05/10/2026
*देउमाईमा एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन हुँदै*
इलाम, असोज १९ । गत वर्ष असोज १८ र १९ गते परेको अविरल तथा भारी वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै खानेपानी, सिँचाइ, कृषि तथा जीविकोपार्जनका क्षेत्रमा समेत असर परेको थियो । विपद्बाट प्रभावित समुदायको पुनर्लाभमा सहयोग पु¥याउँदै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले देउमाई नगरपालिकामा एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, इलाम जिल्ला शाखामार्फत लक्जमबर्ग रेडक्रसको सहयोगमा सञ्चालन हुने कार्यक्रमको अवधि सेप्टेम्बर २०२६ देखि डिसेम्बर २०२७ सम्म रहेको छ । कार्यक्रमको कुल बजेट रु. ३ करोड १५ लाख ७५ हजार रहेको छ ।
कार्यक्रमअन्तर्गत स्थानीय तह, वडा तथा समुदायस्तरमा विपद् जोखिम व्यवस्थापन प्रणाली सुदृढीकरण, जोखिम मूल्याङ्कन तथा योजना निर्माण, विपद् प्रतिकार्य क्षमता विकास, तालिम तथा पूर्वतयारीका गतिविधि सञ्चालन गरिनेछ । साथै सिँचाइ कुलो पुनर्निर्माण पहिरो नियन्त्रण सम्बन्धी कार्य तथा विपद् प्रतिकार्य टोलीको क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।
त्यसैगरी खानेपानी तथा सरसफाइतर्फ नयाँ खानेपानी योजना निर्माण, चारवटा खानेपानी योजनाको पुनःस्थापना, विद्यालय तथा स्वास्थ्य संस्थाका खानेपानी र शौचालय सुधारलगायतका गतिविधि सञ्चालन गरिने परियोजनामा उल्लेख छ ।
कार्यक्रमअन्तर्गत सुरक्षित तथा विपद् उत्थानशील आवास निर्माणसम्बन्धी क्षमता विकास, विद्यालय भवन पुनर्निर्माण, मिस्त्री तथा सिकर्मीलाई सुरक्षित निर्माणसम्बन्धी तालिम तथा समुदायमा सुरक्षित आवाससम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
विद्यालयस्तरमा जुनियर÷युवा रेडक्रस सर्कल गठन तथा सुदृढीकरण, विद्यालय विपद् सुरक्षा योजना निर्माण, साना स्तरका जोखिम न्यूनीकरणका कार्य, प्राथमिक उपचार तालिम तथा प्राथमिक उपचार सामग्री उपलब्ध गराउने कार्यक्रमसमेत रहेका छन् ।
कार्यक्रमका गतिविधि, लक्ष्य तथा बजेटबारे जानकारी गराउने उद्देश्यले २०८३ असोज १९ गते देउमाई नगरपालिकामा कार्यक्रम अभिमुखीकरण कार्यशाला आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा उपप्रमुख पविमाया राईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका मन्त्री रवीन्द्रप्रसाद श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, विपद् व्यवस्थापन विभागका उपनिर्देशक राजेन्द्रकुमार रोकाहाले कार्यक्रमको उद्देश्य तथा पृष्ठभूमिबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने केन्द्रीय कार्यालयका शेखर रेग्मीले परियोजनाअन्तर्गत सञ्चालन हुने विभिन्न गतिविधि तथा बजेटबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका जिल्ला संयोजक रवि लामिछानेले परियोजनाको समग्र कार्यान्वयन प्रक्रिया, लक्षित क्षेत्र तथा सञ्चालन गरिने गतिविधिबारे सहभागीहरूलाई थप जानकारी गराई कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यशालामा नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका कोषाध्यक्ष ईश्वरकुमार सुवेदी, उपमन्त्री हरिनाथ फुयल, सदस्य चन्द्र केसी, देउमाई नगरपालिका शाखाका प्रतिनिधि, शान्तिडाँडा, सिद्धिथुम्का तथा मंगलबारे उपशाखाका सभापति एवं पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी देउमाई नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा अध्यक्षज्यु हरु विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमले विपद्बाट प्रभावित समुदायको पुनर्लाभसँगै स्थानीयस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, पुनःस्थापना तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको कुरा देउमाइ नगरपालिका का कर्मचारी समीर खनालले जानकारी दिनु भएको छ ।