09/06/2026
नेवी संघ कोशी कार्यसमितिद्वारा !!!
मा. मुख्यमन्त्रीज्यू
कोशी प्रदेश ,बिराटनगर
विषय: युवा तथा विद्यार्थीमैत्री नीति तथा कार्यक्रम निर्माण गर्ने सम्बन्धमा।
उपर्युक्त सम्बन्धमा, संविधान प्रदत्त शिक्षाको अधिकार सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो भन्ने मान्यताका साथ नेपालको विद्यार्थी आन्दोलनको अग्रणी विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ कोशी प्रदेश कार्यसमितिले प्रदेशभरिका विद्यार्थीहरूको आवाज, अपेक्षा तथा सरोकारहरू यहाँको नेतृत्वमा गठित प्रदेश सरकारसमक्ष प्रस्तुत गर्न चाहन्छ। संघीयता कार्यान्वयनसँगै शिक्षा, युवा तथा सीप विकाससँग सम्बन्धित नीति तथा कार्यक्रमहरूमा प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहेको वर्तमान सन्दर्भमा निम्न विषयहरूमा विशेष ध्यानाकर्षण गराउन चाहन्छौंः
१. शिक्षा क्षेत्रमा लगानी वृद्धि
शिक्षालाई राज्यको पहिलो प्राथमिकता बनाउँदै सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्न विशेष बजेट विनियोजन गरियोस्। गुणस्तरीय, सर्वसुलभ तथा समावेशी शिक्षा सुनिश्चित गर्न प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरियोस्।
२. सार्वजनिक निकायहरूमा पारिश्रमिकसहितको प्रशिक्षार्थी (Paid Internship) कार्यक्रम सञ्चालन
स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारी कार्यालय, स्थानीय तह तथा सार्वजनिक संस्थानहरूमा कार्यानुभव प्राप्त गराउने उद्देश्यले प्रत्येक जिल्लामा पारिश्रमिकसहितको प्रशिक्षार्थी (Paid Internship) कार्यक्रम सञ्चालन गरियोस्। यसबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता तथा रोजगारीसम्बन्धी सीप अभिवृद्धि हुने विश्वास लिएका छौं।
३. सूचना प्रविधि, नवप्रवर्तन तथा युवा उद्यमशीलताको प्रवर्द्धन
डिजिटल युगको आवश्यकता अनुरूप प्रदेशमा सूचना प्रविधि, नवप्रवर्तन, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरियोस्। युवा तथा विद्यार्थीमैत्री नीति तर्जुमा गरी सीप विकास, नवप्रवर्तन र स्वरोजगारका अवसरहरू सिर्जना गर्न विशेष पहल गरियोस्।
४. दिवा खाजा कार्यक्रमको विस्तार तथा गुणस्तर सुधार
हाल कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई आधारभूत तहसम्म विस्तार गरी प्रभावकारी रूपमा सञ्चालन गरियोस्। साथै दिवा खाजाको गुणस्तर सम्बन्धी मापदण्ड कडाइका साथ लागू गरी नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था गरियोस्। बढ्दो महँगीलाई मध्यनजर गर्दै हाल प्रदान गरिँदै आएको दिवा खाजा रकमसमेत वृद्धि गरियोस्।
५. मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारी
प्रत्येक वर्ष मनसुनका कारण बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्बाट जनधनको ठूलो क्षति हुने गरेको सन्दर्भमा प्रदेश सरकारले समयमै प्रभावकारी पूर्वतयारी, जोखिम न्यूनीकरण तथा उद्धार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरियोस्। विद्यालय, क्याम्पस तथा स्थानीय समुदायलाई समेत समेटेर विपद् सचेतना, पूर्वसूचना प्रणाली, राहत सामग्रीको व्यवस्थापन तथा उद्धार संयन्त्रलाई सुदृढ बनाउने नीति तथा कार्यक्रम तर्जुमा गरियोस्। साथै मनसुन प्रभावित विद्यार्थीहरूको शिक्षामा पर्ने असर न्यूनीकरण गर्न आवश्यक विशेष व्यवस्था गरियोस्।
६. यातायात भाडा छुट व्यवस्था स्वतस्फुर्त कार्यान्वयन विद्यार्थीलाई यातायात भाडा छुटको सवालमा विश्वव्यापी मान्यता आत्मसाथ गरी विगत नै सार्वजनिक सवारीमा विद्यार्थीहरुलाई ४५% छुटको व्यवस्था गरिए पनि सम्बन्धित पक्षबाट स्वत स्फुर्त कार्यान्वयन नगरिएको अवस्था रहेको हुँदा कडाईका साथ लागु गरियोस्।
७. अतिरिक्त क्रियाकलाप आयोजनाको प्रवर्द्धन र बजेट व्यवस्था व्यवस्था स्वास्थ्य सुधार शारीरिक तन्दुरुस्ती मानसिक तथा बौद्धिक तथा सिर्जनात्मक क्षमता विकासका लागि खेलकुद नित्य गीत संगीत साहित्य चित्रकला वस्तुकला हस्तकला तथा व्यावहारिक सिप सम्बन्धी अतिरिक्त क्रियाकलापहरु मा सबैले विद्यालय कलेज तथा शैक्षिक प्रतिष्ठानद्वारा आयोजना गर्ने गराउने ऐन कानुन निर्माण तथा नीति तथा कार्यक्रम तर्जुमा गरी कडाईका साथ कार्यान्वयन गरियोस्। उल्लेखित विषयका साथ समुन्नत समाज र समृद्ध मुलुक निर्माण गर्दा विद्यार्थी युवा वर्गलाई योग्य र सक्षम नागरिक बनाउन विभिन्न आयामहरु प्रदेश सरकार स्वयंबाट खोजी पहिचान गरी कोशी प्रदेश सरकारको आब २०७३८४ को नीति कार्यक्रममा आवश्यक बजेटसहित सम्बोधन र प्रभावकारी कार्यान्वयन हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं । धन्यवाद
जय नेपाल