Nepali Communist Party

Nepali Communist Party नेपाली कम्युनिष्ट पार्टीको आधिकारिक फेसबुक पेजमा यहाँलाई स्वागत छ।

बाढी प्रभावित क्षेत्रमा देखिएका समस्या, चुनौती तथा गर्नुपर्ने कार्यसम्बन्धीपार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकबाट...
07/09/2026

बाढी प्रभावित क्षेत्रमा देखिएका समस्या, चुनौती तथा गर्नुपर्ने कार्यसम्बन्धी
पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकबाट पारित विशेष प्रस्तावहरू

भोटेकोशी र त्रिशुलीमा आएको प्रलयकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा पार्टी केन्द्रीय कार्य संयोजन समितिको यो बैठक निम्नलिखित विशेष प्रस्ताव पारित गर्दछः

१. भाद्र १० गतेको प्रलयकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा यो बैठक गहिरो समवेदना प्रकट गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढी पीडित जनसमुदायका दुःख र पीडाहरूमा ऐक्यबद्धता प्रकट गर्दछ।

२. खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइयोस्।
भत्किएका भवन तथा संरचनाका भग्नावशेष, जलविद्युत् आयोजनाका सुरुङ, विद्युतगृहलगायतका स्थानमा अझै मानिसहरू पुरिएको वा फसेको हुन सक्ने अवस्थालाई ध्यानमा राखी नेपाल सरकारद्वारा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, तीनै तहका जनप्रतिनिधि, स्वयंसेवक तथा सम्बन्धित परिवारजनको समन्वयमा आवश्यक स्रोत, साधन, प्रविधि र उपकरण परिचालन गरी व्यवस्थित खोज तथा उद्धार अभियान तत्काल सञ्चालन गरियोस्। यसका लागि आवश्यक प्रविधि, उपकरण र विज्ञ जनशक्ति स्वदेश र विदेशबाट प्राप्त गरी उपयोग गरियोस्। यो बैठक खोज, उद्धार, राहत र पुनर्स्थापनामा अहोरात्र खटिरहेका सुरक्षा निकाय, जनप्रतिनिधि तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

३. राहत वितरणलाई प्रभावकारी, न्यायोचित र प्राथमिकताका आधारमा व्यवस्थित गरियोस्।
बाढी पीडित र प्रभावित सबै नागरिकलाई आवश्यक राहत सुनिश्चित गर्दै वृद्धवृद्धा, सुत्केरी, गर्भवती, बालबालिका, बिरामी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई प्राथमिकतामा राखेर औषधि, पानी, खाद्यान्न, ग्यास, इन्धन र लत्ताकपडालगायत अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराइयोस् र हेलिकप्टरबाट ढुवानी गर्न नसकिने अवस्थाका लागि वैकल्पिक व्यवस्था गरियोस्।

४. तत्काल सुरक्षित अस्थायी आवास तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गरियोस्।
उद्धार गरिएका, विस्थापित तथा जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बासोबास र पुनर्स्थापनाको व्यवस्था गरियोस्। जोखिमयुक्त बस्ती पहिचान गरी मध्यकालीन तथा दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बस्ती विकासको स्पष्ट कार्ययोजना, समयसीमा, बजेट र जिम्मेवारीसहितको कार्ययोजना निर्माण गरी कार्यान्वयन गरियोस्।

५. स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्शको व्यवस्था गरियोस्।
प्रलयकारी बाढीको विध्वंसबाट पीडित तथा प्रभावित व्यक्तिहरूको लागि तत्काल स्वास्थ्य उपचार, औषधि तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आश्रयस्थल तथा अस्थायी शिविरमा रहेका नागरिक विशेषगरी बालबालिका, विद्यार्थी, परिवारका सदस्य गुमाएका व्यक्ति तथा मानसिक रूपमा प्रभावित नागरिकका लागि मनोसामाजिक परामर्श तत्काल सञ्चालन गरियोस्।

६. विद्यार्थीको पठनपाठन तत्काल सुचारु गरियोस्।
वैकल्पिक स्थान तथा आवश्यक अस्थायी संरचनाको व्यवस्था गरी विद्यालय सञ्चालन र विद्यार्थीको पठनपाठन सुचारु गरियोस्। आमाबाबु गुमाएका बालबालिकाको संरक्षण, बसोबास र स्नातक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गर्दै तदनुरूपको कार्यक्रम कार्यान्वयन गरियोस्।

७. अत्यावश्यक सार्वजनिक सेवा तत्काल सुचारु गरियोस्।
स्वास्थ्य, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवाका साथै सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरूको वैकल्पिक व्यवस्था गरी तत्काल जनसेवा सञ्चालनमा ल्याइयोस् र आम जनताको दैनिक जीवनलाई असहज हुन नदिन आपूर्ति व्यवस्था सुचारु गरियोस्। कुनै पनि प्रकारका अनियमित कार्यहरूको कडाइका साथ नियन्त्रण गरियोस्।

