08/08/2026
बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिन थालेको छ। एउटा ग्यास सिलिन्डर पाउन दुई–तीन दिनसम्म कुर्नुपर्ने, घन्टौँसम्म लामो लाइनमा बस्नुपर्ने र बल्लतल्ल ग्यास पाएर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ।
एकातिर आम नागरिक ग्यासको खोजीमा बिहानदेखि बेलुकासम्म लाइनमा बसिरहेका छन्। अर्कोतिर नेपाल आयल निगमले बजारमा ग्यासको अभाव छैन भनिरहेको छ। यदि साँच्चिकै अभाव छैन भने प्रश्न स्वाभाविक रूपमा उठ्छ।त्यो ग्यास कहाँ छ?
जनताले अभाव महसुस गरिरहेका छन्, बजारमा सहज रूपमा ग्यास पाइरहेका छैनन्, व्यापारीकहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ आउँछ। त्यसो भए समस्या कहाँ छ?यदि आपूर्ति पर्याप्त छ भने वितरण प्रणालीमा समस्या छ कि?यदि वितरण प्रणाली ठीक छ भने व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी वा मनपरी गरिरहेका छन् कि?वा वास्तवमै आयल निगमले भनेजस्तो बजारमा ग्यास पर्याप्त भएर पनि जनता मात्रै दुःख पाइरहेका हुन्?यी प्रश्नको जवाफ सरकारले जनतालाई दिनुपर्छ।ग्यास कुनै विलासिताको वस्तु होइन। यो प्रत्येक नेपाली परिवारको दैनिक चुलोसँग जोडिएको अत्यावश्यक वस्तु हो। बिहानको खाना पकाउन होस् वा बेलुकाको चुलो बाल्न।ग्यास नहुँदा त्यसको प्रत्यक्ष असर घरपरिवारको दैनिकीमा पर्छ।दैनिक ज्यालादारी गरेर परिवार पाल्ने नागरिक तीन दिन ग्यास खोज्दै लाइनमा बस्न बाध्य हुँदा उसको त्यो तीन दिनको समय र श्रमको मूल्य कसले बुझ्ने?
बालबालिका, वृद्धवृद्धा र बिरामी भएका घरमा ग्यास नहुँदा कस्तो समस्या पर्छ भन्ने कुरा वातानुकूलित कोठामा बसेर नीति बनाउनेहरूले होइन, चुलो बाल्न ग्यासको सिलिन्डर बोकेर पसल–पसल धाउने आम नागरिकले महसुस गरिरहेको छ।सरकारले जनताको दुःखलाई सामान्य विषय नठानोस्।ग्यासको अभाव छैन’ भनेर विज्ञप्ति निकाल्नु मात्रै पर्याप्त छैन।यदि अभाव छैन भने बजारमा सहज रूपमा ग्यास उपलब्ध गराऊ।कहाँ–कहाँ ग्यास पुगेको छ, कति सिलिन्डर वितरण भयो, कहाँ समस्या छ।त्यसको प्रभावकारी अनुगमन गर।कृत्रिम अभाव, कालोबजारी, लुकाउने वा महँगोमा बेच्ने प्रवृत्ति छ भने तत्काल कारबाही गर।
जनताले सरकारसँग कुनै ठूलो माग गरेका छैनन्।
उनीहरूलाई केवल आफ्नो घरको चुलो नियमित बाल्न पाउने वातावरण चाहिएको हो।सरकार जनताको अभिभावक हो। जनतालाई ‘खाना नपकाऊ’ भन्न मिल्दैन, न त ग्यासको अभावलाई बेवास्ता गरेर बस्न मिल्छ।
त्यसैले बालेन सरकार, आम नेपाली जनताको भान्सासँग जोडिएको यो समस्यालाई गम्भीरतापूर्वक लिनुहोस्। राजनीतिक बहस र भाषणभन्दा पहिले जनताको चुलो बलिरहेको छ कि छैन भन्ने कुरा हेर्नुहोस्।जनताको भान्सा बन्द भयो भने विकासका ठूला कुरा पनि अर्थहीन हुन्छन्।हामीलाई आश्वासन होइन, नियमित ग्यास चाहिएको छ।हामीलाई भाषण होइन, सहज आपूर्ति चाहिएको छ।हामीलाई दोषारोपण होइन, समाधान चाहिएको छ।
आम नेपाली जनताको पीडा बुझेर जिम्मेवार बनौँ। सरकार, सम्बन्धित निकाय र व्यवसायी सबैले जनताको दैनिक जीवनप्रति उत्तरदायी बन्नैपर्छ।