक परिघटनाहरू र राजनैतिक परिवर्तनको चरणमा झन् जटिलरूपमा अगाडि आउँछ, किनभने त्यहाँ यस प्रक्रियासँगै सक्रिय हुने विभिन्न राजनैतिक पार्टी, वैचारिक धार, वर्ग र सामाजिक तपका, धार्मिक तथा सांस्कृतिक आस्था आदि त्यस क्रान्तिकारी परिघटनालाई आ-आफ्नो स्वार्थ अनुसार मोड्न सक्रिय रहन्छ जसले आकस्मिकतालाई निम्त्याउने बढी सम्भावना रहन्छन्। यसको सही आंकलन नगरी क्रान्तिकारी परिवर्तनहरू अगाडि बढाउँदा विकास प्रक्रिया प्रतिगमन तिर मोडिने बढी सम्भावना रहन्छन्। क्रान्तिकारी गतिविधि अगाडि बढाउँदा नियमितताका साथै आकस्मिकताका सम्भावनाहरूलाई पनि मध्यनजर राख्नु आवश्यक हुन्छ।

५. स्वतन्त्रता र अनिवार्यता : आफ्ना राजनैतिक क्रियाकलापहरूमा सामाजिक परिघटनाहरूलाई सहीरूपमा बुझ्न र परिवर्तनको गतिलाई सही दिशा दिन क्रान्तिकारीहरूको सचेत र सक्रिय क्रियाकलापको अहम् भूमिका रहन्छ। यसका लागि द्वन्द्वात्मक भौतिकवादको ‘स्वतन्त्रता र अनिवार्यता’ अवधारणा अत्यन्त महत्वपूर्ण अवधारणा हो। पारस्परिक निर्भरता र अन्तरसम्बन्धको जटिल गतिमा रहने सामाजिक विकास प्रक्रियाले परिवर्तनको ‘अपरिहार्यता’लाई जन्म दिन्छ र परिवर्तन अपरिहार्य हुन्छ। तर, यो अवस्था हेगलले भने जस्तो प्राकृतिक परिवर्तनका ‘अपरिहार्यता’ र ‘स्वतन्त्रता’को नियम जस्तो अन्ध रूपमा लागू हुने नभै त्यसलाई मानवका सक्रिय र सचेत क्रियाकलापले आफू अनुकूल हुने दिशा दिन सकिने ‘स्वतन्त्रता’ पनि विद्यमान रहन्छ। जस्तो भनौं हाम्रो वर्तमान अवस्थालाई परिवर्तन गर्नु पर्ने सामाजिक अनिवार्यता हामी सामु छ र त्यसका लागि आर्थिक सामाजिक रूपान्तरणको अपरिहार्यता छ। तर त्यसलाई स्वतन्त्र पूँजीवादी विकासको दिशामा जान दिने वा समाजवाद उन्मुख दिशामा मोड्ने स्वतन्त्रता पनि हामीसँग छ। तर, चट्याङ पर्ने, भूकम्प आउने जस्ता प्राकृतिक अपरिहार्यतालाई बदल्नु सक्ने क्षमता मानिससँग छैन।

६. अन्तरवस्तु र बाह्य संरचना : विश्व चराचरमा परिघटित हुने कुनै पनि परिघटना वा अस्तित्ववान् विषयवस्तु उसका अन्तरवस्तु र बाह्य रूपको एकत्व हो। विषयवस्तु वा परिघटनाहरूको अन्तरवस्तु यसको अन्तरस्थ गुणधर्म, त्यसका आन्तरिक गतिशील प्रक्रिया, तिनका अन्तरसम्बन्ध र अन्तरद्वन्द्व तथा परिवर्तन र विकासको प्रवृत्तिहरूको समन्वित अभिव्यक्ति हो भने सापेक्षिक रूपमा स्थिर र निश्चितरूपमा बोधगम्य, त्यसको बाह्य रूप आकृति त्यसका अन्तर वस्तुका अस्तित्वको माध्यम हो। कुनै पनि विषयवस्तु वा परिघटनाहरूका अन्तरवस्तु र बाह्य संरचना एक अर्कोसङ आफ्नै निश्चित खास रूपमा आबद्ध रहन्छन् जसले यिनको भित्र पहिचान कायम रहन्छ।

कुनै पनि परिघटना वा विषयवस्तुको अन्तरवस्तु र बाह्य संरचनाको अवधारणा तिनका विकास र परिवर्तनको द्वन्द्वात्मक चरित्र बुझ्न अत्यावश्यक दार्शनिक अवधारणा हो। बाह्य संरचनाले विषयवस्तुहरूको अन्तरवस्तुको परिवर्तन र विकासलाई उत्प्रेरित गर्छ र त्यसको गतिलाई त्वरित गर्छ भने यस विकास प्रक्रियामा एउटा यस्तो अवस्था आउँछ। जहाँ पुरानो बाहिरी संरचना र अन्तरवस्तुको विकसित अवस्थाबीच पारस्परिक तादात्म्य असन्तुलित हुन पुग्छ र बाह्य संरचना अन्तरवस्तुको अग्रविकासलाई बोधित गर्छ। त्यस अवस्थामा विकसित अन्तर वस्तुसँग पुनः तादात्म्य कायम गर्न यिनको एकत्व भंग हुने अवस्था सृजना हुन्छ र अन्तर वस्तुसँग सादृश्यता कायम गर्न बाह्य संरचना परिवर्तित हुन्छ। उदाहरणका लागि सामाजिक उत्पादन सम्बन्धले उत्पादक शक्तिको विकासलाई उत्प्रेरित गर्छ। तर, जब उत्पादन सम्बन्धहरू र विकसित उत्पादक शक्तिहरूबीचको सन्तुलन गुम्छ। नयाँ उत्पादक शक्तिसँग मेलखाने गरी उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र नयाँ उत्पादन सम्बन्धहरू स्थापित हुन्छन्।

