30/07/2026
आज मधेसमा विकसित संवेदनशील परिस्थितिका सम्बन्धमा सम्मानित संसद्को ध्यानाकर्षणका क्रममा: सरकारले स्थानीय तहमा सर्वदलीय संयन्त्र, सबै धर्मका धार्मिक अगुवा, समुदायका प्रतिनिधि तथा नागरिक समाजलाई सहभागी गराई निरन्तर, सार्थक र विश्वासमूलक संवादको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ। सामाजिक विश्वास पुनःस्थापना गर्ने सबैभन्दा प्रभावकारी माध्यम संवाद नै हो। त्यसैले यस प्रक्रियाको नेतृत्व स्वयंम सम्माननीय प्रधानमन्त्रीले गर्दै आफ्नो अभिभावकीय भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न म आग्रह गर्दछु।
हाम्रो सभ्यता र इतिहासले निर्माण गरेको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र आपसी भाइचारालाई अझ सुदृढ बनाउनु आजको साझा दायित्व हो। यस संवेदनशील घडीमा सरकार, सबै राजनीतिक शक्ति, नागरिक समाज तथा सम्पूर्ण नागरिकले उच्च संयमता, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्दै नेपालको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन अग्रसर हुन पनि आग्रह गर्दछु।