८. सडक, पुल तथा यातायात पूर्वाधार तत्काल सञ्चालनमा ल्याइयोस्।
बेपत्ताहरूको खोज, उद्धार, उपचार र राहत तथा निर्माण सामग्रीको ढुवानी र मानिसहरूको आवागमन सहज बनाउन धुन्चेसम्म तत्काल सडक पहुँच स्थापित गरियोस् र अवरुद्ध पासाङ ल्हामु राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याइयोस्। आवागमन सहज बनाउन सम्भाव्यताको आधारमा आवश्यकता अनुसार बेलीब्रिज, तुइन, झोलुङ्गे पुल आदि जडान गर्ने कार्य तत्काल अघि बढाइयोस्।

९. प्रदेश तथा स्थानीय तहसँग निरन्तर समन्वय र सहकार्य गरियोस्।
राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा प्रदेश सरकार र स्थानीय तहको स्पष्ट जिम्मेवारी निर्धारण गरी प्रभावकारी अनुगमन तथा जवाफदेहिताको लागि संयुक्त संयन्त्र निर्माण गर्न र उक्त कार्यमा प्रदेश/स्थानीय तहका जनप्रतिनिधिहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरियोस्।
१०. व्यावसायिक क्षतिको मूल्याङ्कन गरी विशेष राहत तथा पुनर्स्थापना प्याकेज ल्याइयोस्।
बाढी प्रभावित क्षेत्रका उद्योग, व्यापार, व्यवसाय, कृषि तथा अन्य आर्थिक गतिविधिमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी व्यवसाय पुनःसञ्चालन तथा पुनर्स्थापनाका लागि विशेष राहत, सहुलियतपूर्ण ऋण तथा आवश्यक आर्थिक सहयोगको प्याकेज घोषणा गरियोस्।

११. जोखिमयुक्त बस्ती पूर्वाधारको पुनरावलोकन तथा सुरक्षित आवास योजना अघि बढाइयोस्।
नदी तथा खोला किनार लगायत स्थानका जोखिमयुक्त बस्ती र संरचनाको पुनरावलोकन गरी नयाँ मापदण्ड निर्माण गरियोस्। त्रिशूली सभ्यतालाई सुरक्षित र व्यवस्थित रूपमा पुनर्स्थापित गर्ने उद्देश्यले भू-उपयोग नीति ल्याई योजनाबद्ध भू-व्यवस्थापनमार्फत सुरक्षित आवास विकास गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइयोस्। नदी किनारमा निर्माण हुने घर तथा संरचनाका लागि विशेष इन्जिनियरिङ, डिजाइन तथा सुरक्षा मापदण्ड कडाइका साथ लागू गरियोस्। क्षतिग्रस्त सडक, पुल, बजार, बस्ती, जलविद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणअघि विस्तृत बहुविपद् जोखिम मूल्याङ्कन गर्ने र सोका आधारमा सुरक्षित स्थानमा पुनर्स्थापना तथा जलवायु-प्रतिरोधी दिगो पूर्वाधार निर्माणतर्फ ठोस योजनाका साथ कार्य गरियोस्।

१२. जलविद्युत् तथा ऊर्जा क्षेत्रको क्षतिको समग्र मूल्याङ्कन गरी दीर्घकालीन राष्ट्रिय ऊर्जा रणनीति तयार गरियोस्।
बाढी तथा पहिरोबाट जलविद्युत् आयोजनाका बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन, पहुँचमार्गलगायत संरचनामा भएको क्षतिको यथार्थ तथा वैज्ञानिक मूल्याङ्कन गरी तत्काल पुनःनिर्माण तथा पुनःसञ्चालनको विशेष कार्यक्रम अघि बढाइयोस्। साथै, हिमाली तथा नदी प्रणालीमा बढ्दो प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी जलविद्युत् आयोजना छनोट, डिजाइन, निर्माण, बीमा, सुरक्षा तथा सञ्चालनसम्बन्धी मापदण्डको पुनरावलोकन गरियोस्। आगामी जलविद्युत् आयोजना विपद्-प्रतिरोधी र वातावरणमैत्री ढङ्गले निर्माण गर्ने, ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधारको सुरक्षा र विविधीकरण गर्ने तथा जलविद्युत्, सौर्य, भण्डारण र अन्य नवीकरणीय ऊर्जालाई समेटेर दीर्घकालीन राष्ट्रिय ऊर्जा सुरक्षा तथा ऊर्जा विकास रणनीति तयार गरी कार्यान्वयन गरियोस्।

१३. राष्ट्रिय हिमालय जलवायु तथा विपद् कोषको स्थापना गरियोस्।
हिमनदी पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, चट्टान, हिमपहिरो, बाढी तथा पहिरोजस्ता जलवायुजन्य परिवर्तन, हिमाली विपद् न्यूनीकरणका लागि 'राष्ट्रिय हिमालय जलवायु तथा विपद् कोष' स्थापना गरियोस्। नेपाल सरकार हरित जलवायु तथा अनुकूलन कोषसहित अन्य अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गरी पूर्वसूचना, अनुसन्धान, अनुकूलन तथा सुरक्षित पूर्वाधार विकासमा लगानी गरियोस्। यसका लागि अन्तर्राष्ट्रिय रूपमा मित्रराष्ट्र, संघ-संस्थाहरूसँग प्रभावकारी कूटनीतिक पहल गरियोस्।

