19/07/2026
नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र राजविराजको चरम गैरजिम्मेवारीपन, अघोषित लोडसेडिङ र मिटर रिडिङमा भइरहेको संगठित डिजिटल लुटधन्दा विरुद्ध तिलाठी गाउँको मुख्य पेजको तर्फबाट खुला पत्र तथा आम उपभोक्ताका लागि महा-सचेतना!
श्री प्रमुख ज्यू,
नेपाल विद्युत प्राधिकरण, राजविराज वितरण केन्द्र, सप्तरी।
विषय: अघोषित लोडसेडिङको अत्याचार बन्द गर्न र मिटर रिडिङ तथा कम्प्युटर डाटा इन्ट्रीमा भइरहेको खुल्ला डकैती सच्याउन चेतावनी।
महोदय,
यो कुनै प्राविधिक त्रुटि वा भुलवश भएको गल्ती होइन। यो राजविराज वितरण केन्द्रको नाकमुनि बसेर सोझा, विपन्न र सर्वसाधारण जनताको खल्तीमाथि सरेआम मारिएको डाका हो, संगठित लुटधन्दा हो। एकातिर यो प्रचण्ड गर्मीमा २४ घण्टामा १० पटक विना सूचना बत्ती काटेर जनतालाई नरकीय सास्ती दिने, विद्यार्थीको भविष्य अन्धकार बनाउने र उद्योग-व्यवसाय ठप्प पार्ने अत्याचार भइरहेको छ भने, अर्कोतिर बिजुली नै नभएको बेलाको समेत बिलमा व्यापक घोटाला गरेर जनताको ढाड सेक्ने काम भइरहेको छ।
तपाईंका मिटर रिडरहरूले फिल्डमा आएर दुःखसुख वास्तविक अंक सारेर लगे पनि, कार्यालयको एसी कोठामा बस्ने इन्ट्रीकर्ता र भ्रष्ट मानसिकता बोकेका कर्मचारीहरूले कम्प्युटरमा डाटा चढाउँदा जे पाए त्यही मनलाग्दी अंक इन्ट्री गरिदिने गरेका छन्। फिल्डको वास्तविक डाटा र सिस्टमको डाटाबीच योजनाबद्ध खेलवाड गरेर उपभोक्तालाई सिधै महँगो स्ल्याब रेटमा धकेल्ने यो भित्री गिरोहको घृणित खेल हो।
हाम्रै क्षेत्रका एक जना सचेत उपभोक्ताको बिल यस लुटको जिउँदो जाग्दो र अकाट्य प्रमाण हो। ग्राहक आईडी ७१८.., ग्राहक नाम …. नारायण मिश्र, र एससी नम्बर ०३३.२९.०.. को बिलमा देखिएको प्रत्यक्ष बदमासी यस्तो छ। जेठ २०८३ को बिलमा अन्तिम वास्तविक रिडिङ १९२७ थियो। नियमतः असारको सुरुवाती रिडिङ पनि १९२७ नै हुनुपर्ने हो। तर असारको बिल निकाल्दा तपाईंको कार्यालयका कम्प्युटर अपरेटरहरूले जेठको रिडिङलाई मनलाग्दी ढंगले घटाएर १९०४ बनाइदिए!
यसको परिणाम स्वरूप वास्तविक रूपमा असार महिनामा मिटर २००३ मा पुग्दा ७६ युनिट मात्र खपत भएको थियो, जसको वैध महसुल लगभग रु. ६०७ मात्र हुन्थ्यो। तर कार्यालयमा डाटा बङ्ग्याएर अघिल्लो महिनाको २३ युनिटसमेत असारमै कोचेर ९९ युनिटको बिल बनाइयो र रु. ८७१ असुल गरियो।
दिनभरि बत्ती काटेर जनतालाई तड्पाउने प्राधिकरणले बिल उठाउने बेलामा भने कुन नैतिकताले यो हदसम्मको डकैती गर्न मिल्छ? युनिट जति धेरै भयो, प्रतियुनिट दर उति नै महँगो हुने नियमको फाइदा उठाई, थोरै खपत हुने महिनामा रिडिङ लुकाउने र अर्को महिना एकैचोटि कम्प्युटरमा ठूलो अंक देखाएर जनतालाई महँगो स्ल्याबमा पारेर रगत चुस्ने यो खेल तत्काल बन्द गरियोस्। राजविराज वितरण केन्द्रले यो बदमासी तत्काल सच्याई बढी लिइएको रकम अर्को महिनाको बिलमा मिलान गरोस् र अघोषित लोडसेडिङ बन्द गरोस्, अन्यथा राजविराज र तिलाठीका आम उपभोक्ताहरू सडकमा ओर्लेर तपाईंको कार्यालय घेराउ गर्न र कार्यालयभित्रै थुन्न बाध्य हुनेछन्।
आम उपभोक्ता तथा सम्पूर्ण गाउँबासीका लागि महा-सचेतना: बुझौँ प्राधिकरणको लुटको गणित!
