06/08/2026
आदर्णिय ईतर (कोदे)पक्ष मित्रहरू🙏,
पहिला एउटा मानसिकता परिवर्तन गर्न आवश्यक छ: अदालतको फैसला आफ्नो पक्षमा आयो भने न्याय निष्पक्ष, आफ्नो पक्षमा आएन भने अदालत नै पक्षपाती भन्ने सोचले विधिको शासनलाई होइन, भीडको मनोविज्ञानलाई बल दिन्छ। लोकतन्त्रमा विधि र संस्थाप्रतिको सम्मान परिस्थितिअनुसार बदलिनु हुँदैन।
अब निर्वाचनको कुरा गरौँ। कांग्रेस गगन थापाका कारणले हारेको हो कि तपाईंहरूकै भाषामा भन्ने हो भने दुई कार्यकाल सभापति र पटक–पटक सफल प्रधानमन्त्री बन्नुभएको देउवा दाई नेतृत्वको समग्र कार्यसम्पादन, नीति, निर्णय र शासनशैलीको पनि जनताले मूल्याङ्कन गरेका हुन्? यो प्रश्नबाट किन भाग्ने?
के जनता यति नै अज्ञानी छन् कि उनीहरूले केवल एउटा अनुहार हेरेर मतदान गर्छन्? के जनतामा नेतृत्व, नीति, कार्यशैली, विगतको शासन र परिणामको मूल्याङ्कन गर्ने क्षमता छैन? यदि छैन भन्ने ठान्नुहुन्छ भने त्यो जनताप्रतिको अपमान हो, लोकतन्त्रप्रतिको विश्वास होइन।
अझ गम्भीर प्रश्न त यो हो: सधैं बीपी, जीपी, गणेशमान, निधि, देउबा र उनीहरूकै परिवार तथा वरिपरिका व्यक्तिहरूले मात्र कांग्रेसको नेतृत्व गर्न सक्छन्, उनीहरूबाहेक अरू कसैले नेतृत्व लिनु हुँदैन, सक्दैन वा योग्य नै हुँदैन भन्ने मानसिकता बोकेर कांग्रेसलाई कसरी लोकतान्त्रिक पार्टी भन्न मिल्छ?
यदि नेतृत्व केही सीमित परिवार र तिनकै वरिपरिका व्यक्तिहरूको जन्मसिद्ध अधिकार हो भने, अरू सर्वसाधारण किन क्रियाशील सदस्य बन्ने? किन आफ्नो समय, श्रम, पैसा र जीवन पार्टीका लागि खर्च गर्ने? यदि अवसर र नेतृत्वको ढोका पहिल्यै निश्चित छ भने, कार्यकर्ताको योगदानको मूल्य के रह्यो? त्यसो हो भने उहाँहरूकै भरमा पार्टी चलोस्।
यथार्थ के हो भने कांग्रेस कुनै व्यक्ति, परिवार वा गुटको निजी सम्पत्ति होइन। यो लाखौँ कार्यकर्ताको त्याग, पसिना र योगदानले बनेको संस्था हो। नेतृत्व वंश, पहुँच, चाकडी वा पारिवारिक विरासतका आधारमा होइन, क्षमता, योगदान, विचार, कार्यसम्पादन र जनविश्वासका आधारमा तय हुनुपर्छ। यदि यो सामान्य लोकतान्त्रिक सिद्धान्त पनि स्वीकार गर्न सकिँदैन भने समस्या व्यक्तिमा होइन, दास मानसिकतामा छ।
अन्तमा यो बुझ्नुहोस कांग्रेसका ९०% कार्यकर्ता र समर्थक परिबर्तन अर्थात प्रष्ट कांग्रेसको पक्षमा हुनुहुन्छ। अब भ्रष्ट कांग्रेसको दिन गए।
जय नेपाल