13/05/2026
फर्पुको विकास, राजनीति र उपेक्षाको इतिहास
गोकुलगंगा गाउँपालिका अन्तर्गतका तत्कालीन फर्पु, नामाडी, बेताली, रस्नालु, चुचुरे र ठोसे क्षेत्रलाई नियाल्दा हाल ६ वटा वडा रहेको यस पालिकामा विकासको नाममा वर्षौँदेखि हुँदै आएको राजनीतिक पक्षपातको प्रभाव आज पनि स्पष्ट देखिन्छ। विशेषगरी सडक पहुँचको विषयमा हेर्दा फर्पुको मुख्य सडक स्थानीय बस्ती, जनघनत्व र जनआवश्यकताभन्दा टाढा राखिएको जस्तो अनुभूति धेरै स्थानीयमा छ। गाउँलाई सहज रूपमा जोड्न सकिने सम्भावना हुँदाहुँदै सडकलाई जंगल र खोलाको किनारतर्फ मोडिनु केवल भौगोलिक बाध्यता मात्र नभई तत्कालीन राजनीतिक सोच र पहुँचमुखी निर्णयको परिणाम हो भन्ने मेरो व्यक्तिगत बुझाइ हो।
विगतका नेताहरूले आफूलाई जनप्रतिनिधि र विकासका संवाहक ठाने पनि व्यवहारमा केही क्षेत्रलाई प्राथमिकता दिने र केही भूगोललाई पछाडि पार्ने प्रवृत्तिले फर्पुका धेरै बस्तीलाई आजसम्म सडक, अवसर र विकासको मूलधारबाट टाढा राख्यो। दुःखको कुरा, व्यवस्था फेरियो, स्थानीय सरकार आयो, गाउँपालिका स्थापना भयो, तर स्थानीय जनताले अपेक्षा गरेको न्यायपूर्ण विकासको अनुभूति अझै पूर्ण रूपमा गर्न सकेका छैनन्।
आज पनि विकासका योजना, बजेट वितरण र पूर्वाधार निर्माणलाई हेर्दा विगतको राजनीतिक संस्कार पूर्ण रूपमा बदलिएको आभास कमै हुन्छ। जनताको वास्तविक आवश्यकता भन्दा पहुँच, नजिकको सम्बन्ध र राजनीतिक प्रभाव हाबी भएको हो कि भन्ने प्रश्न स्थानीय मनमा अझै जीवित छ। सडक केवल बाटो होइन, गाउँको भविष्य, शिक्षा, स्वास्थ्य, व्यापार र सम्भावनासँग जोडिएको जीवनरेखा हो। तर फर्पुका धेरै स्थानीय आज पनि यही जीवनरेखाबाट टाढा राखिएको पीडा बोकेर बाँचिरहेका छन्।
विशेष गरी स्थानीय सरकारलाई भन्नुपर्दा, वर्षौँदेखि उठ्दै आएको मोबाइल नेटवर्कको समस्या आजसम्म पनि समाधान हुन सकेको छैन। सामान्य सञ्चार सुविधा समेत सहज नहुँदा स्थानीय नागरिक दैनिक रूपमा सास्ती भोग्न बाध्य छन्। विकासका ठूला भाषणभन्दा पहिले जनताको दैनिक जीवनसँग जोडिएका यस्ता आधारभूत समस्यामा ध्यान दिन आवश्यक छ। हामीलाई ठूला सपना भन्दा साना तर प्रभावकारी काम चाहिएको हो।
त्यसैगरी, फर्पुको साविक वडा नं. ४ र ५ जोड्ने सडक गत एक वर्षदेखि अवरुद्ध अवस्थामा रहेको विषय अत्यन्त गम्भीर छ। बिरामी पर्दा एम्बुलेन्स समेत जान नसक्ने अवस्था हुनु स्थानीय जनताको पीडा मात्र होइन, सम्बन्धित निकायको संवेदनहीनताको संकेत पनि हो। आखिर यस्तो समस्यामा कसको ध्यान जाने हो? स्थानीय सरकार र सम्बन्धित निकायले अब ढिलाइ नगरी यस विषयमा गम्भीर ध्यान केन्द्रित गरी सडक सञ्चालन र जनजीवन सहज बनाउनेतर्फ तत्काल पहल गर्नु आवश्यक देखिन्छ।
यो कुनै व्यक्तिगत आक्रोशभन्दा बढी, वर्षौँदेखि उपेक्षित भूगोलको आवाज, स्थानीय यथार्थ र समान विकासको अपेक्षा हो। यदि अब पनि जनताको आधारभूत समस्याप्रति गम्भीर ध्यान दिइएन भने राजनीतिक परिवर्तनको अर्थ केवल संरचना फेरिनु मात्र हुनेछ, जनताको जीवन फेरिनु होइन।
Copied from Jagadish Khadka wall.