27/10/2026
नेपाल प्रिमियर लिग (NPL) सिजन–३ आजदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको अवसरमा प्रतियोगिताको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताले देशका विभिन्न भूगोल, समुदाय र पृष्ठभूमिका नेपालीलाई एउटै खेल मैदानको भावनात्मक सूत्रमा जोड्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। खेलकुदले भाषा, जाति, धर्म, क्षेत्र र समुदायका सीमाभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको भावना सुदृढ बनाउन मद्दत गर्दछ।
पछिल्लो समय नेपालमा क्रिकेट खेलले हिमाल, पहाड र तराई–मधेसका सम्पूर्ण नेपालीको भावनालाई एउटै सुत्रमा जोड्ने काम गरेको छ। एनपिएल जस्ता राष्ट्रिय स्तरका प्रतियोगिताले उच्च खेल भावनाको विकास गर्दै सम्पूर्ण देशवासीलाई एकता र भाइचाराको सन्देश दिन सफल हुनेछ भन्ने मेरो गहिरो विश्वास छ।
यस प्रतियोगिताले समग्र नेपाली क्रिकेटको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यसले हाम्रा स्वदेशी युवा तथा प्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्न र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउन मद्दत गर्नेछ।
निष्पक्ष प्रतिस्पर्धा, अनुशासन र उत्कृष्ट खेल भावनाको अपेक्षासहित नेपाल प्रिमियर लिग सिजन ३ को पूर्ण सफलताको कामना गर्दै आयोजक, सहभागी सम्पूर्ण स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक टोली र क्रिकेटप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
----
उपेन्द्र यादव
अध्यक्ष
जनता समाजवादी पार्टी, नेपाल