27/12/2025
जेन–जी जनआन्दोलनपछिको राजनीतिक घटनाक्रम र नयाँ वैकल्पिक शक्ति निर्माणबारे :
ऐतिहासिक जेन-जी जनआन्दोलनपश्चात् विकसित राजनीतिक घटनाक्रमलाई सूक्ष्म निगरानी एवम् संयोजन गर्दै जेन-जी जनआन्दोलनका नेतृत्वदायी समूहहरू नेपाल जेन-जी फ्रन्ट, जेनजी मुभमेन्ट अलायन्स तथा द काउन्सिल अफ जेनजी जिम्मेवारीपूर्वक र सचेत भूमिकामा सक्रिय रहँदै आएको बेहोरा सार्वजनिक जानकारीमा रहेकै छ ।
हामी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताजस्ता संविधानका प्रमुख उपलब्धिको रक्षा गर्दै तिनलाई अझ सुदृढ र उन्नत बनाउने प्रतिबद्धतामा दृढ छौं ।
विगत केही दिनयता नयाँ राजनीतिक समीकरण र साझा वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले निरन्तर राजनीतिक संवाद र प्रयासहरू भइरहेको तथ्य सर्वविदितै छ । यस परिप्रेक्ष्यमा जेन-जी जनआन्दोलनको मर्म, नेपाली जनताका आकाङ्क्षा, शहीदको बलिदान तथा शहीद परिवार एवम् घाइतेहरूको आशालाई केन्द्रमा राखेर स्पष्ट राजनीतिक मार्गचित्र निर्माण हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ । हरेक विकसित राजनीतिक परिदृश्यमा हाम्रा साझा सरोकारका मुद्दामा हामीले जिम्मेवार ढङ्गमा संयुक्त धारणा व्यक्त गर्दै आएका छौं।
नयाँ वैकल्पिक राजनीतिक दल, व्यक्ति तथा समूहहरू र जेन-जी शक्तिहरूबीचको एकता र सहकार्यबाट मात्रै मुलुक र जनताको पक्षमा बलियो, विश्वसनीय र दीगो राजनीतिक शक्ति निर्माण हुनसक्ने कुरामा हामी सबै एकठाउँमा दृढ छौँ । जेन-जी जनआन्दोलनले स्थापित गरेका प्रमुख एजेण्डालाई शिरोपर नगरी निर्माण हुने वा बनेका कुनै पनि राजनीतिक दललाई नेपाली जनताले वास्तविक विकल्पका रूपमा ग्रहण गर्न नसक्ने यथार्थप्रति हामीमा पूर्ण जिम्मेवारीबोध छ ।
जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच सम्पन्न भएको सम्झौताको मर्म र भावनाअनुरूप तयार हुने राजनीतिक मार्गचित्रको आधारमा निर्माण हुने नयाँ राजनीतिक शक्ति नै जेन-जी जनआन्दोलनको जनादेश र नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको ठोस आधार हुनेछ भन्नेमा हामी स्पष्ट छौं ।
जेन-जी जनआन्दोलनलाई औपचारिकता, सहायक शक्ति वा केवल बिकाउ अनुहारको रूपमा टोकनिजमका लागि प्रयोग गर्ने तर यसको नेतृत्व, स्वामित्व र एजेन्डालाई किनारा लगाउने वा निर्णय प्रक्रियाबाट बहिष्कृत गर्ने कुनै पनि प्रयास भएमा त्यसलाई हामी गम्भीर राजनीतिक भूलका रूपमा लिनेछौँ । यस्तो प्रयासले नयाँ वैकल्पिक राजनीतिक शक्तिको वैधता त कमजोर पार्नेछ नै, साथै जनआन्दोलनका सरोकारवाला, शहीद परिवार, घाइते तथा आम आन्दोलनकारीको प्रत्यक्ष प्रतिरोध र अस्वीकारको सामना गर्नुपर्ने खतरा विद्यमान रहन्छ ।
जेन-जी जनआन्दोलन कुनै समूहको अनुकम्पाबाट चल्ने शक्ति होइन भन्ने आजसम्म स्पष्ट भइसकेको छ । यो ऐतिहासिक जनादेश, सङ्घर्ष र बलिदानबाट स्थापित भएको स्वतन्त्र राजनीतिक शक्ति हो । समग्रमा यस आन्दोलन र यसका शक्तिलाई नजरअन्दाज गरेर बनाइने कुनै पनि राजनीतिक संरचना दीगो, विश्वसनीय र स्वीकार्य हुन सक्दैन भन्ने विषयमा हामी सदैव स्पष्ट र अडीग छौं ।
यिनै मूल्य-मान्यताको जगमा अब बन्ने नयाँ राजनीतिक समीकरण देश बनाउने अमूर्त नारामा मात्र सीमित नभई पहिचानसहितको समावेशी प्रतिनिधित्व, अधिकारयुक्त र अर्थपूर्ण सहभागिता, सामाजिक न्याय, सामूहिक नेतृत्व, संरचनागत विभेदको अन्त्य तथा सुसंस्कृत राजनीतिक अभ्यासको वाहक बन्ने विश्वास व्यक्त गर्दै हामी औपचारिक राजनीतिक संवादमा सहभागी हुने निर्णयमा पुगेका छौं ।
धन्यवाद ।