१४. राष्ट्रिय हिमालय विपद् फरेन्सिक अनुसन्धान केन्द्र स्थापना गरियोस्।
ठूला हिमाली विपद्लाई राहत र क्षतिको विवरणमा मात्र सीमित नगरी वैज्ञानिक अनुसन्धानको विषय बनाइयोस्।रसुवा-भोटेकोशीलगायतका घटनामा हिमनदी, हिमपहिरो, पानी, गेग्रान तथा नदीको संयुक्त र क्रमिक प्रभावको वैज्ञानिक अध्ययन गरी भविष्यका जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्ने दिशामा कार्ययोजनाका साथ काम गरियोस्।

१५. राष्ट्रिय हिमालय पूर्वसूचना तथा निगरानी सञ्जाल निर्माण गरियोस्।
भूकम्पमापन यन्त्र, विश्वव्यापी निगरानी भू-उपग्रह प्रणाली, स्वचालित क्यामेरा, मोबाइल एप्स, नदीको जलस्तर मापन, मौसम केन्द्र, हिमताल निगरानी, ड्रोन तथा उपग्रह प्रविधिलाई एउटै प्रणालीमा आबद्ध गरी 'राष्ट्रिय हिमालय पूर्वसूचना तथा निगरानी सञ्जाल' निर्माण गर्ने र सम्भावित विपद्को सूचना जोखिम क्षेत्रका समुदायसम्म तत्काल पुर्‍याउने व्यवस्था गरियोस्।

१६. संयुक्त हिमालय विपद् निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना गरियोस्।
सीमावर्ती क्षेत्रमा हिमनदी, हिमताल, भूकम्पीय गतिविधि, मौसम, नदीको बहाव तथा ग्लोबल वार्मिङ र भू-आकृतिका कारण हुने परिवर्तनसम्बन्धी तथ्याङ्क वास्तविक समयमा आदानप्रदान गर्न, नेपाल-चीन, नेपाल-भारत तथा त्रिदेशीय स्थायी संयन्त्र स्थापना गर्ने, उक्त संयन्त्रहरूका नियमित बैठक बस्ने तथा संयुक्त वैज्ञानिक टोलीमार्फत नियमित क्षेत्रीय अध्ययन-अनुगमन गर्ने, द्विदेशीय र त्रिदेशीय पूर्वसूचना आदानप्रदान एवं पूर्वतयारी कार्यलाई तत्काल अगाडि बढाइयोस्।

१७. राष्ट्रिय हिमाली विपद् द्रुत प्रतिकार्य तथा वैज्ञानिक टोली गठन गरियोस्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, इन्जिनियर, भूगर्भविद्, जलविज्ञ, मौसमविद्, प्राविधिक, ड्रोन तथा उपग्रह विज्ञ र पर्वतारोही उद्धारक सम्मिलित विशेषज्ञ टोली गठन गरी उक्त टोलीद्वारा उद्धारसँगै घटनास्थलको वैज्ञानिक प्रमाण सङ्कलन तथा जोखिमको प्राविधिक मूल्याङ्कनको काम तत्काल गरियोस्।

१८. रसुवा-नुवाकोटको समग्र भौगोलिक तथा प्राकृतिक जोखिम अध्ययन गरी उपयुक्त रणनीति तयार गरी कार्यान्वयन गरियोस्।
जोखिमयुक्त क्षेत्रको भौगोलिक अवस्था, भू-व्यवस्थापन, जलाधार, नदी प्रणाली तथा प्राकृतिक जोखिमको समग्र वैज्ञानिक अध्ययन गरी सुरक्षित, व्यवस्थित तथा दिगो विकास रणनीति र कार्यक्रम तयार गरियोस्। रसुवा-भोटेकोशीलाई नमुना बनाई हिमाली क्षेत्रमा बहुविपद् जोखिममा आधारित नयाँ राष्ट्रिय मापदण्ड लागू गर्ने र नेपाललाई हिमाली विपद् सहन वा सामना गर्न सक्ने देश बनाउने दिशामा राष्ट्रिय नीति निर्माण गरी लागू गरियोस्।

१९. प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दातृ सम्मेलन आयोजना गरियोस्।
पुनर्निर्माण, पुनर्स्थापना तथा दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत परिचालन गर्न नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय दातृ सम्मेलनको आयोजना गरियोस्। राष्ट्रिय पुनर्निर्माण आयोजनामा योगदान पुर्‍याउन संयुक्त राष्ट्र सङ्घ लगायत सम्बन्धित संस्थाहरूसँग सम्बन्ध र समन्वय गर्दै नेपालको माग र आवश्यकताप्रति अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराइयोस्।

२०. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा स्थापित गरियोस्।
विश्वव्यापी कार्बन उत्सर्जन, तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको विपद् जोखिम र रसुवा-भोटेकोशी प्रलयकारी बाढीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइयोस्। यस विषयमा जलवायु न्याय, अनुकूलन तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्न सक्रिय पहल गरियोस् र प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्पष्ट धारणा प्रस्तुत गरी विश्व समुदायसँग सहयोगका लागि आह्वान गरियोस्।

२१. राष्ट्रिय एकताका साथ महाविपत्तिको सामना गर्ने वातावरण बनाइयोस्।
सरकारले सर्वदलीय बैठक तथा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्ने र सम्बन्धित सबै पक्षसँग आवश्यक परामर्श गरी संसद् र स्थानीय तहका माग, भावना र भूमिका कायम गर्दै एकीकृत राष्ट्रिय शक्ति निर्माण गरेर एकताबद्ध रूपमा संकट र महाविपत्तिको सामना गर्ने वातावरण बनाइयोस्।

