24/09/2026
राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा आज ०८३ असोज ८ गते विराटनगर महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग “मानव अधिकार सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख, वडा अध्यक्षहरू, न्यायिक समितिका सदस्यहरू, वडा सदस्यहरू, महाशाखा प्रमुखहरू र वडा सचिवहरू सहित जम्मा ५६ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा कार्यालय प्रमुख सहसचिव श्री वीरबहादुर बुढा मगरले “मानव अधिकारको अवधारणा तथा मानव अधिकार संरक्षणमा स्थानीय तहको भूमिका र दायित्व” विषयमा तथा मानव अधिकार अधिकृत श्री यमराज आङदेम्बेले “स्थानीय कानून तथा नीति निर्माणमार्फत मानव अधिकारमैत्री सेवा प्रवाह” विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा नगर प्रमुख श्री नागेश कोइरालाज्यूले महानगरपालिका मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै महानगरबाट प्रदान गरिने सार्वजनिक सेवा मानव अधिकारमैत्री रहेको जानकारी गराउनुभयो।
लेखा/प्रशासन अधिकृत श्री कृष्ण नारायण श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा मानव अधिकार अधिकृत श्री डिल्लीराम लम्सालले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो।