22/09/2026
राष्ट्रिय दलित आयोगको तर्फबाट २०८३ भाद्र १० गतेको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रहरूको भाद्र १३,१४, २०,२१ र २७ गते स्थलगत अनुगमन गरिएको छ।
अनुगमनका क्रममा नुवाकोटको विदुर नगरपालिका अन्तर्गत बाल सुधार गृह, होल्डिङ सेन्टर, विद्यालय, स्वास्थ्य संस्था, अस्थायी आवास तथा प्रभावित बस्तीहरूको निरीक्षण गरी प्रभावित नागरिक, विशेषगरी दलित, सीमान्तकृत, भूमिहीन तथा विपन्न परिवारहरूको अवस्था, राहत वितरण, स्वास्थ्य सेवा, शिक्षा तथा आधारभूत सेवाको पहुँच बारे जानकारी लिइयो। त्यसैगरी धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नं ६ महेशदोवान र गजुरी गाउँपालिका, फुर्केखोला तथा मलेखुस्थित होल्डिङ सेन्टर, गलौंदी बाढी प्रभावित बस्ती, पृथ्वी राजमार्ग आसपासका क्षेत्र तथा अन्य प्रभावित स्थानहरूमा पुगेर पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको अवस्था, आवश्यकता र पुनर्स्थापनासम्बन्धी अपेक्षाबारे जानकारी लिइयो।
अनुगमनका क्रममा धेरै परिवारले आफ्नो घर, सम्पत्ति, अन्नबाली, जीविकोपार्जनका आधार तथा जीवनभरको कमाइ गुमाएको अवस्था देखियो। कतिपय बालबालिकाले विद्यालयको कक्षाभन्दा पहिले नै विपद्को कठोर यथार्थ भोग्नुपरेको थियो। आर्थिक तथा सामाजिक रूपमा पहिलेदेखि नै कमजोर अवस्थामा रहेका सीमान्तकृत, भूमिहीन र विपन्न समुदाय विपद्को मारबाट अझ बढी प्रभावित भएको देखिएको छ।
यस परिस्थितिले राहत, उद्धार, अस्थायी आवास, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जनको पुनर्स्थापना तथा पुनर्निर्माणका सबै कार्यक्रम समावेशी, न्यायपूर्ण र विभेदरहित ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता छ। प्रत्येक प्रभावित नागरिकको जीवन, सम्मान र अधिकारको संरक्षण गर्नु राज्यको संवैधानिक, कानुनी तथा नैतिक दायित्व हो।
राष्ट्रिय दलित आयोग प्रभावित नागरिकहरूको अधिकार संरक्षण, न्यायपूर्ण राहत, सम्मानजनक पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माण सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय, अनुगमन, सहकार्य र आवश्यक पहल गरिरहने छ ।
धन्यवाद ।