२२. नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, जनप्रतिनिधि र सदस्यहरूलाई एकताबद्ध भई उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको कार्यमा सक्रिय रूपमा योगदान गर्न यो बैठक हार्दिक आह्वान गर्दछ। साथै पार्टीलाई जनताको साथमा रहेर आवश्यक कार्यमा परिचालित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

२३. गम्भीर विपद् र संकटको मौका छोपी निहित स्वार्थ सिद्ध गर्न खोज्ने कुनै पनि दुष्प्रयासलाई नियन्त्रण गरियोस्। यस सन्दर्भमा बाढीग्रस्त क्षेत्रमा दर्जानी चिन्हसहित सेनासँग मिल्दोजुल्दो युद्ध पोशाक र शैलीमा देखा परेको कथित 'ग्रिन आर्मी' भन्ने संस्था तत्काल खारेज गरियोस्।

२४. यतिबेला हामी राष्ट्रिय शोकको घडिमा छौं। नेपाल र नेपाली जनता प्रलयकारी बाढीको कारण संकटमा परेको बेला विभिन्न किसिमले सहयोग गर्ने र सद्भाव प्रकट गर्ने मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंस्था र व्यक्तिहरू, स्वदेश तथा प्रवासमा रहनुभएका नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यो बैठक पुनर्स्थापना र पुनर्निर्माणको चुनौती सामना गर्न अझ बढी सहयोग एवं सद्भावका लागि हार्दिक अपिल गर्दछ।

मितिः २०८३ भाद्र २२ गते सोमबार।

नेकपाद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा ।नेपाली कम्युनिष्ट पार्टीद्वारा यसअघि गरिएको निर्णय बमोजिम रसुवा भोटेक...
03/09/2026

नेकपाद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा ।

नेपाली कम्युनिष्ट पार्टीद्वारा यसअघि गरिएको निर्णय बमोजिम रसुवा भोटेकोशी बाढी पीडितको सहयोगार्थ पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा आज रू. २५ लाख जम्मा गरिएको छ।पार्टीले भोटेकोशी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काममा जुट्न र सहयोग गर्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ।
बाढी पीडितहरूको उद्धार र राहत कार्यमा हरकिसिमले सहयोग, समन्वय र सहकार्य गर्नका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क' स्थापना गरिसकेको छ। साथै बाढी पीडित वा पीडितका परिवार, आफन्त वा सम्पर्क र सूचना उपलब्ध गराउन अपिल गरेको छ।

‘विपद् व्यवस्थापन डेस्क' का सम्पर्क नम्बरहरू:
डा. लक्ष्मी ओली - ९८४०३९०२०४
नारायण काफ्ले - ९८५११८०७७५
केशव दाहाल - ९८५१०९७८२१

प्रकाश ज्वाला
प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी

27/08/2026

हाम्रो पार्टीका प्रवक्ता कमरेड प्रकाश ज्वालासहितको टोली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गर्नुभएको छ। साथै विपद्मा परेका नागरिकहरूलाई खोजी तथा उद्धारमा सहयोग गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ।

२०८३ भदौ ११, बिहीबार

भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुर जिल्लामा भएको अकल्पनीय मानवीय एवं भौतिक...
26/08/2026

भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुर जिल्लामा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षति तथा खोज, उद्धार र राहतका विषयमा आज २०८३ भाद्र १० गतेका दिन हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको अत्यन्त जरुरी आकस्मिक बैठक पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्यो । यो बैठकले निम्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
१. भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीबाट ज्यान गुमाउनुहुने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
२. बाढीबाट घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
३. बाढीबाट बेपत्ता व्यक्तिहरूको जीवनरक्षा गर्न सम्पूर्ण जनशक्ति, संयन्त्र र साधनस्रोत परिचालन गरी तीव्रताका साथ उनीहरूको खोजी तथा उद्धार गर्न तीनै तहका सरकार, सुरक्षा निकायहरू, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्था, नागरिक समाज र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ ।
४. उद्धार गरिएका व्यक्तिहरूको लागि आधारभूत राहतको व्यवस्था गर्न, विस्थापितहरूलाई अस्थायी बसोबास तथा पुनस्र्थापना र मृतकका परिवारलाई आर्थिक सहायताका लागि तीनै तहका सरकार एवं अन्य सम्बन्धित पक्षसँग अनुरोध गर्दछ ।
५. भोटेकोशी, त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा बाढीको सम्भावना कायमै रहेकाले थप क्षति हुन नदिन सुरक्षा सतर्कता एवं खोज, उद्धार र उपचारका लागि पूर्वतयारी गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदछ ।
६. बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खानेपानी, बिजुलीबत्ती, यातायात, टेलिफोन सेवा, सरसफाइ लगायतका अत्यावश्यक सेवाहरू तत्काल सञ्चालन गर्न गराउन सरकारसँग माग गर्दछ ।
७. हाम्रो देशको उत्तरी सीमाना क्षेत्रमा ग्लेसियर र हिमाल पग्लिने, हिमताल फुट्ने लगायतका जोखिमबाट जनधनको सुरक्षाका लागि नेपाल र चीनबीचको द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउन, सुरक्षाका लागि पूर्वतयारी र दीर्घकालीन रूपमा समस्या समाधानका लागि छिमेकी राष्ट्र चीनसँग कूटनीतिक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
८. बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोज एवं उद्धार, घाइतेहरूको उपचार तथा पीडितहरूको राहत र अस्थायी बसोबास जस्ता मानवीय सेवाका कार्यमा तीनै तहका सरकार एवं सम्बन्धित निकायहरूसँग समन्वय, सहयोग र सहकार्य गर्न हाम्रो पार्टी पूर्ण प्रतिबद्धता व्यक्त गर्दछ ।
९. बाढी प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतका काममा सरकारी, गैरसरकारी निकायसंग समन्वय र सहकार्य गर्न तथा पार्टी पंक्ति र स्वयंसेवक परिचालन गर्न केन्द्रीय कार्य संयोजन समिति सदस्य एवं बागमती प्रदेश इञ्चार्ज क. गंगालाल तुलाधरको संयोजकत्वमा उपत्यका विशेष र संघीय सम्पर्क समन्वय समितिका इञ्चार्ज र संयोजकहरू, बागमती प्रदेश समिति संयोजक, रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र नवलपुर जिल्लाका इञ्चार्ज र संयोजकहरू, विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग, जन–स्वयंसेवा विभागका प्रमुखहरू, महिला, युवा र विद्यार्थी सङ्गठनका इञ्चार्ज र संयोजकहरू रहेको “केन्द्रीय खोज उद्धार राहत समन्वय समिति गठन गरिएको छ ।
१०. हाम्रो पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधिलगायत सम्पूर्ण पार्टी पङ्क्ति, जनवर्गीय तथा मोर्चा संगठनहरुलाई बिपद् प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न विशेष निर्देशन गर्दछ ।
मितिः २०८३ भाद्र १०
प्रकाश ज्वाला
प्रवक्ता

प्रेस विज्ञप्तिरसुवाको भोटेकोशी नदीमा आज २०८३ भाद्र १० गते बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट आएको भीषण बाढीले रस...
26/08/2026

प्रेस विज्ञप्ति
रसुवाको भोटेकोशी नदीमा आज २०८३ भाद्र १० गते बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रु, मैलुङ, बेत्रावतीलगायतका बस्तीहरूमा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । हालसम्म मानवीय र अन्य क्षतिको यथार्थ विवरण प्राप्त भइनसके पनि प्रभावित क्षेत्रका नागरिक, सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन भएको, कतिपय घाइते भएको तथा रसुवाको टिमुरे बजारलगायतका बस्तीहरूका धेरै घर–पसलहरू, पशुचौपायाहरू, भन्सार कार्यालय, प्रहरी चौकीहरू, टेलिकम टावरहरू, सडक, पुल, केही हाइड्रोपावर योजनाहरू, विद्युत् गृह र सबस्टेशन, खेतबारीलगायत धेरै ठूलो जनधनको क्षति भएको अवस्था छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने र थप क्षति हुनसक्ने खतरा कायमै छ । यस संवेदनशील घडीमा भोटेकोशी र त्रिशुली नदी आसपासका क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न नदी तटीय क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई हाम्रो पार्टी हार्दिक आग्रह गर्दछ ।
विपद्मा परेका नागरिकको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो । त्यसैले नागरिकको ज्यान बचाउन र थप क्षति हुन नदिन विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू परिचालन गर्न हाम्रो पार्टी सरकारसँग विशेष आग्रह गर्दछ । यस विपद्को समयमा संघ, प्रदेश र स्थानीय सरकार, सबै तहका जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था र आम नागरिक सबैको सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेकोले सबै एकजुट भएर बाढीमा फसेकाको उद्धार, घाइतेको उपचार, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाम्रो पार्टी सबै पक्षसँग हार्दिक अपिल गर्दछ । यसका साथै नेपाली कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधिलगायत सम्पूर्ण पार्टी पङ्क्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहयोगमा लाग्न विशेष निर्देशन गर्दछ ।

सबै सुरक्षित रहौं, एकजुट भएर उद्धार, राहत र मानवीय सेवामा जुटौं ।

मितिः २०८३ भाद्र १०

प्रकाश ज्वाला
प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी

प्रेस विज्ञप्ति२०८३ साउन २७ गते साँझदेखि भएको भारी वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँ तथा ...
14/08/2026

