30/04/2025
विकासको बाटोमा काँक्राबारी: अब भ्रम होइन, सहकार्य चाहिन्छ l
प्रिय काँक्राबारीबासी दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी मेरा ऊर्जा र सम्भावनाले भरिएका युवासाथीहरू,
गाउँ विकासको सपना हिजो आजको होइन। वर्षौंसम्म हामीले पर्ख्यौं — कहिले योजनाहरू आउँछन्, कहिले सुविधा भित्रिन्छन् भन्ने आशामा। आज जब त्यो सपना योजनाको स्वरूपमा, प्लानिङ्गको रूपमा बाटोको स्तर उन्नति, खोलानालाको सरसफाई, पानीको उचित व्यवस्थापन र स्थानीयहरुले बहन गरेका अवसरहरु, हाम्रो सामु प्रस्ट देखिँदैछ।
योजना अघि बढिरहेको छ, प्लानिङ्ग कम्पनीले सरकारका सबै नियम पालना गर्दै, वातावरणीय तथा सामाजिक जिम्मेवारी बुझेको ढंगले काम गरिरहेको छ। तर दुर्भाग्यवश, केही राजनीतिक समूह वा स्वार्थी मनसायले युवाहरुको ध्यान भड्काउने, भ्रम फैलाउने, अनि योजना नै रोकिने स्तरसम्म मुद्दा हाल्ने जस्ता गतिविधि गरिरहेका छन्।
वास्तविकता बुझ्न जरुरी छ
हामी सबैले बुझ्नुपर्छ—
वन विनाश गरिँदैछ भनेर फैलाइएको हल्ला पूर्ण सत्य होइन। प्लानिङ्ग कम्पनीले मासिएको बनको कानुनी भर्पाई प्रक्रियालाई पालना गर्दै काम गरिरहेको छ।
माटोको प्रयोग कानुनी सहमति अनुसार सम्झौतामार्फत मात्रै गरिएको हो।
योजना सुरु हुनु अगाडि यी सबै कुराहरू वन उपभोक्ता समिति र स्थानीयहरूसँग छलफल गरेर निस्कर्षमा पुगिएको छ।
सडकमा ग्राभेल ओछ्याउने, खोला र नाली सफा गर्ने, वर्खामा जोखिम न्यूनीकरण गर्ने कामहरूमा युवाहरूले आफ्नै गाउँमा काम गर्दै सीप, आम्दानी र गौरव तीनै कुरा बटुलेका छन्।
अब प्रश्न उठ्छ — हामी के गर्ने?
यो योजनालाई रोक्न वा बिथोल्न चाहनेहरू विकासविरोधी सोच बोकेका हुन सक्छन्, तर हामीले त्यो भ्रममा परेर आफ्नो भविष्य गुमाउनुहुन्न।
राजनीतिक द्वन्द्वको खेलमा हाम्रो सपना गुमाउनु उचित होइन। योजना रोकियो भने – न रोजगारी हुन्छ, न बाटो बन्छ, न भोलि कुनै अवसरहरू सिर्जना हुन्छन्।
हामी युवाहरू– न त नारा लागाउने साधन हौं, न राजनीतिक आक्रोशको इन्धन। हामी त गाउँको निर्माणकर्ता, समाजको भविष्य र आगामी पुस्ताका मार्गनिर्देशक हौं।
अब हाम्रो समय हो – सहकार्य गर्ने, जानकारीको आधारमा सही निर्णय लिने।
केहि स्थानीय विरोध र पत्रकार सम्मेलनको सन्दर्भ
हालै काम अगाडी बढिरहेको प्लटिङ्ग विरुद्ध "संघर्ष समिति" ले पत्रकार सम्मेलन गर्दै प्लानिङ्ग कार्यप्रति विभिन्न आरोप लगाएका छन्। कुलो मासिएको, पाइप अवरुद्ध भएको, डाँडा सम्याएको, बन अतिक्रमण गरिएकोजस्ता गुनासाहरु सार्वजनिक भएका छन्। जुन सुन्ने साथ गम्भीर लाग्न सक्छ।
तर हामीले बुझ्न जरुरी छ—
प्लानिङ कम्पनीले ८०% काम वडाको सिफारिस अनुसार गरिरहेको छ। जुन स्वयम् वडा अध्यक्ष पनि यो कुरा सहमतिका साथ काम गरेको जानकारी गराउनु हुन्छ l
वातावरणीय र वन सम्बन्धि प्रक्रिया अघि बढाइरहेको कम्पनीले स्वीकार गरिसकेको छ।
४ वटै स्थानीय गुठीका प्रतिनिधिहरूसँग सहमतिमा मात्रै काम गरिएको हो। अवरुद्ध संरचना भर्पाई भैसकेको र खानेपानीको उचित व्यवस्थापन हुदै छ l
हिउँद सकिएर बर्षात सुरु हुनु अगाडि सम्भावित पहिरोको जोखिमलाई न्यूनीकरण गर्न यो बेला डोजर चलाइएको हो।
हुनसक्छ—योजना अझ स्पष्ट हुन जरुरी छ। हुनसक्छ— जनताको भावना अझ समेट्न जरुरी छ। तर यसरी केही स्वार्थी समूहको लहै लहैमा लागेर आयोजना रोकिन गयो भने, त्यसबाट हुने गाउको क्षतिको जिम्मा कसले लिन्छ?
गम्भीर भएर सोच्ने बेला आएको छ l
हाम्रो भूगोल पहाडी इलाका हो। बर्खामा पानी, पहिरो, बाटो कटान, घर धस्ने अवस्था आउन सक्छ। अहिले जुन बहकाउ र झूटको भरमा उजुरी दिइँदैछ, त्यसका कारण तत्कालै निर्माणको काम रोकियो भने योजना बाध्य भएर थाति राखिन सक्छ। अनि बर्खामा यदि धनजनको क्षति भयो भने—त्यो स्वार्थी समूहले जवाफ दिन तयार छ?
अब समय आएको छ, समुदायका सबै सचेत व्यक्तिविशेषहरु खुलेर अगाडि आउनु पर्ने बेला हो।
छलफल गरौं, सहकार्य गरौं, निर्णय गरौं।
काँक्राबारीले अब कहिल्यै “बाहिर जाने गाउँ” होइन, “मानिस फर्किने गाउँ” बन्ने सम्भावना पाइरहेको छ।
अन्त्यमा एक अपिल:
भ्रम र अफवाहमा होइन, यथार्थ र जिम्मेवारीमा आधारित भएर सोचौं। विकासको सपना सबैको हो – कुनै पार्टीको होइन। यो योजनाको सफलतामा तपाईं, म र हामी सबैको भविष्य समेटिएको छ।
“अब विरोध होइन, सहकार्य गरौं। काँक्राबारी बनाऔं।”
धन्यवाद।
Source: Page Research And News Article And Nic Vujicic