14/07/2026
बीजकको ढाँचा सम्बन्धी सार्वजनिक सूचना
आर्थिक विधेयक, २०८३ बमोजिम विभिन्न वस्तु तथा सेवामा नयाँ शुल्क लागू गरिएको सन्दर्भमा, ती शुल्कको सही रूपमा असुली तथा लेखाङ्कन सुनिश्चित गर्न आन्तरिक राजस्व विभागले मिति २०८३/०३/२६ मा निर्णय गरी सम्बन्धित बीजक (Invoice) को ढाँचा स्वीकृत गरेको छ।
उक्त निर्णयअनुसार २०८३ साल श्रावण १ गतेदेखि देहायका शुल्कहरू असुल गर्दा विभागले तोकेको ढाँचाको बीजक प्रयोग गर्नु अनिवार्य हुनेछः
विलासिता शुल्क: नेपालमा उपभोग हुने पाँच तारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्री मूल्यमा तथा आयातित तयारी मदिराको भन्सार महसुल र अन्तःशुल्क सहितको मूल्यमा।
सीप प्रवर्द्धन शुल्क: सुन, चाँदी तथा तिनका गरगहना एवं वस्तुहरूको बिक्रीमा।
शिक्षा समता शुल्क: निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा।
स्वास्थ्य समता शुल्क: निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा।
यस सम्बन्धी सार्वजनिक सूचना आन्तरिक राजस्व विभागबाट प्रकाशित भइसकेको छ। सम्बन्धित करदाताले विभागले तोकेको बीजकको ढाँचा प्रयोग गरी कानूनी व्यवस्था अनुरूप शुल्क असुल तथा अभिलेखीकरण गर्नुपर्नेछ