Rastriya Swatantra Party - RSP

Rastriya Swatantra Party - RSP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Swatantra Party - RSP, Political Party, Chamati, 16 Banasthali, Kathmandu, Kathmandu.
(584)

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।

गाईजात्राकाे शुभकामना ।
29/08/2026

गाईजात्राकाे शुभकामना ।

रक्षा बन्धनकाे शुभकामना ।
28/08/2026

रक्षा बन्धनकाे शुभकामना ।

जनै पूर्णिमाकाे शुभकामना ।
28/08/2026

जनै पूर्णिमाकाे शुभकामना ।

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलनेपाल र मित्रराष्ट्र चीनको सिमावर्ती क्षेत्रबाट भोटेकोशीलगायतका नदी बेसिनमा आएको अप्रत्...
27/08/2026

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल

नेपाल र मित्रराष्ट्र चीनको सिमावर्ती क्षेत्रबाट भोटेकोशीलगायतका नदी बेसिनमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीसहितका जिल्लाहरूमा पर्न गएको असीमित मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय सङ्कटप्रति आज सम्पन्न सर्वदलीय बैठक गहिरो शोक र राष्ट्रिय पीडा व्यक्त गर्दछ ।
यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी निधन भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । घाइते नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै उपचार, हेरचाह र मनोसामाजिक परामर्शको अभिभारा राज्यले वहन गर्ने कुरामा हामी सबै राजनीतिक दलहरू एकमत छौँ ।

विपद्को यो संवेदनशील घडी केवल एउटा भूगोल वा सरकारको मात्र सङ्कट नभई सिङ्गो राष्ट्रको साझा परीक्षणको समय हो । यस विषम परिस्थितिमा हामी सम्पूर्ण राजनीतिक दलहरू आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकढिक्का हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
यस सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि हामी निम्न साझा सङ्कल्प प्रस्तुत गर्दछौँ:

१. राहत कार्यको गैर-राजनीतिकरण
विपद् ब्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनीतिक दल, तीनका संघ संगठन र सदस्यहरुलाई आह्वान गर्दछौँ । विपद्को समयमा गरिने सहयोग सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा हामी सम्पूर्ण दलहरू स्पष्ट छौँ । तसर्थ, उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिष्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गर्दछौँ । दलहरुका नेता, सदस्य र शुभचिन्तकहरूलाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र खटिन आग्रह गर्दछौँ ।

२. आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना
विपद् व्यवस्थापनमा हुने आर्थिक सङ्कलन पारदर्शी र व्यवस्थित हुनुपर्छ । सम्पूर्ण पार्टी पङ्क्ति, स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकहरूलाई नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न हामी विशेष आह्वान गर्दछौँ ।

३. सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग र संवेदनशील सूचना प्रवाह
विपद्को संवेदनशील घडीमा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना र अतिरञ्जित दृश्यहरूले समाजमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुका साथै प्रभावितहरूको गोपनीयता र आत्मसम्मानमा चोट पुर्‍याउन सक्दछ । तसर्थ, आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित, विवेकसम्मत र उत्तरदायी प्रयोग गर्न हामी सम्पूर्ण नागरिक तथा सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दछौँ ।

४. हिमतालहरुको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहल
जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विष्फोट हुने उच्च जोखिममा छन् । यसपटकको बाढीले भविष्यमा हुन सक्ने अझ ठूलो महाविपत्तिको सङ्केत गरिसकेको छ । तसर्थ, भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्साङ्कन अविलम्ब सुरु गर्न हामी सरकारसँग माग गर्दछौँ । साथै, सीमापार (चीनतर्फ) रहेका हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि मित्रराष्ट्र चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

