16/08/2026
कोटवारा स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न ।
बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। “स्वस्थ शरीर, स्वस्थ मन, सुखी जीवन हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकले विशेषज्ञ चिकित्सक तथा फिजियोथेरापिस्टबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्राप्त गरेका छन्।
शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राज कृष्ण श्रेष्ठ, अटिजम विशेषज्ञ डा. रघुनन्दन सालाग्राम, मस्कुलोस्केलेटल फिजियोथेरापिस्ट डा. रोशन कुमार वि.क. र न्युरो फिजियोथेरापिस्ट डा. कमला चौधरीले सेवा प्रदान गर्नुभएको थियो।
चिकित्सकहरूले कम्मर, घुँडा तथा जोर्नी दुखाइ, हाडजोर्नी समस्या, हड्डी खिइने, नसासम्बन्धी समस्या, मांशपेशी समस्या तथा बालबालिकामा देखिने अटिजमलगायतका रोगको परीक्षण र परामर्श दिएका थिए। आवश्यकताअनुसार उपचार, व्यायाम र फिजियोथेरापीसम्बन्धी सुझावसमेत प्रदान गरिएको थियो।
ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरले स्थानीयलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिन सहज बनाएको छ।
शिविरको समापन कार्यक्रममा नगर प्रमुख जनकराज गौतम, वडा नं. ७ का अध्यक्ष प्रेमबहादुर डाँगी, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नगर प्रमुख गौतमले ग्रामीण क्षेत्रमा यस्ता शिविरले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। वडा अध्यक्ष डाँगीले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
-२०८३ साउन ३१
-बागचौर नगरपालिका सल्यान ।