21/05/2026
प्रेस विज्ञप्ति
अखिल सिक्किम सरकारी वाहन चालक संगठन
मुख्यालय : ताशी लिङ सेक्रेटेरियट, गान्तोक
मिति : २१/०५/२०२६
हालै सामाजिक सञ्जालमार्फत मिस्टर जोजो नामक व्यक्तिद्वारा सरकारी वाहनको दुरुपयोग तथा सरकारी चालकहरूलाई घरेलु कार्यमा लगाइने विषयलाई लिएर “सरकारले केही गरेको छैन” भन्दै झट्टै नयाँ नोटिफिकेशन निकाल्नुपर्ने भनी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति अखिल सिक्किम सरकारी वाहन चालक संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।
यस सम्बन्धमा सम्पूर्ण तथ्य र वास्तविकता स्पष्ट पार्न चाहन्छौं कि अखिल सिक्किम सरकारी वाहन चालक संगठनले सरकारी साधनको दुरुपयोग, अनधिकृत व्यक्तिद्वारा सरकारी गाडी चलाउने कार्य तथा चालकहरूको मर्यादा र सुरक्षासँग जोडिएका विषयलाई लिएर मिति २३/०९/२०२४ मा तत्कालीन मुख्य सचिव, सिक्किम सरकार समक्ष आधिकारिक रूपमा लिखित पत्राचार गरेको थियो।
सोही पत्रमा उठाइएका विषय र संगठनको मागलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सिक्किम सरकार, गृह विभागले मिति ३०/०९/२०२४ मा आधिकारिक सर्कुलर जारी गरी सरकारी वाहनको प्रयोग सम्बन्धमा कडा निर्देशन तथा स्पष्ट आदेश जारी गरिसकेको कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौं। उक्त सर्कुलरमा सरकारी वाहनको दुरुपयोग रोक्न, अनधिकृत व्यक्तिद्वारा वाहन सञ्चालनमा प्रतिबन्ध लगाउन, चालकबाहेक अन्य व्यक्तिद्वारा सरकारी वाहन प्रयोग भए कारबाही गरिने लगायतका महत्वपूर्ण प्रावधानहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ।
यसर्थ, कुनै पनि विषयमा अध्ययन, अनुसन्धान तथा आधिकारिक तथ्य नबुझी सामाजिक सञ्जालमार्फत गैरजिम्मेवार ढंगले बयान दिँदै वर्षौँदेखि अधिकारी वर्ग र सरकारी वाहन चालक वर्गबीच कायम रहेको नङ र मासुको सम्बन्धलाई बिथोल्ने प्रयास गर्नु अत्यन्त दुर्भाग्यपूर्ण र गैरजिम्मेवार कार्य भएको संगठन ठहर गर्दछ।
यदि कसैसँग सरकारी वाहनको दुरुपयोग, चालकमाथि अन्याय वा घरेलु कार्यमा बाध्य पारिएको सम्बन्धी कुनै ठोस प्रमाण, तथ्य वा आधिकारिक विवरण छ भने त्यसलाई सार्वजनिक गर्न वा सम्बन्धित निकाय तथा संगठनमा पेश गर्न सकिन्छ। तर कसैले फोन गरेर सुनाएको भरमा, कुनै अनुसन्धान नगरी, वास्तविकता नबुझी सामाजिक सञ्जालमा सार्वजनिक रूपमा आरोप लगाइनु उचित होइन।
हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि सरकारी वाहन चालकहरूको धेरैजसो समस्या र गुनासाहरू हाम्रा आदरणीय तथा वरिष्ठ अधिकारी वर्गबाटै समाधान हुँदै आएका छन्। गम्भीर विषयहरूमा सरकार स्वयंले आवश्यक कदम चाल्दै आएको छ। त्यसैले संवेदनशील विषयहरूमा सम्पूर्ण अध्ययन गरेर मात्र सार्वजनिक अभिव्यक्ति दिन सम्पूर्ण सरकारी वाहन चालक संगठनको तर्फबाट सम्बन्धित व्यक्ति लाई आग्रह गर्दछौं।
साथै, कुनै चालक वर्गलाई वास्तवमै अन्याय, अत्याचार वा कार्यस्थलमा अपमानजनक व्यवहार भइरहेको छ भने सम्बन्धित चालकहरूले आफ्नो गुनासो सामाजिक सञ्जालमा प्रचार गर्नुको सट्टा संगठनमा लिखित रूपमा बुझाउन सक्नुहुनेछ। संगठन सदैव चालकहरूको हक, अधिकार, सम्मान र सुरक्षाको पक्षमा दृढतापूर्वक उभिएको छ र आगामी दिनहरूमा पनि रहनेछ।
जथाभावी सामाजिक सञ्जालमा बोल्ने व्यक्तिहरूलाई कुनै अध्ययन वा तथ्यगत पुष्टि नगरी भ्रामक विषयवस्तु उपलब्ध गराउने कार्य पनि गैरजिम्मेवारपूर्ण भएको संगठन ठहर गर्दछ। यस प्रकारका गतिविधिहरूले भविष्यमा सरकारी चालकहरूको कार्यसम्पादन, संगठनात्मक समन्वय तथा अधिकारी–चालक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भएकाले सम्पूर्ण चालक वर्गलाई सचेत तथा खबरदारी गराइन्छ।
यसैले, यदि कुनै समस्या, अन्याय वा गुनासो छ भने सिधै संगठनलाई सम्पर्क गर्न सम्पूर्ण सरकारी वाहन चालक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्दछौं। अनावश्यक सामाजिक सञ्जाल प्रचार, अपुष्ट आरोप तथा गैरजिम्मेवार अभिव्यक्तिले समाधानभन्दा बढी विभाजन सिर्जना गर्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरिन्छ।
अन्त्यमा, अखिल सिक्किम सरकारी वाहन चालक संगठन सदैव सरकारी वाहन चालकहरूको सम्मान, अधिकार, सुरक्षा तथा मर्यादाको पक्षमा एकजुट भएर उभिने प्रतिबद्धता व्यक्त गर्दछ।
छोपेल दोर्जी भोटिया
( अध्यक्ष)
अखिल सिक्किम सरकारी वाहन चालक
संघ गान्तोक, सिक्किम।