प्रेस विज्ञप्ति

२०८३ साउन २७ गते साँझदेखि भएको भारी वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँ तथा सुनछहरी–२, फलबाङमा गएको विनाशकारी पहिरोले ठूलो मानवीय तथा धनसम्पत्तिमा क्षति पु¥याएकोप्रति हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँमा पहिरोमा पुरिएका १३ जनामध्ये हालसम्म ११ जनाको मृत्यु पुष्टि भइसकेको र २ जना अझै बेपत्ता रहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरो जाँदा एक जनाको निधन हुनुका साथै ३ जना बेपत्ता भएको अर्को दुःखद खबर प्राप्त भएको छ । यसरी हालसम्म जम्मा १२ जनाको शव भेटिएको र ५ जना बेपत्ता रहेका छन् भने २ जना घाइते भएका छन् । पहिरोमा पुरिएर दर्जनौं पशुचौपाया, घर, गोठ, पसलसहित ठूलो धनसम्पत्ति क्षति भएको छ । यस प्राकृतिक विपत्तिप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्त गर्दछ ।
पहिरोमा परेर दुःखद निधन हुन पुगेका स्थानीय व्यक्तिहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारसँग माग गर्दछ । खोजी तथा उद्धार कार्यमा अहोरात्र खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, स्थानीय व्यक्तिहरू लगायत सबैलाई हाम्रो पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै थप खोजी, उद्धार, उपचार र विस्थापितहरूको पुनस्र्थापनाका लागि सक्रिय रूपमा जुट्न सम्बन्धित सबै पक्षसँग विशेष अपिल गर्दछ ।
मृतकका परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन र त्यस्ता जोखिमयुक्त बस्तीमा हुनसक्ने सम्भावित थप क्षतिप्रति सचेत रहँदै तत्काल स्थानीय जनताको जीवनरक्षा, पीडितहरूको उद्धार, विस्थापितहरूको पुनस्र्थापना र दीर्घकालीन रूपमा स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।
पहिरोमा परेर जीवन गुमाउनुभएका व्यक्तिका परिवारहरूलाई राहत र क्षतिपूर्ति, बेपत्ताहरूको खोजी र उद्धार, घाइतेहरूको उपचार तथा पीडितहरूको पुनस्र्थापनाका लागि आवश्यक सबै प्रकारको सहयोग र पहल गर्न हाम्रो पार्टी प्रतिबद्धता व्यक्त गर्दछ ।

मिति : २०८३।०४।२९

...................
प्रकाश ज्वाला
प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी

प्रेस विज्ञप्ति  सुनसरी घटनाका सम्बन्धमा२०८३ साउन ११ गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको दुःखद...
28/07/2026

प्रेस विज्ञप्ति
सुनसरी घटनाका सम्बन्धमा

२०८३ साउन ११ गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको दुःखद घटनाप्रति हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
दुई पक्षबीचको विवादले उग्र रूप लिएपछि त्यहाँ झडपको स्थिति उत्पन्न हुनु आफैंमा दुःखद हो । उक्त विवादलाई राज्य पक्षबाट संयमित रूपमा समाधान गर्नुपर्नेमा बत्ती नभएको रातिको समयमा सुरक्षाकर्मीहरूले जथाभावी गोली चलाउँदा देवानगञ्ज गाउँपालिका-४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको छ भने दर्जनभन्दा बढी व्यक्तिहरू गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी सरकारबाट मारिएका ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

घटनास्थलको परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सम्भावित क्षति रोक्न तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जथाभावी गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरबाही भएको हाम्रो ठहर छ ।

त्यहाँ नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै थिएन । अझ घातक हतियार प्रयोग गरी नियम-कानुनविपरीत घुँडामाथि गोली हानी निहत्था नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतंक हो । सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील घडीमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा यस घटनामा सरकारको सुरक्षा संयन्त्रबाट भएको ज्यादती स्पष्ट रूपमा देखिएको छ । यतिबेला त्यहाँका सुरक्षा निकायहरू नेतृत्वविहीन रहनु सुरक्षा व्यवस्थाको अर्को गम्भीर कमजोरी हो । सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकको ज्यानसमेत गएको छ । यो घटना गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण पनि हो । हाम्रो पार्टी अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्या गरिएको घटनाको घोर भर्त्सना गर्दछ ।

नियम-कानुनको उल्लङ्घन गर्दै जथाभावी गोली चलाएर नागरिकको ज्यान लिने तथा दर्जनौँ नागरिकलाई गम्भीर घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।

हाम्रो पार्टी परिस्थिति थप जटिल बन्न नदिन, शान्ति-सुरक्षा सुदृढ बनाउन, जनविश्वास कायम गर्न तथा वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान गरी सामाजिक सद्भाव कायम गर्न सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछ ।

यस संवेदनशील अवस्थामा सबै पक्षलाई थप संयमित हुन, कुनै पनि प्रकारको थप दुर्घटना र क्षति हुन नदिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न स्थानीय जनसमुदायसँग हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ । साथै, समस्याको शान्तिपूर्ण समाधान र सामाजिक एकता सुदृढ बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी तथा सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गर्दछ।

मिति: २०८३ श्रावण १२

नेपाली कम्युनिष्ट पार्टीको प्रेस विज्ञप्ति*** ***प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर !आज बिह...
13/07/2026

नेपाली कम्युनिष्ट पार्टीको प्रेस विज्ञप्ति
*** ***
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर !

