02/09/2026
व्यास नगरपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना गोष्ठी सम्पन्न,१४ वटै वडाका २९ स्वास्थ्य संस्थाको प्रगति समीक्षा, SWOT विश्लेषणमार्फत आगामी कार्यदिशा तय
दमौली, तनहुँ । व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखाअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित समग्र स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य कार्यक्रमको उपलब्धि, प्रभावकारिता, समस्या तथा चुनौतीको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई थप गुणस्तरीय, प्रभावकारी, परिणाममुखी र जनमैत्री बनाउने उद्देश्यले आयोजित दुईदिने गोष्ठी २०८३ भाद्र १५ र १६ गते सम्पन्न भएको हो।
प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा तथा नगर प्रमुख र उपप्रमुखको आतिथ्यतामा सम्पन्न गोष्ठीमा व्यास नगरपालिका वडा नं. १ देखि १४ सम्म रहेका २९ वटा स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखहरूले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण, प्रमुख उपलब्धि, असल अभ्यास, कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या तथा चुनौती, समस्या समाधानका उपाय र आगामी कार्यदिशा सहितको प्रस्तुतीकरण गर्नुभएको थियो।
गोष्ठीमा स्वास्थ्य सेवाका महत्वपूर्ण सूचक तथा कार्यक्रमगत उपलब्धिहरूको गहन समीक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गरिएको थियो। साथै स्वास्थ्य संस्थाका सबल पक्ष (Strengths), कमजोर पक्ष (Weaknesses), अवसर (Opportunities) र चुनौती/जोखिम (Threats) पहिचान गर्न महत्वपूर्ण स्वास्थ्य सूचकहरूमा SWOT Analysis गरी प्रस्तुतीकरण तथा छलफल गरिएको थियो।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँ बाट खोप सुपरभाइजर अधिकृत शंकर बाबु अधिकारी, परिवार नियोजन सुपरभाइजर निरीक्षक सुदिप कडेल तथा MNH Focal Person पूजा कुँवर ले विभिन्न स्वास्थ्य कार्यक्रमका विषयमा सहजीकरण गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाव तथा प्राविधिक मार्गदर्शन प्रदान गर्नुभएको थियो।
स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती ले कार्यक्रमको उद्देश्य, स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था तथा आगामी प्राथमिकताका विषयमा मार्गदर्शन प्रदान गर्नुभएको थियो।