04/08/2026
DI Fund भूमिको दीर्घकालीन समाधानको माग गर्दै गोरखा जनमुक्ति मोर्चाद्वारा ज्ञापनपत्र, Thinkers for Kalimpong लाई पनि एकताबद्ध हुन आह्वान
कालिम्पोङ, ४ अगस्ट : गोरखा जनमुक्ति मोर्चा (GJM) कालिम्पोङ जिल्ला समितिले आज जिल्ला अधिकारी (DM) महोदयाको अनुपस्थितिमा अतिरिक्त जिल्ला अधिकारी (ADM) महोदयलाई भेट गरी DI Fund भूमिसम्बन्धी समस्याको स्थायी तथा न्यायोचित समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
भेटका क्रममा जिल्ला समितिले वर्षौँदेखि DI Fund क्षेत्रमा बसोबास गर्दै आएका हजारौँ परिवारले भोग्दै आएको भूमि स्वामित्वसम्बन्धी समस्यालाई गम्भीरतापूर्वक लिई यसको शीघ्र र दीर्घकालीन समाधानका लागि प्रशासनले आवश्यक पहल गर्नुपर्ने माग राखेको जनाएको छ।
यस अवसरमा गोरखा जनमुक्ति मोर्चा कालिम्पोङ जिल्ला समितिले Thinkers for Kalimpong प्रति पनि विशेष आह्वान गरेको छ। समितिका अनुसार DI Fund भूमिको मुद्दालाई सुरुवाती चरणदेखि नै उठाएर सम्बन्धित निकायसम्म पुर्याउन तथा जनचेतना फैलाउन उक्त संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
जिल्ला समितिले जारी गरेको अपिलमा DI Fund को मुद्दा कुनै एक राजनीतिक दल वा संस्थाको मात्र नभई सम्पूर्ण कालिम्पोङवासीको साझा अधिकार, भविष्य र अस्तित्वसँग जोडिएको विषय भएकाले सबै सामाजिक संस्था, बुद्धिजीवी, नागरिक समाज तथा सरोकारवालालाई पुनः एकताबद्ध भई यस अभियानलाई अझ सशक्त रूपमा अघि बढाउन आग्रह गरिएको छ।
गोरखा जनमुक्ति मोर्चाले DI Fund भूमिको न्यायोचित, पारदर्शी तथा स्थायी समाधानका लागि सबै पक्षबीच सहकार्य र एकता अपरिहार्य रहेको उल्लेख गर्दै जनहितका मुद्दामा साझा प्रयास नै सफलताको आधार हुने विश्वास व्यक्त गरेको छ।