५. विपद् कूटनीति र पूर्वसूचना प्रणाली
नदी प्रणालीहरूको सीमापार प्रकृतिका कारण दुई देशबीच पूर्वसूचना प्रणालीको ‌‘रियल टाइम डाटा’ आदानप्रदानलाई अझै सुदृढ र संस्थागत गर्न आवश्यक छ । माथिल्लो तटीय क्षेत्रमा कुनै पनि प्राकृतिक हलचल हुनासाथ तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित गर्न सकिने गरी प्रविधिमैत्री र भरपर्दो संयन्त्र विकास गर्न सरकारलाई सुझाव दिन्छौँ ।

६. राष्ट्रिय एकता र समावेशी उद्धार
विपद् व्यवस्थापनमा पहिलो प्रतिकार्यकर्ताका रूपमा स्थानीय तहले निर्वाह गरेको भूमिकाको हामी उच्च मूल्याङ्कन गर्दछौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू विपद्मा सर्वाधिक जोखिममा पर्ने यथार्थलाई मनन गर्दै तीनको उद्धार, राहत र ब्यवस्थापनमा पहिलो प्राथमिकता दिन आग्रह गर्दछौँ ।

७. उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता
भत्किएका संरचनाको अझ उन्नत र सुरक्षित पुनर्निर्माणको राष्ट्रिय अभियान अविलम्ब सुरु गरिनु पर्दछ । साथै, विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने कुनै पनि प्रवृत्ति राष्ट्रप्रतिको गम्भीर अपराध भएकाले त्यस्ता कार्यमा संलग्न जोकोहीलाई ‘शून्य सहनशीलता’ को नीति अनुरूप कडा कानुनी कारबाही गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

८. जलवायु न्याय र विश्वव्यापी उत्तरदायित्व
हिमालय क्षेत्रमा बढ्दै गएको हिमताल विष्फोट र अस्वाभाविक बाढीको शृङ्खला विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष असर हो, जसमा नेपालको योगदान नगण्य छ । नेपालले भोगिरहेका यस्ता ‘हानि र नोक्सानी’ को विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठान गर्दै, जलवायु न्यायको सिद्धान्त अनुरूप अन्तर्राष्ट्रिय समुदाय र बहुपक्षीय विकास साझेदारहरूलाई दायित्वबोध गराउन सरकारलाई आग्रह गर्दछौँ ।

९. अन्तर्राष्ट्रिय समुदायको सहयोग
अकल्पनीय क्षतीपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौँ ।

१०. दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन
विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ। तसर्थ, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ । यस संयन्त्रले सङ्कटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
अन्त्यमा,
आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण स्वयंसेवकहरूको अदम्य साहस र समर्पणको हामी उच्च सम्मान गर्दछौँ । यस अकल्पनीय राष्ट्रिय सङ्कटलाई एकताबद्ध भई राष्ट्रिय नवनिर्माण, पूर्वतयारी र उत्थानशीलताको अवसरमा रूपान्तरण गर्न हामी दृढ सङ्कल्पित छौँ ।

रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
गगन थापा, सभापति, नेपाली काँग्रेस
पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिष्ट पार्टी
शंकर पोखरेल, महासचिव, नेकपा एमाले
ध्रुव राई, श्रम संस्कृती पार्टी
राजेन्द्र लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी
चन्दन सिंह, जनमत पार्टी

वि.सं. २०८३ भदौ १० ने.सं. ११४६ गुंलाथ्व त्रयोदशीविज्ञप्तिचीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट,...
26/08/2026

वि.सं. २०८३ भदौ १०
ने.सं. ११४६ गुंलाथ्व त्रयोदशी

विज्ञप्ति

चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःख व्यक्त गर्दछ। यो विषम परिस्थितिले निम्त्याएको असहजताको गम्भीर समीक्षा गर्न आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठकले देहायका निर्णयहरू गर्दै यो आधिकारिक वक्तव्य तथा अपिल जारी गरेको छ:

१. भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना
बाढी, पहिरो र डुबानका कारण अकालमै ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। विपद्को यस शोकाकुल घडीमा मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै, घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ।

