29/08/2026
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सरकारको सक्रियताप्रति धन्यवाद
मिति: २०८३ भदौ १२ गते
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल विवेकशील पार्टी गहिरो दुःख व्यक्त गर्दछ। विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
बाढीपछि नेपाल सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत उपलब्ध गराउन देखाएको सक्रियताप्रति नेपाल विवेकशील पार्टी धन्यवाद ज्ञापन गर्दछ।
सरकारका सकारात्मक प्रयासको स्वागत गर्दै वास्तविक पीडितको पहिचान गरी खाद्यान्न, आवास, स्वास्थ्य उपचार तथा आवश्यक सामग्री तत्काल उपलब्ध गराउन आग्रह गर्दछौं। साथै, क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी सडक, पुल, विद्युत्, खानेपानीलगायत संरचनाको पुनर्निर्माण तथा प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग अनुरोध गर्दछौं।
भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक छ।
विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक छ। नेपाल विवेकशील पार्टी यस मानवीय कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध छ।
नेपाल विवेकशील पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं