14/12/2024
खट्किएको कुरा ! बदलिएको मानसिकता !!
एकजना क्रान्तिकारी कम्युनिस्ट पाका नेताले भन्नुभयो ।
" राजनीतिमा तत्त्व सकियो ।"
के राजनीतिको तत्त्व सकिएकै हो त ?
त्यसो भए ! राजनीतिमा तत्त्व भनेको के हो ?
राजनीतिमा मुख्य रुपमा तत्त्व भनेको दार्शनिक पक्ष हो । दार्शनिक पक्ष भनेको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण हो । जीवन जगतलाई हेर्ने दृष्टिकोण मात्र होइन तदअनुरुप आफुलाइ बदल्ने कठिन साधना पनि हो । जीवन र जगतलाइ कुन दृष्टिकोणबाट हेरिन्छ, त्यसको सापेक्षता धारणा बनेको हुन्छ ।
ब्रह्माण्डको उत्पत्तिको मुलश्रोत के हो भन्ने बारेमा आफ्नो धारणा र चेतनाको आधारमा दृष्टिकोण निर्माण हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बिज्ञानमा आधारित भएन भने दार्शनिक पक्ष कमजोर हुन्छ । अनि सामान्य र आफ्नो मात्र अनुकुलता वा प्रतिकुलताको आधारमा आफुलाइ केन्द्रमा राखेर धारणा बनाउछ । यो एक किसिमको सतही तदर्थवाद र अवसरवाद पनि हो । अहिलेको राजनीति यही मनोबैज्ञानिकमा आधारित भएर चलेको छ । जो घातक छ । दार्शनिक रुपमा च्युत भएको राजनीतिले क्षेणिक रुपमा ठिक हो कि भन्ने लागेपनि दीघकालमा समाजको लागि घातक हुन्छ ।
सामान्यतया मानिसहरु सास्कृतिक प्रभुत्ववादबाट ग्रसित हुन्छ र त्यही सरलबाटोबाट आफुलाइ अलग गर्न चाहान्नन । जसको कारणले उसको दृष्टिकोण पनि पहिलेदेखि चलिआएको चिन्तन प्रणाली भन्दा फरक हुदैन ।
नया सोच्ने र समाज बदलिन्छ र बदल्न सकिन्छ भन्ने अठोट र आत्मविश्वास नहुनु र तदर्थवादमा रुमलिनु मुल समस्या बन्दै गएको छ, खासमा राजनीतिमा तत्त्व सकियो भनेको यहीहोला ।
अत: दार्शनिक पक्षसङ्ग जोडिएको बैचारिक सिद्धान्त त्यसको जगको आधारमा हुने राजनीतिक गतिविधि त्यसलाइ चलायमान बनाउन चाहिने गतिशील, जुझारु, क्रान्तिकारी र अनुशासित सङ्गठन त्यसबाट पैदाहुने गति र पैदा भएको गतिलाइ पकड्दै समाज बदल्ने इच्छाशक्ति भएको सही पार्टी र त्यसको नेतृत्व, जो वर्गप्रतिको निष्ठा, जनताप्रति इमानदारिता, देशभक्तिमा स्वाभिमानको जगमा जनताको भरोसा र जनप्रीय र पाच्य कार्यशैल होस अनि जसको लक्ष्य स्पष्ट र दृढ होस । यही हो राजनीतिक तत्त्व !
अत: यही जगमा फेरीपनि राजनीति प्रतिको वितृष्णा, नेताप्रतिको आक्रोश देशप्रतिको नकारात्मक सोचलाई बदल्दै भरोसा योग्य राजनीति र त्यसको मुल तत्त्वलाई स्थापित गर्नु हाम्रो मुख्य कार्यभार बनेको छ । राजनीतिमा तत्त्व सकिएको छैन ।