२. तत्काल उद्धार, राहत तथा आर्थिक सहयोग
विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकहरूको तत्काल उद्धार गर्नुका साथै सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि र खाद्यान्न लगायतका राहत सामग्रीको अविलम्ब व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व र अहिलेको प्रमुख आवश्यकता हो। विपद्को यस संवेदनशील घडीमा सरकारको राहत प्रयासमा हातेमालो गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रु. ५०,००,०००/- (अक्षरेपी पचास लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ। जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र मानवीय सहयोग जुटाउन सम्पूर्ण नागरिकमा अपिल गर्दै, सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन ‌सरकारको एकद्वार प्रणालीमार्फत् मात्र आर्थिक तथा भौतिक सहयोग प्रदान गर्न हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।

३. पार्टी पङ्क्तिको सक्रिय परिचालन
विपद्को यस घडीमा राज्य संयन्त्रलाई सघाउनु हामी सबैको साझा राष्ट्रिय दायित्व हो। तसर्थ केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका पार्टीका सम्पूर्ण समिति, सदस्य तथा शुभचिन्तकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा अनुशासित एवं सक्रिय रूपमा र्‍याट (R.A.T.) मार्फत् खटिन पार्टी सचिवालय निर्देश गर्दछ। साथै, यसको संयोजनको जिम्मा पूर्व र्‍याट संयोजक आशिष थापालाई दिइएको छ।

४. सही सूचना सम्प्रेषण र अफवाह नियन्त्रण
विपद्को समयमा फैलिन सक्ने भ्रामक समाचार र अफवाहले जनमानसलाई थप त्रसित र अन्योलग्रस्त बनाउन सक्छ। तसर्थ, आधिकारिक सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न, सामाजिक सञ्जालमा तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न र नदी तटीय तथा पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन विनम्र अनुरोध गर्दछौँ।

५. महामारी नियन्त्रण र दीर्घकालीन पुनःस्थापना
बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिँदै प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलन नदिन तत्काल विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ। साथै, विपद्का कारण घरबारविहीन भएका पीडित परिवारलाई उचित क्षतिपूर्ति र उनीहरूको स-सम्मान एवं दीर्घकालीन पुनःस्थापनाको ठोस कार्ययोजना अविलम्ब सुरु गर्न सरकारसमक्ष जोडदार माग गर्दछौँ।

६. पार्टीका सम्पूर्ण साङ्गठनिक गतिविधि स्थगित
यस संवेदनशील घडीमा हाम्रो सम्पूर्ण ध्यान र ऊर्जा विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा मात्र केन्द्रित गर्नुपर्ने भएकाले, विपद् प्रभावित नागरिकहरूलाई पूर्ण रूपमा साथ दिन राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।
अन्त्यमा,
प्राकृतिक विपत्तिको यस असहज घडीमा उच्च राष्ट्रिय एकता प्रदर्शन गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, अन्य राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय र सम्पूर्ण सरोकारवालाहरूसँग हातेमालो गर्दै हरसम्भव सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी दृढ सङ्कल्पित छ। साथै, सरकारले देखाएको तदारुकताको स्वागत गर्दै यस कठिन परिस्थितिमा पार्टी सधैं सबैको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्दछ।

विपिन कुमार आचार्य
महामन्त्री

26/08/2026

आज मिति २०८३ भाद्र १० गतेको प्रतिनिधि सभामा बोल्नुहुँदै माननीय परराष्ट्रमन्त्री शिशिर खनाल।

26/08/2026

आज मिति २०८३ भाद्र १० गते बसेको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलकातर्फबाट बोल्नुहुँदै पार्टी सभापति एवं सांसद रवि लामिछाने।

26/08/2026

आज मिति २०८३ भाद्र १० गतेको प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद डा. तोसिमा कार्की।

26/08/2026

आज मिति २०८३ भाद्र १० गतेको प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद स्मृति सेन्चुरी।

26/08/2026

आज मिति २०८३ भाद्र १० गतेको प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद तपेश्वर यादव।

Address

Chamati, 16 Banasthali, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party - RSP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rastriya Swatantra Party - RSP:

Shortcuts

Share