26/06/2026
विश्व अहिले फुटबलको उत्सवमा रमाइरहेको छ। तर यही समयमा नेपाली फुटबलमाथि फिफाले गरेको निलम्बनले एक फुटबलप्रेमी नेपालीका रूपमा मलाई दुःख लागेको छ।
एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच लामो समयदेखि जारी संस्थागत विवादको परिणामस्वरूप नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा यस्तो अवस्था भोग्नपर्नु अत्यन्तै चिन्ताजनक छ।
यसको प्रत्यक्ष असर खेलाडी, प्रशिक्षक, समर्थक, प्रायोजक र समग्र नेपाली फुटबल समुदायमाथि परेको छ। संस्थागत असमझदारीको मूल्य खेलाडी र राष्ट्रले चुकाउनु पर्ने अवस्था कुनै पनि रूपमा स्वीकार्य हुन सक्दैन।खेलक्षेत्र राष्ट्रको पहिचान र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो। त्यसैले खेल क्षेत्रलाई राजनीतिक वा संस्थागत विवादको बन्धक बनाइनु हुँदैन।
राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सम्बन्धित सबै पक्षबीच तत्काल संवाद, प्रभावकारी समन्वय र आवश्यक निर्णायक पहलमार्फत यो संकटको शीघ्र समाधान गर्नु सरकारको दायित्व हो।
नेपाली फुटबल पुनः अन्तर्राष्ट्रिय मैदानमा सम्मानका साथ फर्कियोस्।
जय नेपाल!!!