11/08/2026
आज नेवा समुदायले स्थानीय पर्व गथांमुगः मनाउँदै , जसलाई गठेमंगल पनि भनिन्छ। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशी अर्थात् श्रावण महिनाको कृष्ण पक्षको १४औँ दिनमा यो पर्व मनाइन्छ। यसलाई गथांमुगः चःह्रे वा घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ। यो पर्वलाई घर तथा वरपरको वातावरण सफा गर्ने र नकारात्मक शक्ति तथा दुष्ट आत्माबाट बच्न पूजा–आराधना गर्ने पर्वका रूपमा समेत लिइन्छ।
यो पर्व कहिलेदेखि मनाउन थालियो भन्ने यकिन प्रमाण हालसम्म स्पष्ट हुन सकेको छैन। तथापि, हस्तलिखित ऐतिहासिक ग्रन्थ गोपालराज वंशावलीमा यस पर्वको उल्लेख पाइन्छ, जसअनुसार गथांमुगः पर्व लिच्छवि कालदेखि नै मनाउन थालिएको मानिन्छ।
यस अवसरमा विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भई परालबाट बनाइएको घण्टाकर्ण राक्षसको प्रतीकात्मक पुत्ला तयार गरेर जलाउने परम्परा रहेको छ। यसरी घण्टाकर्णको पुत्ला जलाएर अशुभ तथा नकारात्मक शक्तिलाई विदाइ गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने गरिन्छ।
साभार The Newars