30/05/2026
प्रेस विज्ञप्ति
मिति: 30/05/2026
स्थान: सुम्बुक, नाम्ची जिल्ला
सिटिजन एक्सन पार्टी–सिक्किमको जिल्ला स्तरीय कार्यकर्ता सभा नाम्ची जिल्लाको मल्ली निर्वाचन क्षेत्रअन्तर्गत सुम्बुकको थर्पु वार्डमा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।
सभालाई सम्बोधन गर्दै वक्ताहरूले लोकतन्त्र अभ्यास गरेको ५१ वर्षपछि पनि राज्यवासीहरूले वर्तमान सरकारको कार्यशैलीका कारण लोकतान्त्रिक अधिकारहरू कमजोर भएको अनुभूति गरिरहेको बताए। उनीहरूले राज्यको अव्यवस्थित प्रशासन, ग्रामीण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, राज्यकोषीय संकट तथा स्वास्थ्य सेवाको निराशाजनक अवस्थाप्रति चिन्ता व्यक्त गरे। साथै, आम नागरिकमाथि अन्याय हुँदा सरकारले आफ्ना कमजोरी लुकाउन उच्चस्तरीय समिति गठन गरी पीडितलाई न्यायबाट वञ्चित राख्ने प्रयास गरिरहेको आरोप लगाए।
सभालाई कमला राई, गोपी चौहान, भीम सुन्दास, महेश राई, बिना शर्मा, देवराज राई, बिमल खरेल, किरण जिम्बा, स्टीफन गुरुङ, दीपेन्द्र राईलगायत पार्टीका नेताहरूले सम्बोधन गरेका थिए।
अध्यक्षीय सम्बोधनका क्रममा गणेश कुमार राईले सिटिजन एक्सन पार्टी–सिक्किम जनताको गरिमा र भविष्यको रक्षा गर्न स्थापना गरिएको पार्टी भएको बताए। उनले अवहेलित, अन्यायपीडित तथा उपेक्षित नागरिकहरूको पक्षमा उभिने, सुशासन स्थापना गर्ने, समान न्याय सुनिश्चित गर्ने तथा नातावाद र परिवारवादको अन्त्य गरी युवाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यसहित पार्टीको स्थापना भएको जानकारी दिए।
उनले विपक्षी दललाई सानो स्तरको कार्यकर्ता सभा आयोजना गर्न तथा माइक प्रयोग गर्न समेत अनुमति नदिनु सत्तारूढ दल सिटिजन एक्सन पार्टी–सिक्किमसँग डराएको प्रमाण भएको दाबी गरे। साथै, राजनीतिक विकृतिका कारण राज्यवासीहरूले दुःख भोग्नुपरेको उल्लेख गर्दै दादागिरी र लोकतन्त्रविरोधी प्रवृत्तिको अन्त्य गरी विधि र कानुनअनुसार चल्ने सरकार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार सिटिजन एक्सन पार्टी–सिक्किम वैचारिक धरातलमा उभिएको संगठन हो, जसले आम जनतालाई प्रेरणा र नेतृत्व प्रदान गर्ने लक्ष्य राखेको छ। लोकतन्त्र स्थापनापछि केवल पार्टी र नेताहरू मात्र होइन, अब जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको उनले बताए। तानाशाही र हिंसात्मक राजनीतिले जनताको हित नगर्ने तथा त्यस्तो प्रवृत्तिले राज्यको अधोगति निम्त्याउने चेतावनी समेत उनले दिए।
राज्यवासीहरूले ग्यास सिलिन्डरको समस्या भोगिरहेको वर्तमान अवस्थामा अध्ययनरत विद्यार्थी तथा आम नागरिकलाई निःशुल्क विद्युत् अनि इन्डक्सन उपलब्ध गराउने सुझाव पनि उनले प्रस्तुत गरे।
अन्त्यमा, गणेश कुमार राईले सिक्किमका जनतालाई सशक्त बनाउन तथा सकारात्मक राजनीतिको वात पक्षमा निर्भीक रूपमा अघि आउन आह्वान गरे।
आर.पी. गुरुङद्वारा सञ्चालन गरिएको उक्त सभामा स्वागत मन्तव्य कमला राईले राखेकी थिइन् भने धन्यवाद ज्ञापन दिवस गुरुङले गरेका थिए।
जिग्मी डी ०भुटिया
सचिब, प्रचारप्रसार परिषद
सिटिजन एक्सन पार्टी-सिक्किम