आज बिहान देशका प्रमुख सञ्चार गृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने तथा सञ्चारकर्मीहरूलाई त्रसित बनाउने घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ।

नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार हो भन्ने हाम्रो ठहर छ । प्रेसलाई तर्साएर, दबाबमा राखेर वा भयको वातावरण सिर्जना गरेर सत्यलाई रोक्न सकिन्छ भन्ने सोच लोकतन्त्रविरोधी मानसिकताको उपज मात्र हो । यसलाई किमार्थ स्वीकार गर्न सकिँदैन।

आज सुकुम्बासीहरूको आर्तनाद, मिटरब्याज पीडितहरूको न्यायको संघर्ष, सहकारी पीडितहरूको पीडा, बेरोजगार युवाहरूको पलायन र चरम निराशा, भ्रष्टाचार, बेथिति, कुशासन र जनजीविकाका सवालमा निरन्तर खबरदारी गर्ने र कलम चलाउने सञ्चार माध्यमलाई नै निशाना बनाउने प्रयास हुनु अत्यन्तै गम्भीर विषय हो । राज्य संयन्त्रका कमजोरी र असफलतालाई ढाकछोप गर्न वा आलोचनात्मक आवाजलाई कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने जुनसुकै प्रवृत्ति पनि लोकतान्त्रिक मूल्य, संविधानको मर्म र विधिको शासनविपरीत छ।

हाम्रो स्पष्ट मत छ– राज्य संयन्त्र कानुन, संविधान, नियम र विधिबाट सञ्चालन हुन्छ, लहड, सनक, शक्ति प्रदर्शन र राजनीतिक स्टन्टबाट होइन। सरकारसँग बहुमत हुन सक्छ, तर बहुमतले संविधान मिच्ने अधिकार दिँदैन। संख्याको दम्भले शासन टिक्दैन, यो नागरिकको विश्वासले टिक्छ। राज्य र नागरिकबीच विश्वास टुटेको बेला राज्यको कमजोरी ढाकछोप गर्न जे जसरी आज मिडियामाथि हमला भएको छ, यसले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रमाथि नै प्रकारान्तरले प्रहार गरेको छ।

नेपाली प्रेसको इतिहास गौरवपूर्ण छ। पञ्चायती निरंकुशता, राजतन्त्रको दमन र शाही सत्ताका बुट सम्पादकीय कक्षसम्म पुगेका कठिन दिनहरूमा पनि नेपाली पत्रकारिता लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको थियो। त्यसैले त्रास, धम्की वा दमनबाट नेपाली प्रेस झुक्ने छैन भन्ने इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ।

घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता निन्दनीय र अराजक गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौं–लोकतन्त्रमा सरकार प्रश्न र आलोचनाभन्दा माथि हुँदैन, संविधान र प्रेस स्वतन्त्रताभन्दा शक्तिशाली पनि हुँदैन। प्रेसलाई आतंकित गरेर होइन, सम्मान गरेर मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रको आधारस्तम्भ प्रेसमाथिको कुनै पनि हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य छैन। संविधान, लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ।

अन्तमा, सञ्चार माध्यमहरू माथिको दबाब र त्रास बन्द गर्न, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा प्रेसलाई निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्ने लोकतान्त्रिक वातावरण बनाउन हाम्रो पार्टी जोडदार माग गर्दछ।

मितिः २०८३ असार २९ .
प्रकाश ज्वाला
प्रवक्ता, नेपाली कम्युनिष्ट पार्टी

प्रेस विज्ञप्तिप्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर !आज बिहान देशका प्रमुख सञ्चार गृहहरूको मू...
13/07/2026

प्रेस विज्ञप्ति

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर !

आज बिहान देशका प्रमुख सञ्चार गृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने तथा सञ्चारकर्मीहरूलाई त्रसित बनाउने घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ ।
नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार हो भन्ने हाम्रो ठहर छ । प्रेसलाई तर्साएर, दबाबमा राखेर वा भयको वातावरण सिर्जना गरेर सत्यलाई रोक्न सकिन्छ भन्ने सोच लोकतन्त्रविरोधी मानसिकताको उपज मात्र हो । यसलाई किमार्थ स्वीकार गर्न सकिँदैन ।
आज सुकुम्बासीहरूको आर्तनाद, मिटरब्याज पीडितहरूको न्यायको संघर्ष, सहकारी पीडितहरूको पीडा, बेरोजगार युवाहरूको पलायन र चरम निराशा, भ्रष्टाचार, बेथिति, कुशासन र जनजीविकाका सवालमा निरन्तर खबरदारी गर्ने र कलम चलाउने सञ्चार माध्यमलाई नै निशाना बनाउने प्रयास हुनु अत्यन्तै गम्भीर विषय हो । राज्य संयन्त्रका कमजोरी र असफलतालाई ढाकछोप गर्न वा आलोचनात्मक आवाजलाई कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने जुनसुकै प्रवृत्ति पनि लोकतान्त्रिक मूल्य, संविधानको मर्म र विधिको शासनविपरीत छ ।
हाम्रो स्पष्ट मत छ – राज्य संयन्त्र कानुन, संविधान, नियम र विधिबाट सञ्चालन हुन्छ, लहड, सनक, शक्ति प्रदर्शन र राजनीतिक स्टन्टबाट होइन । सरकारसँग बहुमत हुनसक्छ, तर बहुमतले संविधान मिच्ने अधिकार दिँदैन । संख्याको दम्भले शासन टिक्दैन, यो नागरिकको विश्वासले टिक्छ । राज्य र नागरिकबीच विश्वास टुटेको बेला राज्यको कमजोरी ढाकछोप गर्न जे जसरी आज मिडियामाथि हमला भएको छ, यसले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रमाथि नै प्रकारान्तरले प्रहार गरेको छ ।
नेपाली प्रेसको इतिहास गौरवपूर्ण छ । पञ्चायती निरंकुशता, राजतन्त्रको दमन र शाही सत्ताका बुट सम्पादकीय कक्षसम्म पुगेका कठिन दिनहरूमा पनि नेपाली पत्रकारिता लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको थियो । त्यसैले त्रास, धम्की वा दमनबाट नेपाली प्रेस झुक्ने छैन भन्ने इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ ।
घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता निन्दनीय र अराजक गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।
हामी स्पष्ट रूपमा भन्न चाहन्छौं–लोकतन्त्रमा सरकार प्रश्न र आलोचनाभन्दा माथि हुँदैन, संविधान र प्रेस स्वतन्त्रताभन्दा शक्तिशाली पनि हुँदैन । प्रेसलाई आतंकित गरेर होइन, सम्मान गरेर मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रको आधारस्तम्भ प्रेसमाथिको कुनै पनि हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य छैन । संविधान, लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।
अन्तमा, सञ्चार माध्यमहरू माथिको दबाब र त्रास बन्द गर्न, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा प्रेसलाई निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्ने लोकतान्त्रिक वातावरण बनाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।

