26/08/2026
प्रेस विज्ञप्ति
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी आसपास तथा नदीको तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भएको घटनाले हामीलाई अत्यन्त मर्माहत बनाएको छ। यस विपद्ले प्रभावित परिवार तथा समुदायले भोग्नुपरेको पीडाप्रति हामी गहिरो दुःख तथा संवेदना प्रकट गर्दछौं।
बाढीमा परी जीवन गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। साथै, अझै सम्पर्कविहीन तथा बेपत्ता रहेका नागरिकहरूको खोजी र उद्धार कार्यलाई तीव्र एवं प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गर्दछौं।
विपद्पछिको वर्तमान अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र आधारभूत आवश्यकता पूरा गर्नु सबैभन्दा महत्वपूर्ण विषय हो। त्यसैले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा उद्धार र राहत कार्यमा संलग्न सम्पूर्ण निकायबीच प्रभावकारी समन्वय गरी उपलब्ध जनशक्ति, साधन र स्रोतको अधिकतम उपयोग गर्न आवश्यक छ। घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आश्रय तथा विस्थापित नागरिकको उचित व्यवस्थापनमा विशेष प्राथमिकता दिन हामी आग्रह गर्दछौं।
बाढीको जोखिम पूर्ण रूपमा समाप्त भइनसकेको हुनाले नदी आसपास तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दछौं। स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी गरिने सूचना र निर्देशनलाई पालना गर्दै आवश्यक परे सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गर्दछौं।
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिने अपुष्ट जानकारीले पीडित तथा सर्वसाधारणमा थप अन्योल र त्रास उत्पन्न गर्न सक्छ। त्यसैले कुनै पनि सूचना प्रकाशन वा साझा गर्नुअघि त्यसको आधिकारिकता र सत्यता सुनिश्चित गर्न तथा जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न सबैमा अनुरोध गर्दछौं।
प्राकृतिक विपत्तिको सामना कुनै एक व्यक्ति, परिवार वा समुदायले मात्र गर्नुपर्ने विषय होइन। संकटको समयमा एकअर्काको साथमा उभिनु हाम्रो साझा जिम्मेवारी हो। तसर्थ, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई प्रभावित नागरिक तथा परिवारको सहयोगका लागि मानवीय भावना र आपसी एकताका साथ हातेमालो गर्न हार्दिक अपिल गर्दछौं।
यस कठिन परिस्थितिमा हाम्रो संवेदना मात्र होइन, सहयोग, समन्वय र एकतासमेत प्रभावित नागरिकसम्म पुग्न आवश्यक छ। हामी सम्पूर्ण पीडित तथा प्रभावित परिवारको साथमा छौं।
अन्त्यमा, यस विपदमा ज्यान गुमाउनुहुनेहरूप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
राष्ट्रिय स्वतन्त्र पार्टि,
प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्ड