11/03/2026
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अहिले भइरहेको बहस समानुपातिकमा को पठाउने भन्ने विषय होइन। त्यो विषय त चुनावअघि नै टुंगिएको हो। क्रमसंख्या अनुसार एक नम्बर, दुई नम्बर, तीन नम्बर गर्दै व्यक्तिको नामसहितको सूची हामीले पहिल्यै निर्वाचन आयोगमा बुझाइसकेका छौँ। अहिले त्यसै विषयलाई लिएर अनावश्यक बहस गर्नुको कुनै अर्थ छैन।
अहिलेको साँचो बहस भनेको यो हुनुपर्छ हाम्रो पार्टीको मत किन घट्यो? समानुपातिक र प्रत्यक्ष दुवै तर्फ जनताले किन हामीप्रति अपेक्षाकृत कम विश्वास देखाए? के हाम्रो राजनीति जनताको वास्तविक आवश्यकता र अपेक्षासँग जोडिन सकेन? कि हामी आफैँले आत्मसमीक्षा गर्नुपर्ने ठाउँमा पुगिसकेका छौँ?
राजा र धर्मको मुद्दा उठाउनु गलत होइन, तर जनताले आफ्नो दैनिक जीवनमा भोगिरहेका समस्या रोजगारी, महँगी, शिक्षा, स्वास्थ्य, सुशासन यी विषयमा हाम्रो प्रस्तुति कति प्रभावकारी भयो भन्ने कुरामा गम्भीर समीक्षा हुन जरुरी छ। जनताले विश्वास नघटाएको भए परिणाम यस्तो आउने थिएन। त्यसैले यथार्थ स्वीकार गरेर सुधारतर्फ अघि बढ्नु नै जिम्मेवार राजनीति हो।
यसबीच प्रवक्ता मा. ज्ञानेन्द्र साहीज्यूले एक सिट जितेर हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सफल हुनुभएको छ। त्यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक सबैलाई मेरो स्पष्ट आग्रह छ , अहिले समानुपातिकमा को पठाउने भनेर सिफारिस गर्ने समय होइन। त्यो प्रक्रिया पहिल्यै समाप्त भइसकेको विषय हो। अहिले आवश्यक छ भने पार्टी किन कमजोर भयो, जनताको विश्वास कसरी फर्काउने र पार्टीलाई कसरी पुनः मजबुत बनाउने भन्ने विषयमा खुला, इमानदार र कठोर आत्मसमिक्षा गर्ने, पार्टीभित्र सत्य बोल्न डराउनु हुँदैन।
सत्यबाट भागेर पार्टी बलियो हुदैन ।