७. सार र रूप : कुनै पनि विषयवस्तु तथा परिघटनाको रूप र सार हुनु उनको वस्तुगत सार्वभौमिकता हो। रूप र सार नभएको कुनै पनि विषयवस्तु वा परिघटना हुँदैन। मानिसको ज्ञान विषयवस्तुको बाहिरी रूप भएर उसका सारको विन्यास, स्थापत्य, गुण र उत्पत्तिको कारण तथा अन्तर सम्बन्ध र अन्तरद्वन्द्व तथा परिवर्तनको सामान्य चरित्र आदिको जानकारी प्राप्त गर्ने क्रममा विकसित हुन्छ। सारको ज्ञान नभएसम्म नत हामी सामाजिक घटनाक्रमलाई बुझ्न सक्छौ न प्रकृति विषयवस्तु र घटनाक्रमलाई। उदाहरणका लागि पूँजीवादलाई समाप्त गर्न पूँजीवादी उत्पादन प्रणालीको सार, अर्थात् उत्पादनका साधनमाथि निजी स्वामित्व, उपभोगको व्यक्तिवादी चरित्र, अतिरिक्त श्रमको शोषक आदिको ज्ञान आवश्यक छ भने समाजवादी संरचनाको विकासका लागि उत्पादनका साधनमाथि सामाजिक स्वामित्व, सामूहिक वितरण प्रणाली, वैचारिक तथा सांस्कृतिक परिवर्तनको चरित्र र सार बुझ्न आवश्यक हुन्छ।

८. कारण र परिणाम : सम्पूर्ण विश्व र यसका यावत परिघटनाहरू पारस्परिक अन्तरसम्बन्धहरूको एउटै जटिल प्रणालीमा आबद्ध र गतिमान छन्, जसमा गति र परिवर्तनका ‘कारण र परिणाम’ बीचका अन्तरसम्बन्ध र पारस्परिक क्रिया-प्रतिक्रियाले अहम् भूमिका निर्वाह गर्छन्। तर्क शास्त्रले भन्छ ‘कुनै कारण नभै परिणाम निस्किँदैन’। हरेक विषयवस्तुका बाह्य सम्बन्ध र अन्तर सम्बन्धहरूको कारणले नै यो अथवा त्यो निश्चित परिघटना वा प्रक्रियाले अर्को अवस्थालाई जन्म दिन्छन्। फलस्वरूप परिवर्तन र विकासको अविरल प्रवाहमा एउटा खालको गति अर्कोरूपमा प्रवेश गर्छ। विश्वमा मानवको उत्पत्ति कुनै वस्तु परिघटना अथवा प्रक्रियाहरूको कुनै अव्यवस्थित र आकस्मिक सम्मिलनको कारण नभई, मानवको चेतना र चाहना भन्दा स्वतन्त्र र नियमवद्ध गतिमान प्राकृतिक सम्पूर्णताका बीचका वस्तुगत अन्तरसम्बन्ध र पारस्परिक क्रिया-प्रक्रियाको परिणाम हो र यिनै सम्बन्ध र पारस्परिक क्रिया प्रतिक्रिया परिवर्तन र गतिका कारण हुन्।

९. खास, विशिष्ट र सार्वभौम : प्राकृतिक ‘समष्टि’ आफैमा अभिव्यक्त नभएर यसका अनन्त ‘विशिष्ट’रूपमा अभिव्यक्त भएको छ र यसै विशिष्टताको आधारमा यो बोधगम्य छ। प्रत्येक विशिष्टको सार र त्यसको गुणधर्मिता समष्टिको गुणधर्मिताबाट नियमित र सञ्चालित छ। तर ‘समष्टि’ ‘विशिष्ट’को चरित्र वा गुणधर्मिताबाट निर्दिष्ट र नियमित छैन। सृष्टिको प्रत्येक अवयव र इकाई प्रकृति भित्रै र प्रकृतिको अविभाज्य अंग भए पनि, चाहे त्यो निर्जीव सृष्टि होस अथवा सजीव अथवा मानव र समाज तथा सामाजिक परिघटित हुने कुनै पनि परिघटना, चाहे त्यो सामाजिक क्रान्ति होस् अथवा अन्य घटना, तिनमा निरपेक्ष समानता छैन र समानता हुन सक्दैन। यिनलाई खास, विशिष्ट र सार्वभौमरूपमा बोध गरिन्छ र त्यसै अनुसार यिनका भिन्नता, समानता र सादृश्यताको पहिचान गरिन्छ। कुनै पनि दुई विषयवस्तु वा परिघटनाहरूमा निरपेक्ष समानता छैन। कतै न कतै त्यसमा भिन्नता रहन्छ। त्यस्तै सामाजिक परिवर्तन वा सामाजिक क्रान्ति निरपेक्ष रूपमा समान हुन सक्दैनन्। क्रान्तिकारीहरूले, विशेष गरेर कम्युनिष्ट क्रान्तिकारीहरूले समाजवादी क्रान्ति वा समाजवादमा संक्रमणको प्रक्रियामा यसलाई विशेषरूपमा ध्यान दिनु पर्ने हुन्छ। अन्य देशहरूको अन्धानुकरण गर्ने होइन आफ्नो विशिष्टताअनुसार त्यसको कार्यनीति र दिशा निर्धारण गर्नुपर्छ। किनकि उहीरूपमा त्यसलाई दोहोर्‍याउन सकिँदैन।