मितिः २०८३ असार २९ .
प्रकाश ज्वाला
प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी

प्रेस विज्ञप्तिराज्यका निकायको नालायकी र असंवेदनशील व्यवहारबाट गहिरो रूपमा दुःखित, निराश र आक्रोशित भई आत्मदाह गर्न बाध्...
10/07/2026

प्रेस विज्ञप्ति

राज्यका निकायको नालायकी र असंवेदनशील व्यवहारबाट गहिरो रूपमा दुःखित, निराश र आक्रोशित भई आत्मदाह गर्न बाध्य कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका वडा नं. १ स्थायी घर भई रोजगारीको सिलसिलामा राजधानी काठमाडौंमा बस्दै आउनुभएका २५ वर्षीय युवा गणेश नेपालीको दुःखद निधन भएको घटनाले हाम्रो पार्टी अत्यन्त मर्माहत भएको छ।

दिवंगत गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति हाम्रो पार्टी गहिरो समवेदना व्यक्त गर्दछ।

लोकतान्त्रिक मुलुकमा यस्ता दुःखद घटना हुनु हाम्रो लोकतान्त्रिक अभ्यास र राज्यको चरित्रमाथि गम्भीर प्रश्न उठाउने विषय हुन्। यो अत्यन्त दुःखद, निन्दनीय र भर्त्सनायोग्य घटना हो। अझ आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनिमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउने जस्ता अमानवीय व्यवहार गरिनु र निधन भइसकेपछि पनि वास्तविकता सार्वजनिक नगर्नुले यो घटना अझ हृदयविदारक बन्न पुगेको छ।

राज्य र आम नागरिकबीच अपनत्वको सम्बन्ध कमजोर बन्दै जानु तथा राज्यले भुइँतहका नागरिकको पीडा, संवेदना र आवाज नसुन्नुका कारण एकातिर गणेश नेपालीजस्ता नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न विवश भएका छन् भने अर्कोतर्फ हजारौं सुकुम्बासी, भूमिहीन, श्रमिक तथा विपन्न नागरिक मर्नु न बाँच्नुको अवस्थामा जीवन बिताउन बाध्य छन्।

लोकतन्त्रको आधार भनेको नागरिकको सम्मान, सुरक्षा, गरिमापूर्ण जीवन बाँच्न पाउने अधिकार, काम र रोजगारीको ग्यारेन्टी संविधानले परिकल्पना गरेको राज्यका आधारभूत दायित्व हुन्।

यिनै अधिकारको सुनिश्चितताका लागि हजारौं नेपाली जनताले बलिदान दिएका हुन्। तर आज कथित मध्यम वर्ग विस्तारका नाममा गरिब, मजदुर, सुकुम्बासी, दलित, जनजाति, मधेसी, थारू, बेरोजगार युवा लगायत उत्पीडित समुदायमाथि पीडा थप्ने, दमन गर्ने र हुकुमी शैलीमा शासन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको देखिनु अत्यन्त चिन्ताजनक छ। विकास र व्यवस्थापनका नाममा नागरिकलाई अपमानित, विस्थापित र निराश बनाउने होइन, संविधानको मर्मअनुसार सबै नागरिकको सम्मान, अधिकार र न्याय सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो।

नेपाली कम्युनिष्ट पार्टी सरकारसँग धरातलीय यथार्थमा उभिएर आम नागरिकका समस्याप्रति संवेदनशील बन्न, विशेषगरी बेरोजगार युवा, सुकुम्बासी, भूमिहीन, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न माग गर्दछ।

गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछ।

मिति : २०८३।०३।२६

प्रकाश ज्वाला
प्रवक्ता, नेपाली कम्युनिष्ट पार्टी

Address

Peris Marg 35 Kathmandu
Kathmandu
44600

Telephone

+97714602290

Alerts

Be the first to know and let us send you an email when Nepali Communist Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Communist Party:

Shortcuts

Share