02/09/2026
बाढीपछि सुनसान टिमुरे : २१ सयभन्दा बढी सम्पर्कविहीन, उद्धारमा खटियो सशस्त्र प्रहरी
रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे सुनसान बनेको छ। सञ्चार तथा सडक सञ्जाल विच्छेद हुँदा प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोज तथा उद्धारका लागि हाल सशस्त्र प्रहरीको विशेष टोली मात्र सक्रिय रहेको छ।
बाढीले बस्ती तथा सडक संरचनामा ठूलो क्षति पुर्याएपछि २१ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको जनाइएको छ। सशस्त्र प्रहरीले प्रतिकूल भौगोलिक अवस्थाका बीच भदौ १० गतेदेखि निरन्तर खोजी गरिरहेको छ। हालसम्म ९७ जनाको शव फेला पारेको प्रहरीले जनाएको छ।
खोजीका क्रममा ड्रोन क्यामेरा, केनाइन डग, गोताखोर तथा रोप रेस्क्यु टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप राईको कमान्डमा ३० भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।
बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डका करिब ४१ वटा पुल बगाएपछि आवतजावत र उद्धार सामग्री पुर्याउन थप कठिनाइ भएको छ। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा बेपत्तासँग सम्पर्क गर्नसमेत समस्या भएको जनाइएको छ।
यसैबीच, उद्धार टोलीले भदौ १२ गते बाढी आएको करिब ६० घण्टापछि टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेको थियो। कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याई उपचारका लागि पठाइएको थियो।