2026/10/07

दर्शनशास्त्रबारे लेनिनका १६ बुँदा

भ्लादिमिर लेनिनले सन् १९१४–१९१५ मा स्विट्जरल्याण्डको बर्नमा रहँदा जर्मन दार्शनिक हेगेलको पुस्तक ‘तर्कशास्त्रको विज्ञान’ (Science of Logic) को गहिरो अध्ययन गर्नुभएको थियो। त्यस अध्ययनको क्रममा तयार गरिएका नोटहरू पछि ‘दार्शनिक नोटबुकहरू’ (Philosophical Notebooks) का रूपमा प्रकाशित भए।

त्यसै क्रममा लेनिनले द्वन्द्ववाद (Dialectics) का १६ वटा आधारभूत तत्व वा नियमहरू सूत्रबद्ध गर्नुभयो। यी १६ बुँदाहरू मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवाद) का सबैभन्दा उन्नत व्याख्या मानिन्छन्:

१. वस्तुगत अवलोकन (Objectivity of consideration)

कुनै पनि वस्तु, घटना वा सामाजिक स्थितिको विश्लेषण गर्दा पूर्वाग्रह, व्यक्तिगत इच्छा वा बाह्य उदाहरणका आधारमा होइन, वस्तु आफैँमा जे हो त्यसको यथार्थ रूप हेर्नुपर्छ। बाहिरबाट थोपरिएको विचार नभई वस्तुको आफ्नै वस्तुगत यथार्थको निष्पक्ष अध्ययन पहिलो सर्त हो।

२. सम्बन्धहरूको समग्रता (Totality of relations)

संसारमा कुनै पनि वस्तु पूर्णतया एक्लो वा अलग-थलग रहँदैन। प्रत्येक वस्तु वा परिघटना अन्य सयौँ, हजारौँ वस्तुहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले कुनै विषयलाई बुझ्न त्यसका चौतर्फी सम्बन्धहरूको समग्रता (Totality) लाई केलाउनुपर्छ।

३. आफ्नै गति र विकास (Self-movement and development)

वस्तु स्थिर वा जड छैन, यो निरन्तर गतिशील र परिवर्तनशील छ। त्यो गति बाहिरबाट कसैले दिएको धक्का मात्र होइन, वस्तुको आफ्नै आन्तरिक नियम र जीवन-प्रक्रियाबाट निर्देशित हुन्छ। त्यसैले वस्तुको आत्म-विकासको अध्ययन हुनुपर्छ।

४. आन्तरिक अन्तरविरोध (Internal contradictory tendencies)

प्रत्येक वस्तुभित्र एकअर्कासँग असंगत, विपरित र विरोधी प्रवृत्तिहरू तथा शक्तिहरू विद्यमान हुन्छन्। बाहिर शान्त देखिए पनि वस्तुभित्र निरन्तर आन्तरिक अन्तरविरोधहरू क्रियाशील भइरहेका हुन्छन्।

५. विपरीतहरूको योग र एकता (Unity of opposites)

वस्तु भनेकै अन्तरविरोधी पक्षहरूको योग वा मेल हो। उदाहरणका लागि, चुम्बकका उत्तर र दक्षिण ध्रुव, जीवशास्त्रमा कोषको निर्माण र क्षय, वा समाजमा शोषक र शोषित वर्ग। यी विपरीत पक्षहरू एक-अर्कामा अन्तरसम्बन्धित भएर एउटै प्रणालीभित्र सह-अस्तित्वमा रहन्छन्।

६. विपरीतहरूको संघर्ष (Struggle of opposites)

विपरीत पक्षहरू सँगै रहे पनि तिनीहरू स्थिर रहँदैनन्; तिनीहरूबीच निरन्तर द्वन्द्व, खिचातानी र संघर्ष चल्छ। यो संघर्षले नै प्रणालीलाई अस्थिर बनाउँछ र गतिशीलता पैदा गर्छ।

७. विश्लेषण र संश्लेषणको संयोजन (Combination of analysis and synthesis)

कुनै पनि वस्तुलाई बुझ्न पहिले त्यसका छुट्टाछुट्टै अङ्ग, पक्ष वा तत्त्वहरूको चिरफार गरेर विश्लेषण (Analysis) गर्नुपर्छ। त्यसपछि ती सबै टुक्राहरूलाई जोडेर एउटा सिङ्गो इकाईका रूपमा हेर्ने संश्लेषण (Synthesis) गर्नुपर्छ। यी दुवै विधिको संयोजनबाट मात्र सत्य पत्ता लाग्छ।

८. प्रत्येक सम्बन्धको बहुपक्षीयता (Multilateral relations)

वस्तुका प्रत्येक पक्ष वा गुणले अन्य तत्वहरूसँग बहुआयामिक सम्बन्ध राख्दछन्। एउटा तत्वलाई अर्को तत्वमा बाँध्ने पुलहरू, माध्यमहरू र संक्रमणका कडीहरूको विस्तारमा खोजी गर्नुपर्छ।

९. विपरीतहरूको रूपान्तरण (Transformation of opposites into each other)

विकासको एक निश्चित बिन्दुमा पुगेपछि विपरीत पक्षहरू एकअर्कामा फेरिन्छन्। पुरानो समयको प्रगतिशील शक्ति कालान्तरमा प्रतिक्रियावादी बन्न सक्छ, र दबाबमा परेको शक्ति प्रमुख शक्तिमा रूपान्तरित हुन सक्छ। एउटा विपरीत पक्ष अर्कोमा संक्रमण हुनु द्वन्द्ववादको महत्वपूर्ण नियम हो।

१०. नयाँ सम्बन्धहरूको अनन्त प्रक्रिया (Endless process of new aspects)

वस्तुको अध्ययन वा विकास कुनै एक बिन्दुमा पुगेर समाप्त हुँदैन। जब नयाँ परिस्थिति बन्छ, फेरि नयाँ-नयाँ पक्षहरू, सम्बन्धहरू र अन्तरविरोधहरू देखा पर्छन्। यो प्रक्रिया निरन्तर र अनन्त हुन्छ।

११. ज्ञानको गहिराइका तहहरू (Deepening of knowledge)

मानव चेतना वा ज्ञान सतही परिघटना (Phenomenon) बाट बिस्तारै भित्री सार (Essence) तर्फ अघि बढ्छ। तर त्यो सार पनि अन्तिम हुँदैन; कम गहिरो सारबाट मानिस झन् गहिरो सार बुझ्दै अनन्त गहिराइतर्फ अगाडि बढ्छ।

१२. नयाँद्वारा पुरानोको विस्थापन (Replacement of the old by the new)

विकासको क्रममा पुरानो ढाँचा भत्किन्छ र त्यसको ठाउँ नयाँले लिन्छ। तर यो विस्थापन अन्धधुन्ध विनाश होइन; नयाँले पुरानोका जीर्ण तत्व फाल्छ तर सकारात्मक र उपयोगी तत्वहरूलाई भने आफूमा समाहित (Sublation) गर्छ।

१३. उच्च तहमा पुरानैको पुनरावृत्ति (Repetition at a higher stage)

यसलाई ‘निषेधको निषेध’ (Negation of the negation) को नियम पनि भनिन्छ। विकासको प्रक्रियामा केही रूपहरू पुरानै जस्ता देखिएर फर्किन सक्छन् (जस्तै: आदिम साम्यवादपछि निजी सम्पत्तिको युग र फेरि वैज्ञानिक साम्यवाद), तर त्यो पुरानै तहमा होइन, निकै उन्नत र उच्च वैज्ञानिक धरातलमा पुनरावृत्त हुन्छ।

१४. मात्राबाट गुणमा फड्को (Transition of quantity into quality)

स-साना मात्रात्मक (संख्यात्मक) परिवर्तनहरू बिस्तारै र क्रमिक रूपमा जम्मा हुँदै जान्छन्। जब यो मात्रा एउटा सीमा (सीमा नाघ्ने विन्दु) मा पुग्छ, तब अचानक क्रान्तिकारी फड्को (Leap) का रूपमा नयाँ गुणात्मक परिवर्तन देखा पर्छ (जस्तै: पानी तात्दै गएर १००°C मा पुग्दा बाफ बन्नु)।

१५. कुण्डलाकार विकास (Spiral development)

विकास कहिल्यै पनि सरल, सीधा वा समतल रेखामा हुँदैन। यो घुमाउरो, स्प्रिङ वा कुण्डलाकार (Spiral) गतिमा अघि बढ्छ। यसमा अगाडि बढ्ने, पछाडि हट्ने, घुम्ने र फेरि अझ माथिल्लो उचाइमा पुग्ने चक्रहरू हुन्छन्।

१६. अन्तरविरोध नै गतिको मूल स्रोत (Contradiction as the root of all movement)

अन्त्यमा, लेनिनले सम्पूर्ण द्वन्द्ववादको चुरो प्रस्तुत गर्नुहुन्छ— कुनै पनि वस्तु, प्रकृति वा समाजको विकास बाह्य दैवी शक्ति वा आकस्मिकताले होइन, त्यसभित्रै रहेका आन्तरिक अन्तरविरोधहरूको संघर्ष र तिनको समाधानबाट नै संचालित हुन्छ। आन्तरिक अन्तरविरोध नै प्रगतिको मूल इन्जिन हो।

लेनिनले यी १६ बुँदाको अन्त्यमा द्वन्द्ववादलाई अति संक्षिप्त रूपमा परिभाषित गर्दै लेख्नुभएको छ: "द्वन्द्ववाद भनेको संक्षेपमा विपरीतहरूको एकताको सिद्धान्त हो।"

2026/10/06

नीति र नेतृत्वको अन्तर्सम्बन्ध: एक विश्लेषण

मानव समाजको विकासक्रममा ‘नीति’ (विचार, सिद्धान्त र कार्यदिशा) र ‘नेतृत्व’ बीचको सम्बन्ध सधैं बहसको केन्द्रमा रहँदै आएको छ। गैर-मार्क्सवादी वा पुँजीवादी चिन्तनले समाज विकासमा कुनै एक असाधारण व्यक्ति, राजा, नायक वा चामत्कारिक नेतृत्वलाई निर्णायक मान्दछ।

