25/09/2026
भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्।
यो विश्व बुद्धले देखाएको शान्ति र करुणाको बाटोमा हिँड्न सकोस्।
धन्यवाद।
सम्माननीय सभाध्यक्षज्यू, संयुक्त राष्ट्रसंघका महासचिवज्यू, महामहिमहरू, विशिष्ट प्रतिनिधिहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरू,
आज म हिमालयको काखमा रहेको नेपालबाट एउटा यस्तो चेतावनी लिएर यहाँ उपस्थित भएको छु, जुन नेपालको मात्र होइन, सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको छ।
आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रका आशाबारे मात्र बोल्न चाहन्थेँ। तर अहिले नेपालको अवस्था र पछिल्लो प्राकृतिक विपत्तिले मलाई मृत्यु, विनाश र त्यसले निम्त्याएको मानवीय पीडाबारे बोल्न बाध्य बनाएको छ।
परिवारका सदस्यहरू कहिल्यै घर नफर्किने पीडामा प्रतीक्षारत छन्। समुदायहरू हिलो, ढुंगा र पानीबीच आफ्ना आफन्तको खोजी गरिरहेका छन्। पुल, सडक, विद्यालय, घर, उत्पादन र नागरिकका जीविकोपार्जनका आधारहरू केही क्षणमै बगेर गएका छन्। यसले दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको यात्रामै गम्भीर धक्का पुर्याएको छ।
केही साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीले संसारलाई स्तब्ध बनायो। त्यसलाई कतिपयले ‘हिमालयन सुनामी’को रूपमा समेत वर्णन गरे।
तर यो नेपालको मात्र दुःखद घटना होइन।
यो सम्पूर्ण विश्वका लागि एउटा चेतावनी हो।
प्रश्न यति मात्र हो—के हामीले त्यो चेतावनी वास्तवमै सुनेका छौँ?
केही वर्षअघि सगरमाथाको काखबाट संयुक्त राष्ट्रसंघका महासचिवले आउँदै गरेको जलवायु संकटबारे विश्वलाई चेतावनी दिनुभएको थियो। वैज्ञानिकहरूले पनि प्रमाणसहित लगातार यही जोखिमतर्फ संसारको ध्यानाकर्षण गराउँदै आएका छन्।
तर राजनीतिक नेतृत्वले कमजोर र जोखिममा रहेका मानिसहरूलाई आवश्यक पर्ने गति र स्तरमा ती चेतावनीलाई व्यवहारमा रूपान्तरण गर्न सकेन।
आज त्यसको परिणाम हामीले भोगिरहेका छौँ।
जलवायु संकटले सीमा चिन्दैन
बढ्दो तापक्रमले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। हिमनदी वरिपरिको जमिन कमजोर हुँदै जाँदा हिमपहिरो, बाढी, पहिरो र अन्य जटिल प्राकृतिक जोखिम बढिरहेका छन्।
नेपालमा उत्पन्न भएको विपत्तिको असर नेपालमै सीमित रहँदैन। हिमाली क्षेत्रमा हुने परिवर्तनले नेपालसँगै चीन र भारतका भूभाग तथा करोडौँ मानिसको जीवनलाई असर गर्न सक्छ।
यसले एउटा आधारभूत सत्य स्पष्ट पार्छ—
जलवायु परिवर्तनले राष्ट्रिय सीमा चिन्दैन।
हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।
त्यसैले हामीले यसको समाधान पनि सीमाभन्दा माथि उठेर खोज्नुपर्छ।
नेपालप्रति सहयोग गर्ने विश्वलाई धन्यवाद
नेपाल विपत्तिपछि सहयोग गर्ने सबै मित्र राष्ट्रहरूप्रति कृतज्ञ छ।
भारत र चीनले तत्काल सहायता उपलब्ध गराए। अन्य मित्र राष्ट्र, संयुक्त राष्ट्रसंघीय निकाय, मानवीय संस्थाहरू, परोपकारी संस्था तथा विश्वभरका नागरिकहरूले पनि नेपालसँग ऐक्यबद्धता जनाए।
नेपालको तर्फबाट म सबैलाई धन्यवाद दिन चाहन्छु।
तर अब नेपालको अगाडि ठूलो पुनःस्थापना र पुनर्निर्माणको चुनौती छ।
हजारौँ मानिसको ज्यान गएको र हजारौँ अझै बेपत्ता रहेको अवस्थामा भौतिक पुनःस्थापनाको आवश्यकता नेपालको कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सासँग बराबर हुने प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैले विगतका ठूला विपत्तिपछि जस्तै यसपटक पनि नेपालले अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता र सहयोगको अपेक्षा गरेको छ।
नेपालले संकट सिर्जना गरेको होइन, तर मूल्य चुकाइरहेको छ
नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून छ।
हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौँ।
हाम्रा हिमनदीहरू पग्लिरहेका छन्। हिमाली भूभाग अस्थिर हुँदैछन्। नदीहरूको व्यवहार पहिलेभन्दा अनिश्चित बन्दै गएको छ।
हरेक ठूलो प्राकृतिक विपत्तिले विकासका वर्षौँका उपलब्धिहरूलाई केही क्षणमै पछाडि धकेल्न सक्छ।
त्यसैले नेपालका लागि जलवायु संकट केवल मानवीय समस्या होइन—यो विकासको आपत्कालीन चुनौती हो।
यसले सडक, पुल, विद्यालय, घर, कृषि, रोजगारी र जीविकोपार्जन नष्ट गर्छ। भविष्यका लागि आवश्यक स्वच्छ ऊर्जा पूर्वाधारसमेत जोखिममा पर्छ।
अझ दुःखद कुरा, आफूले सिर्जना नगरेको संकटबाट भएको क्षति मर्मत गर्न एउटा गरिब देशले ऋण लिनुपर्ने अवस्था आउँछ।
हामी कुनै देश वा महादेशलाई दोष लगाउन यहाँ आएका होइनौँ। जलवायु परिवर्तनलाई अर्को भू–राजनीतिक द्वन्द्वमा परिणत गर्न पनि चाहँदैनौँ।
हामी साझा जिम्मेवारी र विश्वव्यापी ऐक्यबद्धताको पुनःप्रतिबद्धता चाहन्छौँ।
जलवायु न्याय अब नारामा मात्र सीमित हुनु हुँदैन
अन्तर्राष्ट्रिय समुदायले ‘साझा तर फरक जिम्मेवारी तथा क्षमता’को सिद्धान्त स्वीकार गरिसकेको छ।🙏