तिलाठी तथा राजविराज क्षेत्रका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, विद्युत प्राधिकरणको यो अमानवीय सास्ती र डिजिटल लुटबाट जोगिनका लागि आफ्ना पुराना र नयाँ बिलहरू तुरुन्तै बाकसबाट निकालेर क्रस-चेक गर्नुहोस्। प्राधिकरणले ६ देखि १५ एम्पियरको मिटरमा कसरी स्ल्याबको जाल फ्याँकेर हामीलाई ठगिरहेको छ, यो आधिकारिक स्ल्याब विवरण हेरेर बुझौँ।
६ देखि १५ एम्पियर मिटरको पूर्ण आधिकारिक स्ल्याब विवरण यस प्रकार छ। ० देखि २० युनिट सम्मको लागि न्यूनतम मासिक शुल्क रु. १५० र एकमुष्ट ऊर्जा शुल्क रु. १०० लाग्दछ, जुन प्रति युनिट रु. ५ हुन आउँछ। २१ देखि ३० युनिट सम्मको लागि न्यूनतम शुल्क रु. १५० र दर रु. ६.५० प्रति युनिट तोकिएको छ। ३१ देखि ५० युनिट सम्म न्यूनतम शुल्क रु. २०० र दर रु. ८.०० प्रति युनिट लाग्छ। ५१ देखि १०० युनिट सम्म न्यूनतम शुल्क रु. २५० र दर रु. ९.५० प्रति युनिट लाग्छ। १०१ देखि २५० युनिट सम्म न्यूनतम शुल्क रु. ३०० र दर रु. १०.०० प्रति युनिट लाग्छ। २५१ देखि ४०० युनिट सम्म न्यूनतम शुल्क रु. ३५० र दर रु. ११.०० प्रति युनिट लाग्छ। ४०० युनिट भन्दा माथि उठ्दा न्यूनतम शुल्क रु. ४०० र दर रु. १२.०० प्रति युनिट लाग्दछ।
हामी कसरी ठगिन्छौँ भने तपाईंको घरमा हरेक महिना २०-२० युनिट मात्र बिजुली बले पनि मिटर रिडर महिनामा नआउने वा आएपनि बिजुली अफिस भित्र बस्नेले २ महिनाको युनिट जिरो वा कम देखाइदिएर तेस्रो महिनामा एकैचोटि ६० युनिट चढायो भने तपाईं सुरुको सस्तो दरबाट सिधै महँगो स्ल्याबमा पुग्नुहुन्छ। बत्ती उति नै बलेको हो, तर कर्मचारीको बदमासीले बिल दोब्बर बढी आउँछ।
यो अत्याचार विरुद्ध अब आफैँ सजग बनौँ। पहिलो कदम, कार्यालयको डाटा रुजु गर्नुहोस्। मिटर रिडरले तपाईंको घरमा दिएको कार्डमा लेखेको अंक र तपाईंको मोबाइलमा आउने अनलाइन बिलको अंक दुरुस्तै एउटै हुनुपर्छ। भित्र बस्नेले टाइप गर्दा अंक फेरेको छ भने सिधै कराउन जानुहोस्।
दोस्रो कदम, बिलको मिसम्याच हेर्नुहोस्। तपाईंको अघिल्लो महिनाको बिलमा भएको प्रेजेन्ट रिडिङ र यो महिनाको बिलमा भएको प्रिभियस रिडिङको अंक १ अंक पनि तलमाथि हुनुहुँदैन। यदि यो महिना घटाएर राखिएको छ भने बुझ्नुस् तपाईंलाई महँगो स्ल्याबको धरापमा पारिँदैछ।
तेस्रो कदम, एप र सेल्फ-रिडिङको प्रयोग गर्नुहोस्। आजै आफ्नो मोबाइलमा प्राधिकरणको आधिकारिक एप डाउनलोड गर्नुहोस्। यदि मिटर रिडरले बदमासी गर्छ वा आउँदैन भने एपबाट सेल्फ-मिटर रिडिङ विकल्प प्रयोग गरी आफैँ मिटरको फोटो र अंक हालेर वास्तविक बिल निकाल्नुहोस्।
चौथो कदम, एउटा डायरी किन्नुहोस र हरेक महिना उठेको खपत युनिट सो डायरी मा लेख्दै जानुहोस। यहाँ ऋडर, इन्ट्री कर्ता देखी त्यहाँको हाकिम र त्यहाँकै एप्पले समेत बदमासी गर्न सक्छ।
आफ्नो पसिनाको कमाइ यसरी कर्मचारीको लापरबाही र लुटधन्दामा बुझाउन बन्द गरौँ। यो पोस्टलाई राजविराज र सप्तरीभरिका हरेक ग्रुप, पेज र भित्तामा व्यापक सेयर गरेर यो लुटतन्त्रको पर्दाफास गरौँ। आफ्नो बिल आजै चेक गरौँ, अधिकारका लागि आवाज उठाऔँ!
अनुरोध कर्ता:
Shree Bitu Mishra Vats
एवम,
समस्त Tilathi-तिलाठी परिवार