24/08/2026
हे मरियम, हाम्रो यात्रामा मुक्ति र आशाको चिन्ह बनी सधैँ चम्किरहनुहोस्। हे रोगीहरूको स्वास्थ्य, क्रूसको पाउमा येशूको दुःखमा सहभागी भई विश्वासमा अडिग रहनुभएकी माता, हामीलाई आफ्नो संरक्षणमा राख्नुहोस्।
हाम्रा दुःख, आवश्यकता र परीक्षामा हाम्रो साथ दिनुहोस्, र कानाको विवाहमा झैँ हाम्रो जीवनमा पुनः आनन्द र उत्सव ल्याइदिनुहोस्।
हे दिव्य प्रेमकी माता, पिताको इच्छाअनुसार चल्न र येशूले सिकाउनुभएको मार्गमा हिँड्न हामीलाई सहायता गर्नुहोस्। क्रूसद्वारा पुनरुत्थानको आनन्दतर्फ हामीलाई डोर्याउनुहोस्।
हे पवित्र परमेश्वरकी माता, हामी तपाईंको संरक्षणमा शरण लिन्छौँ। हाम्रा विन्तीहरूलाई अस्वीकार नगर्नुहोस्, तर हरेक विपत्तिबाट हामीलाई बचाउनुहोस्। हे गौरवशाली र धन्य कन्या मरियम, हाम्रो लागि प्रार्थना गर्नुहोस्। आमेन।