11/10/2026
अत्यन्त जरूरी सूचना
विषय: बूढीगण्डकी नदीमा आकस्मिक बाढी तथा पूर्वसतर्कता र स्काउट स्वयंसेवक परिचालन सम्बन्धी।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) र बाढी पूर्वानुमान महाशाखाको सूचना अनुसार गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको र जलसतह अत्यधिक उच्च रहेको छ।
आरुघाट मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको र बाढीको जोखिम गोरखा (सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाट लगायत), धादिङ, तनहुँ, चितवन तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) सम्मका तटीय क्षेत्रहरूमा पर्न सक्ने भएकाले त्रिशूली दोभानसम्मका नदी आसपास बसोबास गर्ने सम्पूर्ण नागरिकहरूमा बाढीको बहाव सुरक्षित तहमा नआउन्जेलसम्म नदी किनारमा नजान, सुरक्षित तथा उच्च स्थानमा स्थानान्तरण हुन र जोखिमयुक्त सडक तथा पुलहरूमा सवारी आवागमन बन्द गर्न/गराउन हार्दिक अनुरोध गरिन्छ।
बाढीको यो उच्च जोखिमलाई अति गम्भीरतापूर्वक लिई नेपाल स्काउटका सम्पूर्ण स्काउट लिडर, रोभर/रेन्जर तथा स्वयंसेवकहरूले आफ्नो क्षेत्रको वस्तुस्थितिबारे नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालय मा तत्काल जानकारी गराई निम्न बमोजिमको भूमिका निर्वाह गर्न निर्देशन गरिन्छ:
१.स्थानीय स्तरमा सर्वसाधारणलाई बाढीको जोखिमबारे सजग गराउन तुरुन्त सूचना प्रवाह गर्ने।
२.आफ्नो क्षेत्रको वस्तुस्थिति, सम्भावित क्षति र जोखिमको अवस्थाबारे राष्ट्रिय प्रधान कार्यालयमा निरन्तर अद्यावधिक जानकारी गराउने।
३.जोखिमयुक्त बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार तथा राहत कार्यमा स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग पूर्ण समन्वय गरी सक्रिय रूपमा खटिने।
नेपाल स्काउट