12/06/2026
जसपा, नेपालमा परिवर्तन केवल संगठनात्मक तहमा मात्र होइन, राजनीतिक प्रस्तुतिकरण, दृष्टिकोण र नेतृत्व शैलीमा समेत आवश्यक छ। हामीले हिजोको शोषित, उपेक्षित र अधिकारविहीन मधेशलाई संघर्ष, त्याग र बलिदानकै बलमा आजको अवस्थासम्म पुर्याएका हौं। हिजो मधेश पूर्ण रूपमा राज्य संरचनाबाट बहिष्कृत थियो भने आज सीमित रूपमा भए पनि राज्यको विभिन्न तहमा आफ्नो उपस्थिति स्थापित गर्न सफल भएको छ।
तर समयसँगै संघर्षको स्वरूप र परिवर्तनका आवश्यकता पनि बदलिन्छन्। परिवर्तनशील समूह, समाज र संस्थाले मात्र विकासका नयाँ आयामहरू स्थापित गर्छन् र नेतृत्वदायी भूमिकामा रहन्छन्। परिवर्तन आफैंमा प्रकृतिको नियम र विज्ञानको अविरल सिद्धान्त हो। हामीले चाहे पनि वा नचाहे पनि समयको परिवर्तनशील चक्र कहिल्यै रोकिँदैन।
जसपा, नेपाल केवल एउटा राजनीतिक दल होइन। यो मधेशी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम तथा सम्पूर्ण उत्पीडित र शोषित समुदायको संघर्ष, त्याग र बलिदानको इतिहास बोकेको राजनीतिक शक्ति हो। त्यसैले जसपा, नेपालको अन्त्य होइन, सुधारसहित पुनर्निर्माण आवश्यक छ। यसले परिवर्तनको नयाँ शैली, नयाँ सोच, आधुनिक व्यवस्थापन र दूरदर्शी नेतृत्वलाई आत्मसात् गर्नुपर्छ।
हामीले जसपा, नेपाललाई वैचारिक, सैद्धान्तिक र राजनीतिक रूपमा सबल नेताहरूको थलो बनाउँदै अग्रजहरूको योगदान, ज्ञान र अनुभवलाई नयाँ पुस्तासम्म विस्तार गर्न सक्नुपर्छ। जसपा, नेपाललाई हरेक उत्पीडित समुदायको साझा राजनीतिक घर र नेपाललाई सामाजिक लोकतन्त्रको मार्गमा अगाडि बढाउन सक्ने संस्थागत शक्तिका रूपमा विकास गर्न सकिन्छ। तर त्यसका लागि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ प्रतिबद्धता आवश्यक छ।
यदि हामी विभाजित मानसिकता, व्यक्तिगत स्वार्थ र साना अवसरवादभन्दा माथि उठ्न सकेनौं भने सामाजिक लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक अर्थतन्त्र, विभेदरहित समाज, साझा विकास तथा सबैका लागि सम्मान र अवसरजस्ता न्यायपूर्ण अवधारणाहरूको आधार निर्माण गर्न सक्ने छैनौं। परिणामस्वरूप हामी इतिहासले दिएको महत्वपूर्ण अवसरबाट वञ्चित हुनेछौं।
आजको समय चुनौतीसँगै अवसरको पनि समय हो। नेपालमा नेपाली समाज, संस्कृति र यथार्थअनुकूल सामाजिक लोकतन्त्रलाई संस्थागत गर्न संगठित प्रयास र सक्षम नेतृत्व आवश्यक छ। नेपाली जनताको समग्र विकास, सम्मानपूर्ण जीवन र साझा समृद्धि केवल अनियन्त्रित पूँजीवाद वा कठोर साम्यवादबाट सम्भव देखिएको छैन। त्यसैले सामाजिक लोकतन्त्रको व्यापक बहस, प्रचार र संस्थागत विकासको नेतृत्व जसपा, नेपालले लिनुपर्छ।
यदि हामी पुरानै सोच, व्यक्तिगत महत्वाकांक्षा र साना राजनीतिक अवसरहरूको खोजीमै सीमित रह्यौं भने जनताको हित, नेपालको भविष्य निर्माण र इतिहासप्रतिको हाम्रो जिम्मेवारीबाट अलग हुँदै जानेछौं। अन्ततः हामी स्वयं कमजोर बन्दै विलुप्तिको दिशामा अघि बढ्नेछौं।
समयअनुसार आवश्यक परिवर्तनलाई समयमै आत्मसात् गर्न सक्नु नै आजको अपरिहार्य आवश्यकता हो। यसप्रति हुने ढिलाइ हाम्रो लागि आत्मघाती सावित हुन सक्छ।
जसपा, नेपालको नयाँ आवाज
"Social Democracy: Freedom with Equality, Growth with Justice, Prosperity for All."
"सामाजिक लोकतन्त्र: समानता सहित स्वतन्त्रता, न्याय सहित विकास, सबैका लागि समृद्धि।"
हाम्रो विचार बलियो छ, नवीन छ र नेपालको भविष्यका लागि अत्यन्त आवश्यक छ। हामी विचार, सिद्धान्त र नीतिका हिसाबले कमजोर छैनौं; समस्या हामीले आफ्नै शक्ति, विचार र सम्भावनालाई पर्याप्त सम्मान र संगठित गर्न नसक्नुमा छ।
पार्टीभित्र केही अवसरवादी, आपराधिक प्रवृत्तिका व्यक्ति तथा अराजनीतिक समूहहरूको प्रभावले संगठनलाई कमजोर बनाउने प्रयास भइरहेको छ। यदि पार्टी नेतृत्व र इमानदार जसपा, नेपालका नेता–कार्यकर्ताहरूले दृढतापूर्वक यस्ता प्रवृत्तिहरूलाई परास्त गर्न सके भने हाम्रो संघर्ष, योगदान र बलिदानको इतिहास युगौंसम्म जीवित रहनेछ।
नयाँ ऊर्जा, नयाँ आवरण र नयाँ दृष्टिकोणसहित जसपा, नेपाललाई पुनः सशक्त, संगठित, निर्णायक र नेतृत्वदायी शक्तिका रूपमा निर्माण गर्न सकिन्छ। त्यसमार्फत नेपालका सम्पूर्ण उत्पीडित र शोषित समुदायसँग सम्मानजनक सहकार्य गर्दै हामी केवल समृद्ध नेपाल मात्र होइन, खुसी, स्वस्थ, आत्मनिर्भर, सुरक्षित र न्यायपूर्ण नेपाल निर्माण गर्न सक्छौं।
धन्यवाद।
मनिष यादव