05/09/2022
‘मूलवासी’ नेतालाई भावपूर्ण श्रद्धाञ्जलि
मोहन काजी
राजनीतिमा पद र अवसरको दौडभन्दा निकै टाढा रहेर पनि केही व्यक्ति समाजमा चिरकाल पर्यन्त चर्चा र स्मृतिमा बाँचिरहन्छन् । त्यस्तै एउटा चर्चित राजनीतिक हस्ती थिए–डा. गोपाल गुरुङ । जनाधारको हिसावले सानो भए पनि उनले स्थापना गरेको मङ्गोल नेशनल अर्गनाइजेसन (एमएनओ)को राजनीतिक दर्शन अरुभन्दा भिन्न र प्रभावकारी रहेको छ । जीवनभर राज्यको लाभको पदमा नपुगेका तर निरन्तर उत्पीडित जनतप्काको पक्षमा कलम र राजनीति दुबै मोर्चाबाट नेतृत्व प्रदान गरिरहेका उनको योगदानको मूल्याङ्न गर्न कञ्जुस्याइँ गरिनु हुँदैन ।
२०४६ सालपछि ‘सेतामगुराली’को हाउँगुजी निकै मच्चिएको थियो । खासगरी क्षेत्री बाहुनविरुद्ध अभियानको रुपमा अथ्र्याउने प्रयास गरिएको ‘सेतामगुराली’को संस्थापक नै थिए उनी । तर उनले औपचारिक रुपमा कहिल्यै आफुलाई जातिबादी नेता स्वीकारेनन् । एमएनओलाई राजनीतिक शक्तिको रुपमा स्थापना गरे र चिनाए पनि । यिनै व्यक्तित्व अब भौतिक रुपमा रहेनन् । रक्त क्यान्सरसँग सङ्घर्ष गर्दागर्दै शुक्रवार ८१ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा उनको देहावसान भयो ।
दार्जीलिङमा जन्मेर इलामलाई कर्मथलो बनाएका एमएनओ नेता गुरुङले जीवनभर शोषित पीडित आदिवासी र जनजातिको राजनीतिक अधिकारका लागि ‘मूलवासी’को नाममा सङ्घर्ष गरिरहे । पञ्चायतकालीन कालरात्रि होस् वा २०४६ र २०६२ पछिको परिवेश, उनी आफ्नो अभियानमा अविचलित रहेका थिए । उनले लेखेका पुस्तक पञ्चायतकालमा प्रतिबन्धित थिए । उनका खरो विचार र स्वतन्त्रतामुखी विश्लेषणले आम जनतामा गणतान्त्रिक चेतना भर्न सहयोग पुर्याएको मानिन्छ । गणतन्त्रका हिमायती उनी प्रजातन्त्र र लोकतन्त्रकालमा समेत राज्यको मूलप्रवाहमा भने समेटिन सकेनन् । उनको चरित्र सर्वकालीन विद्रोहीको रुपमा प्रकट भयो ।
नेपालको गणतान्त्रिक एवम् जनजाति आन्दोलनलाई उठाउन अथक योगदान पुर्याएका उनलाई अहिलेको दलगत सङ्कीर्ण राजनीति हावी भएको परिवेशमा कति सम्झना र सम्मान हुन्छ भन्न कठिन छ । कतिपय उग्र जातिवादी व्यवहार र नीतिका कारण उनी आलोचनाका पात्र नबनेका होइनन् । तर, इतिहासले उनका सकारात्मक र नकारात्मक योगदानको लेखाजोखा राखेकै छ । त्यागी, सङ्घर्षशील र विद्रोही चेत भएका एक जना इमान्दार नेताको रुपमा उनी सम्झनलायक छन् । यसका लािग उनको राजनीतिक दल र दर्शनसँग विमति राख्नेहरू समेत सहमत हुन जरुरी हुन्छ । भावपूर्ण श्रद्धाञ्जलि !