22/02/2024
विश्वविद्यालय अनुदान आयोगबाट फागुन महिनामा आयोजित दुई भिन्न भिन्न समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आबद्ध भई समकक्षी परीक्षणका सम्पुर्ण चरणहरु सफलतापुर्वक सम्पन्न गरेको ६ उच्च शैक्षिक संस्थाहरु गुणस्तर प्रत्यायनकृत भएका छन् । आयोगको सभाहलमा मिति २०८० फागुन ३ गते आयोजित प्रमाणपत्र वितरण समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको मिति २०८० माघ ११ गतेको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दुई सामुदायिक क्याम्पसहरु अछाम बहुमुखी क्याम्पस मंगलसेन –०५ अछाम र चौतारा बहुमुखी क्याम्पस, चौतारा सिन्धुपाल्चोक तथा पोखरा विश्वविद्यालय अन्तर्गतको नीजि कलेज क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्को, ललितपुर लाई आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यूबाट संस्थागत गुणस्तर सुनिश्चिता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरि आयोगमानै मिति २०८० फागुन ९ गते आयोजित समारोहमा मिति २०८० माघ १९ गतेको आयोगको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस त्रि.वि., इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पस र सामुदायिक क्याम्पस काठमाण्र्डौ शिक्षा क्याम्पसका लागि पहिलो चरणका लागि र महाकवि देवकोटा क्याम्पस, सुनवल, नवलपरासीलाई दोस्रो चरणका लागि आयोगका अध्यक्षज्यूबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको हो । दुवै समारोहमा आयोगका सचिव प्रा. शंकर प्रसाद भण्डारी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भार्गव धिताल, त्रि.वि. आन्तरिक गुणस्तर सुनिश्चितता केन्द्रका निर्देशक डा. प्रेम थापा, सम्बन्धित उच्च शैक्षिक संस्थाका समकक्षी परीक्षण टोलीका प्रमुख तथा सदस्यज्यूहरु, प्रत्यायनकृत संस्थाका अधिकारीहरु तथा आयोगका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस सँगै आयोगबाट संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रकृया पुरा गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गर्ने संस्था १०३ पुगेको छन् जसमध्य ९२ संस्थाहरुले पहिलो चरणको प्रत्यायन प्रकृया पुरा गरेको हुन भने ११ संस्थाहरुले दोस्रो चरणको प्रत्यायन प्रकृया पुरा गरेको छन् ।