तर, मार्क्सवादी दर्शन—ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद—ले यस दृष्टिकोणलाई अस्वीकार गर्छ। मार्क्सवादका अनुसार इतिहास कुनै महापुरुषको मनोगत चाहनाले होइन, भौतिक उत्पादन पद्धति, वर्ग संघर्ष र ऐतिहासिक आवश्यकताहरूको द्वन्द्वबाट अगाडि बढ्छ। यस संरचनाभित्र नीति र नेतृत्वको सम्बन्ध एकाङ्की नभई द्वन्द्वात्मक, अन्योन्याश्रित र वर्गीय चरित्रको हुन्छ।

नीतिको प्रधानता र आधार

मार्क्सवादमा ‘नीति’ भन्नाले कुनै अमूर्त नियम मात्र होइन; यो समग्र राजनीतिक कार्यदिशा, विचारधारा, वर्गीय दृष्टिकोण र रणनीति-कार्यनीतिको समष्टि हो। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले ‘जर्मन विचारधारा’मा स्पष्ट पार्नुभएको छ— विचार वा चेतना भौतिक सम्बन्धहरूबाटै उत्पन्न हुन्छन्।

कुनै पनि समाजको आर्थिक आधारले त्यसको उपरिसंरचना निर्धारण गर्छ, जसमा कानुन, राजनीति, दर्शन र नीतिहरू पर्दछन्। त्यसैले नीति हावामा बन्दैन; यो समाजमा विद्यमान वर्ग अन्तर्विरोधको वैज्ञानिक विश्लेषणबाट जन्मन्छ। मार्क्सवादी आन्दोलनमा नीतिको भूमिका सधैं प्रमुख रहन्छ।

लेनिनले आफ्नो प्रसिद्ध कृति ‘के गर्ने?’ मा भन्नुभएको छ— "क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन सम्भव छैन।" यसको अर्थ नीति अर्थात् सिद्धान्त र विचार नै आन्दोलनको दिशा-निर्देशक हो। नेतृत्व कति सक्षम छ भन्ने कुरा त्यसले कस्तो नीति अवलम्बन गरेको छ र त्यसलाई कसरी लागू गर्छ भन्ने कुरामा निर्भर रहन्छ।

इतिहासमा व्यक्तिको भूमिका र नेतृत्व

पुँजीवादी चिन्तकहरूले मार्क्सवादलाई कहिलेकाहीँ "आर्थिक नियतिवाद"को आरोप लगाउँदै यसले व्यक्तिको भूमिकालाई पूर्णतया नकार्छ भनी तर्क गर्छन्। तर यो गलत बुझाइ हो।

जर्ज प्लेखानोभले आफ्नो चर्चित पुस्तक ‘इतिहासमा व्यक्तिको भूमिका’मा मार्क्सवादी दृष्टिकोणलाई स्पष्ट पार्दै लेख्नुभएको छ— व्यक्ति वा नेताले इतिहास बनाउँछ, तर आफ्नो मर्जीले होइन; ऐतिहासिक परिस्थिति र वस्तुगत आवश्यकताले दिएको सीमाभित्र रहेर बनाउँछ।

मार्क्सले ‘लुई बोनापार्टको अठारौँ ब्रुमेर’ मा उल्लेख गर्नुभएको छ: "मानिसले आफ्नो इतिहास आफैं बनाउँछन्, तर उनीहरूले आफूले चाहेजस्तो गरी बनाउँदैनन्; उनीहरूले अतीतबाट प्राप्त, आफूलाई घेरेका र निर्धारित परिस्थितिहरू अन्तर्गत बनाउँछन्।"

नेतृत्व आकाशबाट खस्दैन। त्यो समाजको विशिष्ट वर्ग, उत्पादन सम्बन्ध र अन्तरविरोधको उपज हुन्छ। जब समाजमा पुरानो उत्पादन सम्बन्धले नयाँ उत्पादक शक्तिको विकासलाई रोक्छ, तब क्रान्तिको वस्तुगत परिस्थिति तयार हुन्छ।

यस्तो ऐतिहासिक मोडमा ती वस्तुगत आवश्यकताहरूलाई बुझ्न सक्ने, जनतालाई संगठित गर्न सक्ने र स्पष्ट नीति दिन सक्ने व्यक्तिको आवश्यकता पर्छ। नेतृत्व त्यही ऐतिहासिक आवश्यकताको अभिव्यक्ति हो। लेनिनबिना सन् १९१७ को अक्टोबर क्रान्ति वा माओबिना सन् १९४९ को चिनियाँ क्रान्तिको गति फरक हुन सक्थ्यो, तर ती नेताहरू रुसी वा चिनियाँ समाजको वर्गीय धरातल र ऐतिहासिक द्वन्द्वकै पैदावार थिए।

नीति र नेतृत्वको अन्तर्सम्बन्ध

नीति र नेतृत्वबीचको सम्बन्धलाई मार्क्सवादी द्वन्द्ववादका आधारमा निम्न आयामहरूबाट बुझ्न सकिन्छ:

