09/05/2026
लिपुलेक–लिम्पियाधुरा फिर्ता गराउन सबै एकजुट हुनुपर्छ : युवा नेता अभिषेक गिरी
विराटनगर । युवा समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीले लिपुलेक र लिम्पियाधुरा नेपालको सार्वभौम भूमि भएको स्पष्ट गर्दै उक्त भूमि फिर्ता गराउने विषयमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र नेपाली जनता एकजुट हुनुपर्ने बताएका छन्।
गिरीले वर्तमान प्रधानमन्त्री बालेन साहले यस विषयमा पहल सुरु गरिसकेको उल्लेख गर्दै उहाँ सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले राष्ट्रियताको सवालमा दलगत राजनीति भन्दा माथि उठेर सबै पक्षले एउटै स्वरमा नेपालको भूमि फिर्ताका लागि पहल गर्नुपर्नेमा जोड दिए।
उनले भने, “लिपुलेक र लिम्पियाधुरा हाम्रो सार्वभौम भूमि हो। यो भूमि फिर्ता गराउने विषयमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र नेपाली जनता एकजुट हुन आवश्यक छ। राष्ट्रियताको सवालमा दलगत राजनीति भन्दा माथि उठेर सबैले एक स्वरमा नेपालको भूमि फिर्ताका लागि पहल गर्नुपर्छ।”
गिरीका अनुसार अब नेतृत्वले कूटनीतिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय माध्यममार्फत नेपालको भौगोलिक अखण्डता कायम गर्न दृढ पहल गर्नुपर्ने समय आएको छ। उनले भूमि संरक्षण र फिर्ता ल्याउने जिम्मेवारी प्रत्येक नेपालीको साझा कर्तव्य भएको पनि बताएका छन्।
उनले थपे, “अब विभाजन होइन, राष्ट्रिय एकता, दृढ अडान र राष्ट्रिय स्वाभिमानको आवश्यकता छ। आफ्नो देशको भूमि जोगाउनु र फिर्ता ल्याउनु प्रत्येक नेपालीको साझा जिम्मेवारी हो।”
गिरीको यो अभिव्यक्तिपछि लिपुलेक–लिम्पियाधुरा सम्बन्धी विषयमा पुनः राष्ट्रिय बहस चर्किने संकेत देखिएको छ।