08/04/2026
जिल्ला प्रशासन कार्यालय, चितवनले भर्खरै एउटा सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण सरकारी तथा गैर-सरकारी कार्यालयहरूलाई पूर्ण रूपमा 'बिचौलियामुक्त' (दलालमुक्त) बनाउने घोषणा गरेको छ। गृह मन्त्रालयको स्पष्ट निर्देशनअनुसार अब कुनै पनि कार्यालयमा सेवाग्राही र कर्मचारीको बीचमा बसेर फाइदा लुट्ने बिचौलियाहरूलाई प्रवेश निषेध गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षर गरिएको उक्त सूचनामा सेवाग्राहीलाई आफ्नो काम गराउन सिधै कार्यालयमा जान र कुनै पनि दलालको प्रयोग नगर्न अनुरोध गरिएको छ। कार्यालयहरूलाई पनि आफ्नो सेवा दिने तरिका सुधारेर जनताले सजिलै, छिटो र झन्झटबिना सेवा पाउने वातावरण बनाउन कडा निर्देशन दिइएको छ।
प्रशासनले आम चितवनवासीलाई सचेत गराउँदै भनेको छ— "आफ्नो काम लिएर जाँदा कसैलाई पनि बिचौलिया नबनाउनुहोस्।" यदि कसैले 'म काम छिटो मिलाइदिन्छु' भनेर पैसा माग्छ वा दलाली गर्न खोज्छ भने त्यस्ता व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
यो नियमलाई प्रभावकारी बनाउन प्रशासनले दुईवटा मोबाइल नम्बर नै सार्वजनिक गरेको छ। यदि तपाईं सरकारी कार्यालयमा जाँदा कसैले बिचौलियाको काम गरेको देख्नुभयो, तपाईंसँग घुस मागियो वा कुनै पनि किसिमको अनियमितता भएको थाहा पाउनुभयो भने नडराईकन तलका नम्बरमा सिधै फोन गरेर उजुरी गर्न सक्नुहुन्छ:
जिल्ला प्रशासन कार्यालय, चितवन : ९८५५०८८८९१
जिल्ला प्रहरी कार्यालय, चितवन : ९८५५०१३९९९