क) नीति मार्गदर्शक, नेतृत्व संवाहक

नीति एउटा कम्पास हो भने नेतृत्व त्यो दिशामा यात्रा गर्ने जहाजको चालक हो। सही नीति नभए नेतृत्व जतिसुकै ऊर्जावान, लोकप्रिय वा चामत्कारिक भए पनि आन्दोलन अन्धकारमा पुग्छ र अन्ततः विसर्जन हुन्छ। अर्कोतर्फ, जतिसुकै वैज्ञानिक र क्रान्तिकारी नीति भए पनि त्यसलाई आत्मसात गर्ने, जनतामा सम्प्रेषण गर्ने र कार्यरूप दिने दृढ नेतृत्व भएन भने नीति कागजको खोस्टोमा सीमित रहन्छ।

ख) जनदिशा र नेतृत्वको अभ्यास

माओ त्सेतुङले नीति निर्माण र नेतृत्वको सम्बन्धलाई 'जनदिशा'मार्फत व्याख्या गर्नुभएको छ: "जनताबाट लिने र जनतालाई नै फर्काउने।" नेतृत्वको काम बन्द कोठामा बसेर नीति बनाउनु होइन। श्रमिक वर्ग र उत्पीडित जनताका छरिएका अनुभव, असंगठित माग र आकांक्षाहरूलाई संकलन गरी त्यसलाई मार्क्सवादी-लेनिनवादी दर्शनको आलोकमा व्यवस्थित, सैद्धान्तिक र स्पष्ट नीतिमा बदल्नु नेतृत्वको काम हो। पुनः त्यो नीति लिएर जनताबीच जानु र त्यसलाई कार्यान्वयन गर्न जनतालाई नै परिचालन गर्नु नेतृत्वको मुख्य जिम्मेवारी हो।

ग) नीति परिवर्तनशील, नेतृत्व गतिशील

द्वन्द्ववादको नियमअनुसार वस्तु र परिस्थिति निरन्तर परिवर्तनशील हुन्छ। रणनीतिक लक्ष्य स्थिर रहे पनि कार्यनीति परिस्थितिको परिवर्तनसँगै बदलिइरहनुपर्छ। लेनिनले भन्नुभएको थियो— "कंक्रीट परिस्थितिको कंक्रीट विश्लेषण नै मार्क्सवादको जीवित आत्मा हो।" सक्षम नेतृत्व त्यो हो, जसले समाजका सूक्ष्म परिवर्तनहरू र शक्ति सन्तुलनको गतिलाई समयमै पहिचान गरी नीतिमा आवश्यक परिमार्जन गर्न सक्छ। पुरानो भइसकेको नीतिमा टाँसिरहने नेतृत्व जडसूत्रवादी बन्छ भने नीतिको मूल धरातल नै छोडेर हिँड्ने नेतृत्व अवसरवादी बन्न पुग्छ।

५. सर्वहारा नेतृत्वको सिद्धान्त

बुर्जुवा व्यवस्थामा नेतृत्व भन्नाले व्यक्तिगत सत्ता, अहङ्कार वा कुनै एक नेताको हुकुमी शासन बुझिन्छ। तर मार्क्सवादी-लेनिनवादी दृष्टिकोणमा नेतृत्व व्यक्तिगत हुँदैन, सामूहिक हुन्छ। यसलाई ‘जनवादी केन्द्रीयता’को सिद्धान्तले बाँधेको हुन्छ:

नीतिको निर्माण गर्दा तल्लो तहदेखि माथिसम्म स्वतन्त्र र व्यापक छलफल हुन्छ। सबै कार्यकर्ता र जनताको राय समेटिन्छ।

व्यापक छलफलपछि बहुमतले नीति पारित गरेपछि त्यसको कार्यान्वयनमा पूर्ण अनुशासन र केन्द्रीयता कायम हुन्छ। अल्पमत बहुमतको मातहत रहन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहन्छ र सम्पूर्ण पार्टी केन्द्रीय समितिको मातहत रहन्छ।

यस सिद्धान्तले नीतिको निर्माणमा सामूहिक विवेक र कार्यान्वयनमा एकताबद्ध नेतृत्व सुनिश्चित गर्छ। यसले व्यक्तिपूजा र निरंकुशतालाई रोक्दै नीतिलाई नेतृत्वभन्दा माथि राख्छ।

नेतृत्वको विचलन र नोकरशाहीकरण

इतिहास साक्षी छ, सही नीति लिएर उदाएको नेतृत्व पनि समयक्रममा विचलित हुन सक्छ। सोभियत संघको विघटन यसको प्रमुख उदाहरण हो। जब नेतृत्व जनता र सर्वहारा वर्गबाट टाढिन्छ, पार्टीभित्र जनवादको घाँटी निमोठिन्छ र नेतृत्वले आफ्नो वर्गीय स्वार्थ फरक देख्न थाल्छ, तब नेतृत्व नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छ।

नेतृत्व सधैं नीतिप्रति जवाफदेही हुनुपर्छ। यदि नेतृत्वले नीतिलाई आफ्नो व्यक्तिगत स्वार्थ वा सत्ता संरक्षणको हतियार बनाउन थाल्यो भने क्रान्ति प्रतिक्रान्तिमा बदलिन्छ। त्यसैले माओले समाजवादी चरणमा पनि वर्ग संघर्ष जारी रहने र विचारलाई निरन्तर शुद्धीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।

