29/08/2026
पृथ्वीमा आउनुको रहस्य बुझ्न यो अनिवार्य पढूँ ।
म रसुवामा विलिन भएको हुँ। मेरो नाम नसोध्नुस्।
म त्यही हुँ, जसलाई हिजोसम्म तपाईंले भिडियोमा बगिरहेको देख्नुभयो, आज बेपत्ता सूचीमा देख्दै हुनुहुन्छ, र भोलि एक अंकमा गन्दै हुनुहुन्छ।
यदि यो मेरो अन्तिम पत्र पढ्ने समय छ भने, मलाई एक युवाको रूपमा होइन, एउटा चेतनाको रूपमा पढिदिनुस्।
प्रिय मान्छेहरु,
यो ब्रह्माण्डले मानिसलाई किन बनायो होला?
शेर बनाउन सक्थ्यो, अझ बलियो। चरा बनाउन सक्थ्यो, अझ स्वतन्त्र। तर बनाएन। मान्छे बनायो।
किनकि वेदले भनेको छ -
मनुर्भव - अर्थात् मान्छे बन।
यो सृष्टिमा केवल मान्छे एउटा यस्तो प्राणी हो, जसले आफ्नो आँखा बन्द गरेर आफै भित्र ब्रह्माण्ड देख्न सक्छ। जसले सोच्न सक्छ - म को हुँ? म किन आएँ? म कहाँ जाँदैछु?
उपनिषदले यसैलाई भनेको छ -
अहं ब्रह्मास्मि
म त्यही ब्रह्म हुँ। र
तत्त्वमसि
तिमी पनि त्यही हौ।
हामी परमात्माको सबैभन्दा सुन्दर प्रयोग थियौं। चेतना उन्नति गर्ने प्रयोग। आत्मालाई परमात्मासम्म लैजाने माध्यम।
तर हामी बिर्सियौं।
हामीले आत्माको उन्नति होइन, फ्ल्याटको उन्नति रोज्यौं। चेतनाको विस्तार होइन, बैंक ब्यालेन्सको विस्तार रोज्यौं। हामी भौतिक सुखको यति गहिरो दलदलमा लिप्त भयौं कि आफ्नो जन्मको औचित्य नै बिर्सियौं।
मेरो शरीर, जुन अहिले रसुवाको त्यो उर्लिएको भेलमा छ, गीताले भने जस्तै पाँच तत्वले बनेको थियो।
क्षिति, जल, पावक, गगन, समीर।
माटो, पानी, आगो, आकाश र हावा।
आज हेर्नुस् त, म त्यही पाँच तत्वमा फर्किंदैछु। मेरो शरीरको माटो यही रसुवाको माटोमा मिल्दैछ। मेरो शरीरको पानी त्यही त्रिशूलीको पानीमा मिल्दैछ। म भित्रको हावा यो चिसो बतासमा विलिन हुँदैछ। अन्त्यमा बाँकी के रह्यो? केही पनि रहेन। जसलाई मैले 'मेरो' भनेको थिएँ, त्यो 'म' त कहिल्यै मेरो थिएन नै।
ईशावास्योपनिषदले हजारौं वर्ष अघि नै चेतावनी दिएको थियो -
ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्॥
अर्थात् - यो सारा जगत ईश्वरले व्याप्त छ। त्याग गरेर भोग गर। लोभ नगर, यो धन कसको हो र?
हामीले त्याग गरेनौं। हामीले लुछाचुँडी गर्यौं। डाँडा भत्कायौं, खोला थुन्यौं, जंगल मास्यौं।
प्रकृतिको लागि म र एउटा कमिला एउटै हौं। दुवै उसैका सन्तान हौं। तर फरक यति हो - कमिलाले प्रकृतिबाट लिन्छ र प्रकृतिलाई नै फिर्ता दिन्छ। उसले घर बनाउँदा प्रकृति भत्किंदैन।
मान्छे? मान्छे प्रकृतिको काँधमा बसेर प्रकृतिकै घाँटी रेट्ने एक मात्र प्राणी बन्यो। हामी प्रकृतिका लागि वरदान होइन, बोझ बन्यौं। सबैभन्दा बुद्धिमानी भनिएको प्राणी, सबैभन्दा ठूलो घातक बन्यो।
अनि आज रसुवा बग्दा हामी आश्चर्य मान्छौं?
पुराणमा प्रलयको वर्णन छ। सारा पृथ्वी जलमा डुब्छ रे। तपाईंलाई लाग्छ यो केवल कथा हो?
विज्ञानले भन्छ, यो पृथ्वीको ७५ प्रतिशत भाग पानी हो। जुन धर्तीमा हामी यति घमण्डका साथ महल ठड्याएर बसेका छौं, त्यो त पानीमाथि तैरिरहेको एउटा सानो ढुंगा मात्र हो।
आज रसुवाको एउटा सानो खोला उर्लिंदा हाम्रो विज्ञान, हाम्रो डोजर, हाम्रो सत्ता, हाम्रो घमण्ड सबै बग्छ भने, भोलि त्यो ७५ प्रतिशत पानीले आफ्नो असली रूप देखायो भने के होला?
त्यो दिन यो धरतीको अन्त्य पनि यस्तै हुनेछैन भन्ने के ग्यारेन्टी छ? कुनै ग्यारेन्टी छैन।
त्यसैले मेरो मृत्युमा आँसु नबगाउनुस्। बरु एकछिन आँखा चिम्लिनुस्।
र आफैलाई सोध्नुस् -
म के का लागि बाँचिरहेको छु? मेरो अन्तिम घडीमा मैले के लैजाँदैछु? मेरो यो दौडको अन्त्य कहाँ हो?
म त गएँ। पञ्चतत्वमा विलिन भएँ। तर तपाईंहरु जो बाँकी हुनुहुन्छ, तपाईंहरु अझै पनि बौरिनुभएको छैन।
फर्किनुस्। आफैतिर फर्किनुस्। प्रकृतितिर फर्किनुस्।
किनकि अन्त्यमा कोही पनि हिमालभन्दा अग्लो छैन, र कोही पनि खोलाभन्दा गहिरो छैन।
उही - रसुवामा विलिन भएको एउटा आत्मा
जो अब कतै पनि छैन, र जताततै छ।
नोट : यो कुनै समाचार होइन । यो रचनाको उद्देश्य मानवको जन्मको उद्देश्य बोध गराएर सभ्य र सन्तुलन समाजको परिकल्पना मात्रै हो।