08/08/2026
प्रतिनिधिसभामा बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि आफ्नै दलका सांसदहरूले ग्यास अभाव, सेवा प्रवाह र सरकारको कार्यशैलीबारे लगातार प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री बालेनले फेसबुकमा संकेतपूर्ण स्टाटस सार्वजनिक गरेका छन्।
रास्वपाका सांसद रमेश प्रसाईंले संसदमा बोल्दै चुनावताका दिएको ‘नो लाइन, अनलाइन’ नारालाई सम्झिँदै अहिले ग्यासका लागि नागरिक दिनरात लाइन बस्नुपरेको अवस्थाले आफूलाई लाज लागेको बताएका थिए। उनले कृत्रिम अभाव भए दोषीमाथि कारबाही किन नभएको भन्दै सरकारलाई प्रश्न गरे।
त्यस्तै सांसद मनिष झाले सरकारको नियतमाथि शंका नरहे पनि ‘कताकता ढंग पुगेन’ भन्दै कार्यशैली सुधार गर्न सुझाव दिएका थिए। अन्य रास्वपा सांसदहरूले पनि ग्यास अभाव, स्वास्थ्य बीमा, सेवा प्रवाह र नागरिकका दैनिक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
यही घटनाक्रमबीच प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्:
"केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।"
बालेनको यो स्टाटस सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको अर्थबारे विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ। कतिपयले यसलाई पछिल्ला राजनीतिक दबाब र आफ्नै सांसदहरूको आलोचनापछि आएको सन्देशका रूपमा व्याख्या गरेका छन्। यद्यपि, बालेनले आफ्नो स्टाटस कुन घटना वा कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने स्पष्ट पारेका छैनन्।
उता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले भने केही दिनभित्र ग्यास आपूर्ति सहज हुने दाबी गर्दै उपभोक्तालाई अनावश्यक ग्यास सञ्चय नगर्न आग्रह गरेकी छन्।