नीति र नेतृत्व सिक्काका दुई पाटा हुन्। नीति सैद्धान्तिक धरातल, वैचारिक आधार र रणनीतिक मार्गचित्र हो भने नेतृत्व त्यसलाई भौतिक शक्तिमा रूपान्तरण गर्ने संगठनात्मक हतियार हो।

नीतिविनाको नेतृत्व अन्धो र दिशाहीन हुन्छ, जसले अन्ततः आन्दोलनलाई अराजकता वा सम्झौतावादतर्फ लैजान्छ। नेतृत्वविनाको नीति पंगु हुन्छ, जसले समाजलाई व्यवहारिक रूपान्तरण दिन सक्दैन।

तसर्थ, मजदुर-किसान तथा उत्पीडित वर्गको मुक्तिका लागि सही, वस्तुगत र वैज्ञानिक क्रान्तिकारी नीतिको विकास हुनु र त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सक्ने निष्ठावान, सामूहिक र जनउत्तरदायी सर्वहारा नेतृत्व निर्माण हुनु नै मार्क्सवादी आन्दोलनको सफलताको अनिवार्य सर्त हो।

2026/10/06

लेनिनवादी संगठनात्मक सिद्धान्त

जनवादी केन्द्रीयता कम्युनिष्ट आन्दोलनका नेता लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्त हो। यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ। यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यता अघि सारेको छ।

लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवादी केन्द्रीयताका ठोस विषयहरु सुत्रवद्ध गरेको छ। जनवादी केन्द्रीयताका अनुसार, (१) व्यक्ति संगठनको अधिनस्थ हुन्छ, (२) अल्पमत बहुमतको अधिनस्थ हुन्छ, (३) तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ, (४) पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन्, (५) केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ र (६) महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ भन्ने मान्यता राख्दछ।

लेनिनले संगठनात्मक सिद्धान्तका रुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन्। कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरुमा (१) पार्टीको नीति तथा कार्यक्रम मान्ने, (२) पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने र (३) पार्टीलाई नियमित लेबी तिर्ने रहेका छन्। कडा तथा फलामे अनुशासनमा रहने भएका कारण लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो।

संगठनात्मक सिद्धान्तका आधार

(१) जनवादी केन्द्रीयता :– उक्त सिद्धान्तअन्तर्गत पहिलो र महत्वपूर्ण बुंदा जनवादी केन्द्रीयता हो। जनवादी केन्द्रियताभित्र दुईवटा कुराहरू पर्दछन्, जनवाद र केन्द्रियता। जनवादविनाको केन्द्रीयता वास्तवमा निरंकुशता हुन्छ। केन्द्रियताविनाको जनवाद पनि अराजकतावाद हुन्छ। त्यसैले जनवाद र केन्द्रीयता एक–अर्काका परिपुरक हुन्। न जनवादविना केन्द्रीयताले संगठनलाई राम्रो गर्छ, न केन्द्रीयताविनाको जनवादले पार्टीलाई अनुशासित तुल्याउँछ। यसरी संगठनमा यी दुवै सिद्धान्तको समान महत्व छ।

जनवादको अर्थ जनतन्त्र “प्रजातन्त्र” हो। जनवादभित्र राय प्रकट गर्न पाउने अधिकार, विरोध गर्न पाउने अधिकार, प्रष्ट गर्न पाउने तथा चुन्न र चुनिन पाउने अधिकार आदि पर्दछन्। वास्त्वमा संगठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने अधिकार सबैलाई समान रूपमा हुन्छ। सबैका विचारहरूको निष्कर्ष नै निर्णय हो। त्यसप्रकारको निर्णय नै सही निर्णय हुन्छ। संगठनभित्र आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ। त्यसो नभएर यसो गर्दा के होला भनेर प्रष्ट गर्ने अधिकार पनि जनवादी अधिकार हो। म यो समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष बन्न पाउँ भन्ने अधिकार पनि सदस्यहरूलाई रहन्छ। चुन्न र चुनिन पाउने अधिकार पनि जनवादी अधिकार हो।

यसरी जनवादी अधिकार भनेको आफ्नो मनमा लागेको कुरा संगठनमा खुला हृदयका साथ राख्ने अधिकार हो। अर्का शब्दमा भन्ने हो भने जनवाद भनेको आफ्नो मनमा उब्जेको कुरा खुला दिलले स्वतस्र्फूत रूपमा संगठनमा राख्ने कुरा हो। पार्टी संगठनमा जनवादको खाँचो भोको मान्छेलाई खानाको खाँचो जस्तै हुन्छ। तिर्खा लागेकोलाई पानीको जति आवश्यक छ, ठीक त्यही प्रकारले पार्टी संगठनभित्र जनवादको खाँचो छ। पार्टी संगठनलाई सही रूपले परिचालन गर्नका निम्ति जनवादी अधिकारको खाँचो पर्दछ। यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तभित्र जनवादको धेरै ठूलो महत्व छ। जनवादी अधिकारविना पार्टी संगठन पानीविनाको माछासरह हुन्छ।

यसरी नै केन्द्रीयताको अर्थ कर्तव्यपालन गर्नु हो। हामीले निरपेक्ष रूपमा जनतन्त्र, प्रजातन्त्र वा स्वतन्त्रता खोज्न हुँदैन। निरेपक्ष रूपमा स्वतन्त्रता द्वन्दवादसँग मेल नखाने कुरा हो। त्यसैले केन्द्रीयताको महत्व कम छैन। जनवादसँग केन्द्रीयता स्वतः जोडिन्छ। केन्द्रीयताभित्र निम्न कुराहरू पर्दछन्, व्यक्ति संगठनको मातहतमा हुन्छ, अल्पमत बहुमतको, तल्ला समितिहरू उपल्ला समितिहरूको, सम्पूर्ण समितिहरू केन्द्रीय समितिको अधिनमा र केन्द्रीय समिति पनि सम्मेलन वा महाधिवेशनको अधिनस्त हुनुपर्दछ।

यसरी व्यक्ति कहिल्यै पनि संगठनभन्दा माथि हुन सक्दैन। अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विनाशर्त लागू गर्न पर्दछ। यसरी केन्द्रीयताविना पार्टी संगठनहरू परिचालित हुन सक्दैनन्। केन्द्रीयता भनेको अनुशासन हो। त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ। अधिकार खोज्दा कर्तव्य पालन गर्नुपर्छ।

(२) आत्मालोचना र आलोचना :– संगठनमा सबै सदस्यहरूले क्रमशः आफ्नो गल्ती र कमजोरीहरू बताउनुलाई आत्मालोचना भनिन्छ। आफ्ना कमजोरीहरू आफैद्वारा बैठकमा बताइने सिद्धान्त नै आत्मालोचना हो। यसरी आत्मालोचना गर्दा खुलस्त र नलुकाइकन आफ्ना गल्ती कमजोरीलाई महशुस गर्नुपर्छ। एकपटक आफ्नो कमजोरी बताएपछि त्यस उप्रान्त त्यसप्रकारको कमजोरी गर्नु हुँदैन। मान्छे असल बन्न संगठनलाई राम्रो बनाउन तथा असल समाजका स्थापना गर्न यो सिद्धान्तको ठूलो महत्व छ।

त्यसैगरी आलोचना भनेको संगठनभित्रका सदस्यहरूको गल्ती कमजोरी एकले अर्काको औल्याई दिनु हो। यसरी आलोचना गर्दा साथी रिसाउला कि भनेर होइन, खुला दिलले उसका सबै गल्ती कमजोरीहरू विना संकोच औल्याइदिनु पर्दछ। तर, यसो गर्दा डाहा र प्रतिशोधको भावना राखेर होइन, उसका वास्तविक गल्ती र कमजोरी बताइदिनुपर्छ। साथीलाई सुधार्नका लागि उसलाई गल्ती कमजोरीबाट जोगाउनका निम्ति र वास्तवमा उसलाई सही मार्गमा मार्ग प्रशस्त गराउनका निम्ति नै यो तरीका अपनाइन्छ।

यसरी स्वयं आफ्ना गल्ती कमजोरी बताउने र अर्कोले पनि भूले, लुकाएका कमजोरी बताइदिनाले गल्तीबाट बच्नका लागि, व्यक्ति माथि उठ्नका निम्ति धेरै ठूलो बल पैदा हुनेछ र ऊ असल समाज निर्माणमा योग्य व्यक्ति अवश्य बन्ने छ। यसरी आलोचना र आत्मालोचनाको कसी लगाएपछि असल कम्युनिस्ट बन्न मद्दछ पुग्नेछ। त्यसो गर्दा समाजका धेरै व्यक्तिहरू असल बने भने असल समाज निर्माण हुनेछ। असल समाज भनेको आदर्श समाज हो र आदर्श समाज भनेको न्यायपूर्ण समाज हो।

(३) असल नेता चुन्ने तरीका :– समाज र राष्ट्रलाई सुन्दर र आदर्श बनाउका निम्ति संगठनमा असल व्यक्तिहरू चुनिनु पर्दछ, अर्थात् असल नेतृत्व चयन गर्नुपर्दछ। यसो गर्दा निम्न महत्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ। (१) इमान्दारिता (२) सक्रियता वा निरन्तरता (३) समर्पित भावना (४) रचनात्मक क्षमता वा कार्य दक्षता।

असल व्यक्ति चयन गर्दा पहिलो कुरा इमान्दारिता हो। जो व्यक्ति इमान्दार छ, उसलाई नेतृत्वमा ल्याउँदा पार्टी र क्रान्तिका निम्ति बल पुग्छ। इमान्दारितापछि पार्टीले निरन्तरतालाई प्राथमिकता दिनुपर्छ। आमूल परिवर्तन हुन शताब्दीयौं लाग्न सक्छ। त्यसैले निरन्तर रूपले संगठनमा आजीवन लाग्ने मान्छेलाई चिनेर चुन्न कोशिस गर्नुपर्छ। नेतृत्वमा समर्पित भावना हुनैपर्छ। समर्पित भावनाका साथ संगठनमा लाग्ने नेतृत्वले मात्र संगठनलाई राम्रो बनाउन सक्छ। चौथो कुरा कार्य दक्षता हो। रचनात्मक क्षमता भएको व्यक्तिलाई नेता चयन गर्नुपर्दछ।

यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तको कुरा गर्दा जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, नेतृत्वको चयनको प्रजातान्त्रिक अधिकारको सन्तुलनकारी भूमिकालाई सँगै राखेर बुझ्नुपर्छ। लेनिनवादी संगठनात्मक सिद्धान्तले मात्र कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रिक र अनुशासित राख्न सक्तछ।

住所

Tokyo Minato

電話番号

+818059321249

ウェブサイト

アラート

Marxism study groupsが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー