08/04/2026
बिजनबारी, दार्जीलिङ | ८ अप्रिल
दार्जीलिङ विधानसभा अन्तर्गत बिजनबारी बजारमा आज भारतीय जनता पार्टी (भाजपा) तथा गठबन्धन दलहरूको एक महत्वपूर्ण चुनावी सभा पुल–बिजनबारी गोक मण्डल अध्यक्षको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त सभामा दार्जीलिङका लोकसभा सांसद राजु बिष्ट, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य आर.सी. गुरुङ, भाजपा जिल्ला अध्यक्ष सन्जीव लामा, दार्जिलिङ विधानसभाका उम्मेदवार नोमन राई, गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य नरेन्द्र काम्बाङ तथा गोर्खा जनमुक्ति नारी मोर्चाकी प्रमुख आशा गुरुङ, क्रमाकपा अनि गोरानिमोका प्रतिनिधिहरु, मंडल अध्यक्षहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा पुल–बिजनबारी क्षेत्रको समग्र विकास, जनआकांक्षा पूरा गर्ने प्रतिबद्धता तथा आगामी निर्वाचनमा गठबन्धन उम्मेदवारलाई विजयी गराउने आह्वान गरियो। कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो, जसले जनसमर्थन स्पष्ट रूपमा देखाएको छ।
कार्यक्रमको सञ्चालन अरुण प्रधान र रेश्मा गुरुङले गरेका थिए भने स्वागत मन्तव्य भाजयुमो अध्यक्ष नीरज राईले राखेका थिए। सभालाई भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सन्जीव लामा, गोरामुमो बाट आर.सी. गुरुङ, गोजमुमो बाट नरेन्द्र काम्बाङ, गोजमुमो अध्यक्ष बिमल गुरुङ, उम्मेदवार नोमन राई तथा दार्जीलिङ सांसद राजु बिष्टले सम्बोधन गरेका थिए।