08/10/2026
आज मिति २०८३/०६/२२ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, ताहाचलमा केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हालसम्म हासिल गरेका उपलब्धि, वर्तमान कार्यक्रम तथा आगामी कार्यदिशा सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग महत्वपूर्ण छलफल आयोजना गरेको छ। छलफलमा मन्त्रालयका सहसचिव श्री मोहन कुमार शाक्य, माननीय मन्त्रीज्यूका ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकार श्री विवेकराज कँडेल, नीति सल्लाहकार श्री रमेश पौड्याल, योजना तथा लगानी सल्लाहकार श्री आशुतोष तिवारी तथा वैकल्पिक ऊर्जा विकास समितिका सदस्य श्रीमती अंकिता शाहको सहभागिता रहेको थियो।
कार्यक्रममा केन्द्रका कार्यक्रम, हालसम्मका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती, संस्थागत तथा नीतिगत आवश्यकता र आगामी रणनीतिक मार्गचित्र सम्बन्धमा केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालले प्रस्तुतीकरण गर्नुभएको थियो। नेपालको ऊर्जा पहुँच विस्तार, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, ऊर्जा दक्षता अभिवृद्धि, जलवायु उत्थानशील ऊर्जा प्रणालीको विकास तथा हरित अर्थतन्त्र निर्माणमा आफ्नो भूमिकालाई अझ प्रभावकारी, परिणाममुखी र समयानुकूल बनाउँदै लैजान केन्द्र प्रतिबद्ध रहेको छ। नीति, प्रविधि, लगानी, संस्थागत सहकार्य र केन्द्रको कार्यको प्रभावलाई थप सुदृढ गर्दै स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा केन्द्र निरन्तर अघि बढ्नेछ।
हालै मात्र संसदमा दर्ता भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत भइ ऐन कार्यान्वयनमा आउनासाथ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्रमा रुपान्तरण गर्ने सन्दर्भमा आगामी मार्गचित्र तय गर्न आजको छलफल महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ ।
छलफलमा सहभागी भई सल्लाह सुझाव प्रदान गर्नुहुने मन्त्रालयका सहसचिवज्यू, माननीय मन्त्रीज्यूका सल्लाहकारज्यूहरू तथा समितिका सदस्यज्यूप्रति केन्द्र हार्दिक धन्यवाद व्यक्त गर्दछ।