15/10/2025
शेरबहादुर देउवाको सम्बोधनमा कुनै अपुग देखिएन। उनले जेनजी आन्दोलनका सकारात्मक मागको समर्थन मात्र गरेनन्, आन्दोलनका क्रममा मृ'त्यु भएका मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरे।
आफ्नै निजी निवासमा आ'गज'नी गर्ने, आफूमाथि र श्रीमतीमाथि आ'क्रम'ण गर्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। सरकारी कार्यालय, पार्टी कार्यालय र नेताका घरमा भएको आ'गजनीलाई नेपालको इतिहासकै डरलाग्दो दिनको रूपमा लिपिबद्ध गर्नुपर्ने भने। आन्दोलनमा भएको घुसपैठ र २४ गतेको वि'ध्वंसको छानविनको माग पनि गरे।
आफुलाई बचाउने सुरक्षाकर्मी र कार्यकर्ताप्रति खुलेर प्रशंसा गरे, राष्ट्रपतिले प्रतिकूल परिस्थितिमा संविधान बचाउन खेलेको भूमिकाको सराहना गरे र उच्च मनोबल कायम गर्न देशका सबै निकायलाई आह्वान गरे।
राजनीतिक दलहरूबीच संवाद र सहकार्यको आवश्यकता पनि महसुस गरे। समयको माग अनुसार आगामी महाधिवेशनबाट सक्रिय राजनीतिबाट विदा लिने उद्घोषसहित तत्कालका लागि नेतृत्वमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई सुम्पिए।
समग्रमा, उनले आफुलाई परिपक्व राजनीतिज्ञको परिचय दिए।
उनीसँग राजनीतिक रूपमा धेरै असहमतिहरू हुन सक्छन्, तर आजको उनको व्यवहार र बोलीले उनलाई साँच्चिकै राष्ट्रका एक जिम्मेवार अभिभावकका रूपमा प्रस्तुत गर्यो। चाहे भने उनले पार्टी कार्यकर्ताहरूलाई उकासेर सरकारविरुद्ध चेतावनी दिन सक्थे, आन्दोलन घोषणा गर्न सक्थे, वा पद नछोड्ने अडान लिन सक्थे। तर उनले त्यो बाटो रोजेनन् - बरु शान्त, संयमित र देशप्रति उत्तरदायी नेता बनेर देखा परे।