01/06/2026
प्रथम राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको अवसरमा शुभकामना तथा ऐक्यबद्धता सन्देश
सम्पूर्ण बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, उनीहरुको अभिभावकहरु तथा बौद्धिक अभिभावक महासंघ नेपाल (PFPID) परिवार,
प्रथम राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको ऐतिहासिक अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालको तर्फबाट बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार, स्व–प्रतिनिधिहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । यस विशेष दिनले नेपालमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, सम्मान, अधिकार र सहभागितालाई थप सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । साथै, यसै दिन बौद्धिक अभिभावक महासंघ नेपालको स्थापना दिवस समेत परेको सन्दर्भमा संस्थाले विगतदेखि गर्दै आएको अधिकारमुखी अभियान, परिवार सशक्तीकरण तथा समावेशी समाज निर्माणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दछौँ ।
यस वर्षको नारा “Nothing About Us, Without Understanding Us” ले वास्तविक बुझाइ, सम्मान र स्वीकार्यताको महत्वलाई उजागर गर्दछ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई बुझ्ने र सम्मान गर्ने संस्कृतिबिना समावेशी समाज सम्भव हुँदैन भन्ने हाम्रो विश्वास छ । राष्ट्रिय बहिरा महासंघ नेपाल अपाङ्गता अधिकार आन्दोलन साझा संघर्ष र साझा उद्देश्यको आन्दोलन हो भन्नेमा दृढ छ । अपाङ्गताको प्रकार फरक भए पनि सबै व्यक्तिहरूको सम्मानजनक जीवन, शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँचयुक्त सूचना तथा समान सहभागिताको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो साझा धारणा हो । यस दिवसको सुरुवातले समाजमा रहेका पूर्वाग्रह हटाउन, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको आवाज सशक्त बनाउन तथा राज्यलाई अझ उत्तरदायी बनाउन महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएका छौँ ।
यस अवसरमा बौद्धिक अभिभावक महासंघ नेपालप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दछौँ । प्रथम राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको सफलताको हार्दिक शुभकामना सहित सम्पूर्ण सहभागीहरूलाई सम्मान र आत्मसम्मानसहितको जीवनतर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ ।
हार्दिक शुभकामनासहित,
................................
सन्तोष के.सी.
अध्यक्ष
राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN)
२०८३/०२/१८