15/08/2026
राष्ट्रिय स्वतन्त्र पार्टी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ वडा समितिको आयोजनामा वडाअन्तर्गत रहेको झुल्कोपाखा सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं. २ का माननीय सांसद सुनिल केसी, रास्वपा काठमाडौँ जिल्ला सभापति राजा शाक्य, प्रदेश सदस्य रमेश ढकाल, प्रदेश सदस्य प्रणिल नेपाली, क्षेत्रीय सभापति सुमन कार्की, कागेश्वरी मनोहरा नगर समिति सभापति राजकुमार न्यौपाने लगायत पार्टीका नेता, सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूसँगै अन्य राजनीतिक दलमा आबद्ध स्थानीय व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सांसद सुनिल केसी, जिल्ला सभापति राजा शाक्य, प्रदेश सदस्य रमेश ढकाल र नगर समिति सभापति राजकुमार न्यौपानेले वृक्षारोपण तथा वन संरक्षणको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले वातावरण संरक्षण कुनै एक व्यक्ति वा राजनीतिक दलको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
वृक्षारोपणले वायु प्रदूषण कम गर्न, अक्सिजनको मात्रा बढाउन, माटोको क्षय रोक्न, पानीका स्रोत संरक्षण गर्न तथा जैविक विविधता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। बढ्दो सहरीकरणसँगै कागेश्वरी मनोहरा क्षेत्रमा हरियाली संरक्षण र विस्तारको आवश्यकता अझ बढ्दै गएको छ।
राजनीतिक आस्थाभन्दा माथि उठेर वातावरण र भावी पुस्ताका लागि गरिएको यो साझा प्रयासले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ। उत्साहजनक सहभागितासहित सम्पन्न वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।