23/08/2026
श्री कुश्मावती माध्यमिक विद्यालय, शुक्लागण्डकी–७, सेरा, तनहुँको नवनिर्मित विद्यालय भवनको समुद्घाटन समारोह सम्पन्न भएको छ।
सूर्य नेपाल प्रा.लि.को सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गर्नुभएको हो।
कार्यक्रममा बोल्दै नगरप्रमुख पण्डितले शिक्षाको विकास तथा गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार महत्वपूर्ण आधार रहेको बताउनुभयो। नगरभित्रका शैक्षिक संस्थाहरूको भौतिक तथा शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै नगरपालिका निरन्तर अघि बढिरहेको उहाँको भनाइ थियो। उहाँले विद्यालय भवन निर्माणमा सूर्य नेपाल प्रा.लि.ले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीहरूको सिकाइलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
आज यस विद्यालय स्थानान्तरण तथा नयाँ भवन निर्माणका क्रममा आएका उतार चढाव,विभिन्न बाधा, र सङ्घर्षका बाबजुत पनि विद्यालयको हितको लागि कत्तिपनि पछि नहटि विद्यालयलाई गर्नुपर्ने साथ सहयोग ,शैक्षिक,भाैतिक तथा चाैतर्फि विकासको लागि अटुट सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई उहाँहरुको परिश्रमको कदर स्वरुप आज विद्यालयको भवन उद्घाटन समारोहको अवसरमा प्रमुख अतिथि शुक्लागणडकी नगर पालिकाका नगरप्रमुख कृष्णराज पण्डित ज्यूको हातबाट सम्मानपत्र प्रदान गरियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक ‘राजु’, सूर्य नेपाल प्रा.लि.का कम्पनी प्रमुख बाबुराम कार्की, शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्गसिंह थापा, म्याग्दे गाउँपालिका–६ का वडाध्यक्ष हिरासिंह गुरुङ तथा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, सूर्य नेपाल प्रा.लि., शुक्लागण्डकी–७ का मानव संसाधन विभाग प्रमुख अञ्जन दवाडी, विभिन्न शाखाका प्रमुखहरू बद्रीनाथ झा र होमनाथ अर्याल, वाणिज्य विभाग प्रमुख गौतम यादव, शुक्लागण्डकी नगरपालिका कार्यपालिका सदस्य शारदा लम्साल, वडा सदस्य कविता विकलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रम संयोजक, विद्यालय सल्लाहकार तथा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का वडा सदस्य राजबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा सूर्य नेपाल प्रा.लि.ले विद्यालय भवन निर्माण सम्पन्न भएको प्रतिवेदन तथा लालपुर्जा प्रमुख अतिथि नगरप्रमुख कृष्णराज पण्डितलाई हस्तान्तरण गरेको थियो। नगरप्रमुख पण्डितले उक्त भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो।
यसैबीच, सूर्य नेपाल प्रा.लि.द्वारा विद्यालयको पुरानो भवन रहेको स्थानमा निर्माण गरिएको ‘कुश्मावती पार्क’ को समेत उद्घाटन गरिएको छ। पार्कको उद्घाटन सूर्य नेपाल प्रा.लि.का कम्पनी प्रमुख बाबुराम कार्कीले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयको नयाँ भवन र पार्क निर्माणले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण थप व्यवस्थित र आकर्षक बन्ने विश्वास व्यक्त गर्नुभयो। साथै, विद्यालय परिवार, सहयोगी संस्था तथा सम्पूर्ण सरोकारवालालाई बधाई तथा शुभकामना दिनुभएको थियो।